|

काठमाडौं: अहिले देश चुनावमय बनेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण देशमा खुबै चुनावी सरगर्मी बढेको छ। कलाकारमा पनि चुनावको प्रभाव परेको देखिन्छ। चुनावी गीत गाउनेदेखि उम्मेदवारको सहयोगका लागि पछि लाग्ने कलाकार पनि धेरै छन्। तर केही कलाकारलाई भने चुनावले खासै असर गरेको छैन।

भुवन केसी

नायक भुवन केसी नेपाली फिल्म क्षेत्रमा अत्यधिक रुचाइएको नाम हो। फिल्म क्षेत्रमा एउटा अलग स्थान बनाइसकेका केसी राजनीतिमा पनि उत्तिकै सक्रिय देखिन्छन्। २०६४ सालमा भएको संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक उम्मेदवारका रूपमा चर्चामा आए पनि पछि उम्मेदवार बन्न सकेनन्।

अहिले भने भुवनलाई त्यति चुनाव लागेको छैन। बरु उनलाई लागेको छ - 'कृ'। उनले भने, 'मलाई त अहिले चुनावभन्दा पनि मेरो निर्माण रहेको फिल्म 'कृ' लाग्या छ।' तर, पनि देशमा यत्तिको चुनावी महोल बनिरहँदा भुवन पनि यसबाट टाढा हुन त कहाँ सक्छन् र! उनलाई पनि चुनावको हावाले अलिअलि छोएको भने छ। भोट हाल्न गए पनि खुलेर कुनै पार्टीलाई समर्थन नगर्ने बताउँदै भुवन भन्छन्, 'हाम्रो मान्छेभन्दा राम्रो मान्छे आउनुपर्‍यो।'

भुवन अहिले सक्रिय रूपमा कुनै पार्टीमा लागेका छैनन्। यसको कारण २०६४ को चुनावमा टिकट नपाएर नभएको उनी बताउँछन्। भन्छन्, 'म त्यसबेला उम्मेदवार बन्दा फिल्म क्षेत्रकै लागि केही गर्छु भनेरर लागेको थिएँ, पछि टिकट मिलेन। ठीकै छ। आखिर फिल्म क्षेत्रकै लागि काम गर्नु छ त गरिरहेकै छु नि!' उनले पुन: फिल्म 'कृ' निर्माणको कुरालाई जोडे। 

भुवन पाँच वर्षको दिगो सरकार चाहन्छन्। देशमा स्थिर राजनीति होस् भन्ने उनको चाहना छ, जसले गर्दा फिल्म क्षेत्रलाई पनि सहयोग हुने भुवनको बुझाइ छ। कलाकार देशका गहना भएको बताउने भुवन भन्छन्, 'तर राजनीतिक पार्टीले कलाकारमाथि मौकाको फाइदा पनि उठाइरहेका हुन्छन्। काम पर्दा आफ्नो पछि लागाउने अनि काम सकिएपछि केही वास्ता छैन।' 

निखिल उप्रेती

एक्सन स्टारको छवि बनाएका नायक निखिल उप्रेती फिल्म क्षेत्रमा स्थापित नाम हो। बौद्धिक कुरा गर्न माहिर निखिल पनि राजनीतिबाट अछुतो भने छैनन्। उनलाई चुनाव गज्जबै लागेको छ। स्थानीय चुनावमा त्यति सक्रिय नदेखिएका उनी अहिले पनि उम्मेदवारको प्रचार प्रसारमा निकै सक्रिय भएर लागेका देखिन्छन्। निखिल काठमाडौं क्षेत्र नं.- ५ मा वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलको समर्थनमा हिँडिरहेका छन्।

'देश नै चुनावमय बनेको छ त मलाई पनि चुनाव लागिहाल्छ नि!', निखिल भन्छन्, 'म पनि त आम मान्छे हुँ। अरूलाई जस्तै चुनाव मलाई नि लागेको छ।' पार्टी मात्र हेरेर नहुने बताउने निखिल आफूले उम्मेदवार छान्न सक्नुपर्ने बताउँछन्। भन्छन्, 'पार्टी मात्र हेरेर हुन्न। पार्टीले त जस्तो पनि उम्मेदवार छानेर पठाउँछ। हामीले बुझेर राम्रो व्यक्ति छान्न जरुरी छ।'

निखिल पनि बहुमतको सरकार चाहन्छन्। उनलाई पनि दिगो सरकार बनोस् भन्ने छ। भन्छन्, 'देशमा बहुमतको सरकार जरुरी छ, जसले गर्दा दिगो सरकार बनोस्।' नेपालमा जम्मा दुई मात्र पार्टी हुनुपर्ने निखिलको धारणा छ। 'यसको सुरुवात वाम गठबन्धनबाट भएको छ', निखिल भन्छन्।

