|

काठमाडौं : मंसिर १० र २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ ९ पूर्व र वर्तमान अर्थमन्त्रीले उम्मेदवारी दिएका छन्। अहिलेसम्म नेपालमा ३१ जना अर्थमन्त्री भइसके पनि अहिले १० जना प्रत्यक्षतर्फ र एक जना समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवार छन्।

अर्थमन्त्रालय महत्वपूर्ण मन्त्रालयको रुपमा हेरिने भएकोले पनि पूर्व तथा वर्तमान अर्थमन्त्रीले प्रतिस्पर्धा गरेको चुनावी क्षेत्रलाई विशेष चासोको रुपमा मतदाताले लिएका छन्। अर्थमन्त्रीले लिने नीति र उसको निर्णयले सरकार सफल वा असफल भन्ने विषयमा विश्‍लेषण गरिन्छ।

‘अर्थमन्त्री भएको जिल्लामा बजेट त धेरै नै पर्‍यो होला नि?’ बजेट आउने बेलामा चर्चा चल्ने गर्छ। अर्थमन्त्री भएका धेरै नेता प्रधानमन्त्री समेत भएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका १० मध्ये कसले कहाँबाट उम्मेदवारी दिएका छन् त? कसको प्रतिस्पर्धी को?

तीन पार्टी प्रमुख

पहिले अर्थमन्त्री भएर प्रधानमन्त्री भएका दुई जना पात्र प्रतिनिधि सभा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। प्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनाव लडेका छन्। त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा राप्रपा र नयाँ शक्तिको समेत तालमेलमा रुख चिन्हबाट चुनाव लडेका छन्। उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्ट रहेका छन्। स्थानीय तहको निर्वाचनमा समेत राम्रो मत पाएका एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार भएको कारण पनि देउवालाई भट्टले टक्कर दिन सक्ने देखिन्छ।

पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई कांग्रेससंगकै तालमेलमा आँखा चिन्हबाट चुनाव लडेका छन्। २०६४ सालमा गोरखा २ र २०७०  सालमा गोरखा १ बाट चुनाव जितेका भट्टराईका मुख्य प्रतिस्पर्धी वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन्।

त्यस्तै पूर्वअर्थमन्त्री पशुपतिशम्शेर राणा कांग्रेससंगको तालमेलमा गोलाकारभित्रको हलो चिन्हबाट सिन्धुपाल्चोक २ बाट प्रतिस्पर्धा गरेका छन्। उनका प्रतिस्पर्धी एमाले युवा नेता शेरबहादुर तामाङ छन्।

कांग्रेसका थप तीन अर्थमन्त्री पनि चुनावमा

कांग्रेसको नेतृत्वमा सरकार बन्ने क्रममा वा कांग्रेस संगको सहकार्यमा सरकार बन्ने क्रममा जहिले पनि दुई नाम चर्चामा आउने गर्छन्। ती नाम हुन डा. रामशरण महत र महेश आचार्य।

महत नुवाकोट १ बाट चुनाव लडेका छन् भने महेश आचार्य मोरङ  ४ बाट प्रतिस्पर्धा गरेका छन्। महत र आचार्य दुवैको प्रतिस्पर्धी वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हितमान तामाङ र अमनलाल मोदी रहेका छन्।

त्यस्तै २०७० को निर्वाचनमा समानुपातिक तर्फबाट संसदको सदस्य बनेका वर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले प्रत्यक्ष तर्फ चुनावमा लडेका छन्। २०६४ को निर्वाचनमा भोजपुरबाट पराजय बोहोरेका कार्की अहिले भने सुनसरी पुगेका छन्। सुनसरी ४ बाट रुख चिन्हका चुनाव उठेका कार्कीका प्रतिस्पर्धीका रुपमा बाम गठबन्धनका तर्फबाट एमालेका रमेश श्रेष्ठ र राजपाका रामनारायण यादव मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन्।

वाम गठबन्धनका तीन चार पूर्व अर्थमन्त्री

वाम गठबन्धनको तर्फबाट चार जना पात्र चुनावी रेसमा छन्। जसमध्ये दुई जना एमालेका र दुई जना माओवादी केन्द्रका उम्मेदवार रहेका छन्। एमालेका सुरेन्द्र पाण्डे र विष्णु पौडेल माओवादी केन्द्रका वर्षमान पुन र कृष्णबहादुर महरा एक एक कार्यकाल अर्थमन्त्रीको जिम्मेवारीमा थिए। 

चितवन १ बाट उम्मेदवार रहेका पाण्डेसंग कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, रुपन्देही २ मा  उम्मेदवार रहेका पौडेलसँग युवराज गिरी, रोल्पामा पुनसँग कांग्रेसका अमरसिंह पुन र दाङ २ मा महरासँग कांग्रेसका राजु खनाल प्रतिस्पर्धी छन्। 

समानुपातिकमा एक पूर्वअर्थमन्त्री

प्रत्यक्ष तर्फ कांग्रेस वा कांग्रेससंगको तालमेलमा ६ जना र वाम गठबन्धनको तर्फबाट ४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। त्यस्तै एक पूर्व अर्थमन्त्री भने समानुपातिक सुचीमा रहेका छन्। उनी हुन् एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी। 

‘मैले जिते मात्रै विकास’

नेताहरुले मतदातालाई आकर्षित गर्नको लागि विभिन्न किसिमका कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेका छन्। कसैले मैले जित्दा प्रधानमन्त्री हुने भन्दै स्थानीय स्तरको विकास हुने बताएका छन् भने कसैले विगतमा गरेका काम सम्झनका लागि मतदातालाई आग्रह गरेका छन्।

पूर्वअर्थमन्त्री भएका यी सबै नेताहरुले चुनावी सभामा आफ्नो पालामा ल्याएको बजेट र राखिएका कार्यक्रमको चर्चा गर्ने गरेका छन्। विगतमा गरेका कामको समीक्षा गर्दै भविष्यमा यस्तै कामको लागि जितउन आह्‍वान समेत गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जित्दा मात्रै समग्र देश सहित डडेल्धुराको विकास हुने बताए।

गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराईले पनि आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा ल्याएको योजनाको कारण गोरखाको धेरै विकास भएको भन्दै आफूले जितेमा बाँकी रहेका कामहरु पनि पूरा गर्ने बताएका छन्। 

६ पटकसम्म अर्थमन्त्री भएका डा. रामशरण महतले आफू अर्थमन्त्री हुँदा नुवाकोटमा धेरै काम भएको दाबी गर्दै भोट दिनको लागि आह्‍वान गरेका छन्। ‘मैले स्थानीय स्तरको पुर्वधार विकासमा धेरै काम त गरेको छु नै, देशको विकासमा पनि धेरै काम भएको छ’ महतले भने।

त्यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि दाङको समग्र विकासमा आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन्। उनले आफ्नो अर्थमन्त्रीको कार्यकालमा देशको अर्थतन्त्र सुधारको बाटमा पुगेको दाबी गर्दै भविष्यमा पनि थप सुधार र विकासको कामको लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.