|

सुनसरी : सुनसरीमा प्रहरीले विप्लव माओवादीका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोम पौडेल र दिलबहादुर थापामागर रहेका छन्। पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका ९ बाट पक्राउ गरेको हो। थापामगरलाई भने इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो।

थापामगर उदयपुर घर भई जुटमिलमा काम गर्दै आएका छन्। पक्राउ परेका पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीमा र थापामगरलाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ। यसअघि जिल्लाको विभिन्न स्थानबाट पाँच जना विप्लव माओवादी नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

निर्वाचन लक्षित सुरक्षा गस्ती सुरु

सुनसरीमा भयरहित र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्नका लागि सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा गस्ती परिचालन गरेर गाउँ तथा शहरहरुमा सुरक्षा गस्ती सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिए।

तीन घेराको सुरक्षा गस्ती परिचालनसँगै म्यादी प्रहरीको समेत सक्रियता बढाइएको सुनसरी प्रशासनले जनाएको छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा शंकास्पद मानिसको गतिविधिको निगरानी गर्ने, लागुऔषध

एवं हातहतियारको ओसारपसारसँगै निर्वाचनलाई बाधा उत्पन्न गराउन खोज्नेमाथि पनि सुरक्षा निकायले निगरानी बढाएको जिल्ला सुरक्षा निकायले जानकारी दिएको छ। जिल्लाका सबै सुरक्षा निकायले संयुक्त अनुगमन कार्यलाई विशेष रुपमा अघि बढाएको बताएको छ।                                                              

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.