कलाकार देशका गहना भए पनि देशले कलाकारको हितका लागि केही नगरेको उनको गुनासो छ। 'देशले के नै गरेको छ र हाम्रा लागि?', निखिल भन्छन्, 'हो अब त्यही कलाकारको हितका लागि देशले केही गर्न जरुरी छ र त्यो बहुमतको सरकारले गर्छ।'

कोमल वली

मीठो स्वरकी धनी कोमल वली। उनले धेरै हिट गीत गाइसकेकी छन्। उनी रोडियो नेपालकी जागिरे पनि थिइन् तर केही समय पहिला रेडियो नेपालको जागिर त्याग्दै राजनीतिमा होमिइन्। उनी त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन्। तर उनी राप्रपामा धेरै समय टिक्न भने सकिनन्। उनी प्रवेश गर्दा राप्रपामा एकता भएको थियो। तर त्यो एकता पनि धैरै टिकेन र कोमल पनि। भन्छिन्, 'मैले त पार्टी एकता भयो र राम्रो होला भनेर गएकी थिएँ। पछि पार्टी फुटेपछि म पनि हिँडेँ।'

हाल कोमल एमाले पार्टीमा आबद्ध छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने आश्वसन दिएको एमालेले पछि उनलाई जिल्लै बनाइदियो। बागी उम्मेदवारी पनि दर्ता गरिन् उनले। तर त्यो उम्मेदवारी पनि धेरै टिकेन, उम्मेदवारी फिर्ता गरिन्। भन्छिन्, 'उम्मेदवारL दिइसकेपछि सोचेँ आखिर स्वतन्त्र उम्मेदवारलाई कसले सपोर्ट गर्ला र! त्यसैले उम्मेदवारी फिर्ता लिएँ।' उनलाई अध्यक्ष केपी शर्मा अोलीले पनि फोन गरेर सम्झाउन भ्याएका थिए।

अहिले पार्टी अध्यक्ष अोलीसँग चुनावी प्रचार प्रसारमा व्यस्त छन् कोमल। उनी तीन दिनदेखि झापा, मोरङका काकडभिट्टा, विराटनगरलगायतका ठाउँमा चुनावी प्रचारका लागि हिँडिरहेकी छन्। उनी त्यहाँ उपस्थिति मात्र जनाउनका लागि पुगेकी हैनन्। उनले त्यहाँ पुगेर भाषण पनि गर्छिन्। 'म जति ठाउँमा पुगेँ, त्यहाँ भाषण गरेकै हुन्छु', भन्छिन्, 'तर उहाँहरूमा मेरो स्वरको प्यास हुने रहेछ। त्यसैले मिलेसम्म गीत पनि सुनाउँछु।'   

गायिकाको रूपमा देशले मानेको मान्छे हुन् कोमल वली। यदि कुनै अन्य पार्टीले आफ्नो पार्टीको चुनावी गीत गाउन लगाए गाउने कि नगाउने? भन्ने पश्नमा उनले भनिन्, 'यो त पूरै मनगढन्ते प्रश्न सोध्नुभयो। गायिकाको रूपमा अफर गर्नुहुन्छ भने त गाउनै पर्‍यो नि! तर यस कुराले आफ्नो पार्टीमा भने केही नराम्रो हुने हो कि!'

नवल खड्का

नवल खड्का पनि कलाकाकरlता क्षेत्रमा स्थापित नाम हो। कलाकार संघको पूर्व अध्यक्ष उनलाई चुनाव गज्जबै लागेको छ। कारण, उनी पनि यस चुनावमा एक उम्मेदवार हुन्। वाम गठबन्धनका समानुपातिक उम्मेदवार हुन् नवल। चुनावी प्रचार प्रसारमा व्यस्त उनी चुनाव जित्नका लागि एकदमै लागिरहेका छन्। भन्छन्, 'जित्छु वा जित्दिन, त्यो अहिले भन्दिनँ तर प्रचार प्रसारमा एकदमै लागिरहेको छु।'

उनी आफू हारे पनि देशले हार्न नहुने बताउँछन्। भन्छन्, 'जसले जिते पनि हाम्रो क्षेत्रलाई राम्रो होस्।'  जनताको सपनालाई नै आफ्नो सपना देखेका उनी देशमा अब विकासका कामहरू हुन जरुरी रहेको बताउँछन्। 'देशको सबै ठाउँमा अब मोटरबाटो पुग्नुपर्‍यो, त्यहाँको जनताले शिक्षा पाउनुपर्‍यो, खानेपानी नभएको ठाउँमा पानी पुर्‍याउने पहल गर्नुपर्‍यो', उनी भन्छन्, 'यति मात्र नभई अब देशमा भएको जलस्रोत तथा अन्य उत्पादकीय बस्तुहरूको उपयोग गरी यहीँ कलकारखाना खोलेर स्वोरोजगारको व्यवस्था हुनुपर्‍यो।'

