|

काठमाडाैं: सरकारी कागजात कीर्ते गर्ने आठ जनालाई माहानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ। सरकारी कागज, छाप तथा हस्ताक्षर कीर्ते गर्ने गिरोहलाई पक्राउ गरी मंगलबार माहाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजिनक गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुली तीनपाटनका ३५ वर्षका रुद्रबहादुर मोक्तान, ताप्लेजुङ खेवाङका ३८ वर्षका भुवानीप्रसाद भट्टराई, कालीकोट तिलागुफाका २६ वर्षका विशालजंग शाही, सोही जिल्लाका २४ वर्षका सुरेशबहादुर शाही, सुनसरी धरानका ३२ वर्षका अभय पोखरेल, काठमाडौं चण्डोलका ३३ वर्षका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोक महाभारतका ३० वर्षका देवराज तामाङ र काठमाडौं मनमैजुका सन्तोष तिवारी रहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। यस घटनामा स‌लग्न कृष्ण अछामी फरार रहेको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट प्रहरीले प्लस टुको माइग्रेसन एक थान, एसएलसीको मार्कसिट एक थान, वीएडको मार्कसिट एक थान र नेपाली नागरिकता छ थान फेला पारेको छ। लोहनीका अनुसार पक्राउ परेकामध्ये रुद्रबहादुर र भुवानीप्रसादलाई २०१७ का लागि ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डीभी) परेको र उनीहरूसँग कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्र नभएकाले नक्कली बनाउन गिरोहलाई पैसा दिएको खुल्न आएको छ।

उनले नक्कली प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको समेत बताए। ‘हामीले नै यो पटक गरेर तीनवटा गिरोहलाई पक्राउ गरिसक्यौँ। अहिले पनि नक्कली सर्टिफिकेट बनाउने गिरोह सक्रिय छ', उनले भने, 'यो त सुरुवात मात्र हो। हामी अनुसन्धानका क्रममा छौँ।’ उनले अहिले पक्राउ परेका आठ जना छुट्टाछुट्टै दुई गिरोह भएको बताए। पक्राउ परेकामध्ये अभय पोखरेललाई यसअघि पनि सरकारी कागजात कीर्ते गरेको मुद्धामा कारवाही भएको एसएसपी लोहनीले बताए।


यसरी बनाइयो रुद्रबहादुरको नक्कली प्रमाणपत्र 

पक्राउ परेकामध्ये रुद्रबहादुर मोक्तानलाई अमेरिका जानका लागि २०१७ का लागि ई-डीभी परेको थियो। अपराध महाशाखा प्रमुख लोहनीका अनुसार उनीसँग अमेरिका जानका लागि कक्षा १२ पास गरेको प्रमाणपत्र नभएपछि नक्कली प्रमाणपत्र बनाउनतर्फ लागे। उनले आफूलाई नक्कली प्रमाणपत्र बनाइदिन देवराज तामाङसँग सम्पर्क गरे।

देवराजले उनीबाट नक्कली प्रमाणपत्र बनाइदिने भन्दै तीन लाख ५० हजार रूपैयाँ नगद लिए। तामाङले मोक्तानको प्रमाणपत्र बनाइदिन भन्दै सेक्युर्ड लाइफ कन्सल्टेन्सीमा कार्यरत अनिल श्रेष्ठलाई ४५ हजार रूपैयाँ दिए। श्रेष्ठले मोक्तानको प्रमाणपत्र बनाउनका लागि विनायक कम्युनिनकेशनका सञ्चालक विशालजंग शाहीलाई ३० हजार रुपैयाँ दिएको अनुसन्धानबाट खुल्न आएको महाशाखाका प्रमुख लोहनीले जानकारी दिए।

विशालजंगले सुरेश शाहीलाई १२ हजार रुपैयाँ दिए। शाहीले पाँच हजार पाँच सय रूपैयाँ दिएरपछि फरार रहेका कृष्ण अछामीले मोक्तानको कक्षा १२ को माइग्रेसन, प्रोभिजनल र राष्ट्रिय परीक्षा बोर्डको कागजात, छाप र हस्ताक्षर कीर्ते गरी प्रमाणपत्र तयार परिएको लोहनीले बताए। 

कसरी बन्यो भुवानीप्रसादको प्रमाणपत्र?

ताप्लेजुङका भुवानीप्रसाद भट्टराईको प्रमाणपत्र छुट्टाछुट्टै गिरोहमार्फत् बनेको अनुसन्धानमा खुल्न आएको छ। भट्टराईको पनि अमेरिका जानलाई डाइभर्सिटी भिसा परेको थियो। उनलाई ई-डीभी परे पनि उनीसँग कक्षा १२ पास गरेको प्रमाणपत्र नभएको लोहनीले बताए। उनले भने, ‘अमेरिका जानलाई कक्षा १२ पास गरेको हुनुपर्छ। भिसा लागे पनि कक्षा १२ पास नभएपछि यसरी नक्कली सर्टिफिकेट बनाउन उनीहरू नक्कली सर्टिफिकेट बनाउने गिरोहकहाँ पुगेछन्।’ 

भुवानीप्रसादको नक्कली प्रमाणपत्र बनाउन सन्तोष तिवारीले अभय पोखरेलसँग भेट गराएको र उनीहरूबीच ९० हजार रुपैयाँ लेनदेन भई प्रमाणपत्रसमेत बनाइएको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूको प्रमाणपत्रप्रति शंका लागेपछि अमेरिकी राजदूतावासले प्रहरीलाई खबर गरेको थियो। दूतावासको जानकारीका आधारमा अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ परेको लोहनीले बताए। 

त्यस्तै, भिजिट भिसामा कोरियामा रोजगारीका विभिन्न बैंकको कीर्ते स्टेटमेन्ट बनाई भिसाका लागि कोरियाली दूतावासमा पेस गरेर ठग्ने पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। यसअघि पक्राउ पर्नेहरूमा बाबु भण्डारी, दिवाकरबाबु भट्टराई, महेश पण्डे, पदमराज पाठक र मनोज चौधरी रहेका छन्। उनीहरूलाई ठगी मुद्दामा कारवाही गरिएको महाशाखाले जनाएको छ।

यसै समूहले विभिन्न राजनीतिक दलका नेता विदेश भ्रमणमा जाँदा केही व्यक्तिलाई प्रतिनिधिमण्डलको सदस्य बनाएर पठाउने र उतै लुकाएर राख्ने गरेको खुलेको लोहनीले बताए। यसरी विदेशमा नै लुक्नेबाट समेत प्रति व्यक्ति १० हजार रुपैयाँसम्म लिने गरेको खुल्न आएको उनले बताए। यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.