|

रुपन्देही : नेपाल जेसिजको ४४ औं महाधिवेशन आगामी पुस ८, ९ र १० गते भैरहवामा हुने भएको छ। महाधिवेशन आयोजक संस्था जेसीआई सिद्धार्थ नेपाल, भैरहवाले गरेको पत्रकार सम्मेलनमा महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठले महाधिवेशनमा नेपालभरिका करिब २ हजार ५ सय युवाहरुको उपस्थितिमा भैरहवामा पुस ८, ९ र १० गते महाधिवेशन हुने जानकारी दिए ।

महाधिवेशनमा देश विदेशका प्रतिनिधि पर्यवेक्षक सहभागी हुनेछन्। महाधिवेशनले सीमान्त क्षेत्रमा अल्लारिएर रहेका र लागूपदार्थको दुर्व्यसनमा फसेका बेरोजगार युवाहरुलाई सिर्जनात्मक क्षेत्रमा आबद्ध हुन प्रेरणा प्रदान गर्ने खालका कार्यक्रम ल्याउने उनले बताए।

निर्देशक श्रेष्ठले महाधिवेशनमा आन्तरिक पर्यटन प्रवद्र्धन र लुम्बिनीको विशेष चर्चा परिचर्चा हुने पनि बताए। भैरहवाको महेन्द्र सभागृहमा हुने महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनका प्रमुख सल्लाहकार निधानचन्द्र श्रेष्ठले नेपाल जेसीजको महाधिवेशन भैरहवामा गर्न पाउनु गौरवको विषय भएको बताए।

उनले भने 'सन् १९९१ मा १७ औं महाधिवेशन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेशन गर्ने अवसर पाएको छ। यसलाई भैरहवाबासीले अवसरको रुपमा लिएर उपयोग गर्न सक्नुपर्दछ।' आयोजक संस्था जेसीआइ सिद्धार्थका अध्यक्ष सुमन शर्माले महाधिवेशनमा आउने प्रतिनिधि पर्यवेक्षकको लागि भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा सुविधासम्पन्न होटल बुक भइसकेको बताए।

सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजना गर्ने महाधिवेशनले ५ नम्बर प्रदेशकै मुलद्वार भैरहवा भन्सार, यस क्षेत्रको सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रवर्द्धन गर्ने तथा नया–नयाँ सोच र चिन्तनका साथ अगाडि बढ्न समूहगत प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ। 

नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेशन स्थल महेन्द्रसभागृहको बाहिर स्थानीय उद्योगबाट उत्पादित विभिन्न ३२ किसिमका स्टल राखिने सो अवसरमा जानकारी गराइएको थियो।

सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसिजका १ सय १७ देशमा शाखा छन् । १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरु संलग्न हुने जेसिजले विधिको शासनमा जोड, मानवतावादी र विश्वबन्धुत्व भावनामा जोड दिन्छ। नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरि १३८ वटा शाखा रहेका छन्। महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.