यो त देशका लागि भयो। अब फिल्म क्षेत्रमा पनि राम्रो काम गर्नुपर्ने उनी बताउँछन्। 'फिल्म क्षेत्रमा मैले राम्रो गरिरहेको जस्तो लाग्छ', उनी थप्छन्, 'मैले एक्लो प्रयासमा नेपालको संविधानमा चलचित्र भन्ने शब्द लेखाएको छु।' अब भने नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पहल गर्ने उनको योजना छ।

उनी दोलखाबाट समानुपातिक उम्मेदवार बनेका छन्। त्यहाँ उनी घरदैलो कार्यक्रममा जाँदा सबै मतदाताले उनलाई भोट दिने बाचा गरेको उनी बताउँछन्। भन्छन्, 'मैले विपक्षीबाट पनि माया पाएको छु। अरूलाई नदिए पनि नवललाई चाहिँ दिन्छु भन्ने धेरै छन्।'

बद्री पंगेनी

बद्री पंगेनी नेपाली गीत संगीतको क्षेत्रमा एकदमै रुचाइएको नाम हो। उनी पनि राजनीतिमा उत्तिकै सक्रिय छन्। स्थानीय चुनावमा 'मै पनि एमाले सही पनि एमाले' गीत गाएर चर्चामा आएका बद्री अहिले पनि चुनावी प्रचार प्रसारमै छन्। 'देश नै चुनावमय भएको छ, मलाई पनि आम नागरिक जस्तै चुनाव लागेकै छ', उनी भन्छन्।

उनलाई पनि बहुमतको सरकार बनोस् भन्ने छ। 'बहुमतको सरकार बन्यो भने दिगो सरकार त आउँछ', उनी भन्छन्। कलाकार भए पनि कुनै न कुनै पार्टीमा आस्था राख्न पाउनुपर्ने उनको बुझाइ छ। 'कलाकारले पनि पार्टीको समर्थन र विरोध गर्न पाउँछन्', भन्छन्, 'मैले नि त्यही गरिरहेको छु। यसमा मेरो केही भूल छैन।' तर चुनावी प्रचारको बेला मात्र कलाकारलाई काख चेप्ने र अरू बेला हेप्ने नेताको प्रवृत्तिमा उनी एकदमै रुष्ट छन्। त्यो हुन नहुने उनी बताउँछन्।

सोमबार बद्री धादिङमा छन्। चुनावी प्रचार प्रसारको लागि उनी त्यहाँ पुगेका हुन्। उनले भूमि त्रिपाठी र राजाराम पाण्डेको समर्थनका लागि त्यहाँ पुगेको बताए।

रेखा थापा

नायिका रेखा थापालाई चुनाव राम्रै लागेको छ। राप्रपा पार्टी एकतामा राप्रपा प्रवेश गरेकी उनी राप्रपाको बेमेलसँगै राप्रपा प्रजातान्त्रिकतिर लागिन्। अहिले प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाको चुनावी प्रचारका लागि उनी सिन्धुपाल्चोक धाइरहेकी छन्। राणा सिन्धुपाल्चोक क्षेत्र नं.- २ का उम्मेदवार हुन्।

उनी सिन्धुपाल्चोक पुगेर त्यहाँका जनतासँग भोट पनि मागिरहेकी छन्। 'लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रचार गर्न आएकी हुँ’, उनी भन्छिन्, ‘विशेषत: हाम्रा अध्यक्षलाई जिताउने अभियानमा छु।’

सौगात मल्ल

बुलन्द अभिनय कला भएका कलाकार हुन् सौगात मल्ल। नेपाली फिल्म क्षेत्रमा एउटा छुट्टै स्थान बनाइसकेका उनलाई भने चुनावले त्यति छोएको छैन। उनी आफ्नै काममा व्यस्त भएकाले पनि त्यतातिर ध्यान नगएको बताउँछन्।

तर सौगात भोट भने हाल्ने विचारमा छन्। 'जो होस् राम्रो मान्छे होस्' भन्ने उनको मान्यता छ। घर परिवार अलि राजनीतिक भएकाले पनि उनमा पार्टीगत आस्था भने छ। तर उनी खुलेर हिँड्न मन नभएको बताउँछन्। भन्छन्, 'म त जाने हो, भोट दिएर आउने हो। किन यो पार्टी र त्यो पार्टी भनिराख्नु र!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.