|

रौतहट :  रौतहटको क्षेत्र नं ४ मा यसवर्षको प्रतिनिधि सभाको निर्वाचनमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ। हालसम्मको निर्वाचनमा कुनै पनि संसद दोहोर्‍याएर नजितेको यस क्षेत्रमा एक पटक जितेर राज्य मन्त्री भइसेका वाम गठबन्धनका उमेदवार डा. वंशीधर मिश्र र गत २०७० सालको संविधानसभाको निर्वाचनमा झिनो मतले पराजित नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यस क्षेत्रबाट २०४८ सालमा डा. मिश्र, २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका उद्धव ढकाल, २०५६ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, २०५६ कै उप निर्वाचनमा कांग्रेसका प्रकाश कोइराला, २०६४ सालको संविधानसभाको निर्वाचनमा देबेन्द्र पटेल र २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेका रामकुमार भट्टराई निर्वाचित भएका छन्।

अहिलेसम्म यस क्षेत्रका मतदाताहरुले कुनै पनि उमेदवारलाई दोहोर्‍याएर जिताएका छैनन्। यो क्षेत्रमा  ४५ हजार ३ सय ५६ पुरुष र ४० हजार २ सय ६७ महिला गरी ८५ हजार ६ सय २३ मतदाता रहेका छन्।  रौतहट क्षेत्र नम्बर ४ मा चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गढीमाइ नगरपालिकाको ६ वटा वडा र गरुडा नगरपालिकाको ५ वटा वडा पर्छ।

झुपडपटीको मतले नै चुना जित्छु  : तिमल्सिना 

कांग्रेस उमेदवार देवप्रसाद तिमल्सिनाले झुपडपटीको भोटले नै आफू चुनाव जित्ने बताएका छन्। २०७० सालको संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित कांग्रेस उम्मेदवार तिमल्सिनाले अब  कांग्रेसको जित पक्का भएको समेत दाबी गरे।

'अब एक पटक मलाई यो क्षेत्रको विकास गर्न जनताले नै अवसर दिनेमा कुनै शंका छैन' उनी भन्छन् ' बिपीको मागर्दशन अनुसार कांग्रेसलाई गरिब जनताले जिताउने भएको हुँदा मलाई पनि झुपडपटीमा बस्ने आम मतदाताले अमुल्य मत दिनेछन्।'

२०७० सालको निर्वाचनमा पराजित भए पनि जनताको सेवा अरुले भन्दा आफूले बढी गरेको तिमल्सिना दावी गर्छन्। उनले भने 'मैले गरेको सेवाको मुल्यांकन जनताले गर्नेछन्।'

वाम गठबन्धन नै मेरो जितको आधार : डा. मिश्र

२०४८ सालको संसदीय निर्वाचनमा पनि यसै क्षेत्रबाट चुनाव जितेका वाम गठबन्धनका उमेदवार डा. वंशीधर मिश्रले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुनु नै आफ्नो जितको मुख्य आधार भएको बताउँछन्। यो क्षेत्र वाम गठबन्धनको आधार क्षेत्र पनि भएकोले चुनाव जित्न कुनै  कठिनाइ नपर्ने डा. मिश्रले दाबी गरे।

यस क्षेत्रबाट तेस्रो पटक उम्मेदवारी दिएका उनले पटक पटक वाम गठबन्धनले जितेको क्षेत्र भएकाले अन्य दलहरुको जित्ने आधार नभएको बताए। २०४८, २०५६, २०६४ र २०७० का निर्वाचनहरुमा वाम घटकले जितेको यो क्षेत्रमा यस पटकको निर्वाचनमा पनि वाम गठबन्धनको जितलाइ कसैले पनि टार्न नसक्ने डा. मिश्रले बताएका छन्। देशमा स्थायी सरकार दिनुपर्ने आवश्यकता भएको हुनाले पनि देश वाम गठबन्धनमय भएको उनले बताए।

मधेसी जनताको भरोसा राजपा हो : जयसवाल

राष्ट्रिय जनता पार्टीको तर्फबाट प्रतिनिधिसभा  सदस्यका लागि रौतहट ४ बाट कन्थमणि जयसवालले उम्मेदवारी दिएका छन्। मधेसी जनताको भरोसा भनेकै राष्ट्रिय जनता पार्टी भएको कारण यसपटक आफूले चुनाव जित्ने उनको दावी छ। मधेसी जनताको हक र अधिकारको लागि लामो समयसम्म आन्दोलन गर्ने पार्टी राजपा भएको हुँदा यस पटकको निर्वाचनमा राजपाले राम्रो मत ल्याएर विजयी हुनेमा द्विविधा नरहेको जयसवालको दावी छ।

उम्मेदवार जयसवाल कांग्रेस, माओवादी, स्वतन्त्र हुदै हाल राजपामा आएर ४ बाट प्रतिनिधिसभाको सदस्यमा उमेदवार बनेका छन्। यसअघि उनी नेकपा माओवादीले गरुडा नगरपालिका प्रमुखमा उमेदवारको टिकट नदिएपछि स्वतन्त्रबाट नगर प्रमुखमा उमेदवारी दिएका थिए। उनी रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.