'चितवन बनाउने अभिभारा लिएर प्रचण्ड आउनुभएको छ'

|

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताएका छन्। संयुक्त वाम गठबन्धन चितवनले मंगलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जली सभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उनले देशलाई समृद्धितर्फ लैजान वामपन्थीहरुको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताए।

वामपन्थीहरुको सरकार बन्ने दावी गर्दै उनले भने “वामपन्थीको सरकार बन्छ/बन्छ, यसलाई कसैले रोक्न सक्दैन।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै अध्यक्ष ओलीले अब स्थिर सरकार बन्ने र विकासले गति लिने बताए। उनले भने 'तमसुक गरेर सरकार चलाउने समय अब गयो'  अब देशमा स्थायित्व आउने भन्दै उनले थपे 'अब हामी स्थिर सरकार चलाउँछौं।'

निर्वाचन अघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै ओलीले निर्वाचन लगत्तै पार्टी एकीकरण हुने बताए। 'प्राविधिक कारण निर्वाचनमा दुई वटा चिन्ह लिनु परे पनि सूर्य वा गोलाकारभित्रको हसिया हथौडा जहाँ भोट हाले पनि एकै ठाउँमा जाने हो' उनले भने “घ्यू कहाँ पोखियो भागमा।'

अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गरे। अब नेपालमा कहिल्यै पनि नाकाबन्दी नहुने भन्दै उनले  कांग्रेस सरकारले भारतसँग बिगारेको सम्बन्ध आफूले सुधारेर चीनसँग समेत पारवाहन सन्धी गरेको स्मरण गराए।

नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले भने 'लोकतन्त्रलाई पटकपटक दरबार बुझाउने र असफल बनाउनेले कसरी देश बनाउन सक्छन्, हामी लोकतन्त्रका लागि लडेर आएका छौं, हामी देश बनाउछौं।'

वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तर विजयी गराउन आग्रह पनि गरे। 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड चितवनको विकासको जिम्मा लिन्छु भनेर आएको भन्दै अध्यक्ष ओलीले भने 'अब ठाउँ बनाउने अभिभारा लिन्छु भनेर दुई पटक देश चलाइसक्नुभएका प्रचण्ड आउनुभएको छ,  प्रचण्ड र आफ्नो तर्फबाट चितवनको विकासका लागि प्रतिवद्धता जनाउँछु।'

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताए। विकास र समृद्धिको नयाँ यात्रामा आफूहरु अघि बढेको भन्दै उनले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको बताए।

नेपालको शान्ति प्रक्रिया विश्वमा नै उदाहरणीय भएको भन्दै उनले त्यसको नेतृत्वकर्ता माओवादी अध्यक्ष प्रचण्डले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सक्ने बताए। वामपन्थीहरु जनअधिकार र सामाजिक न्यायका विरुद्ध कहिल्यै पनि नजाने उनले बताए।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीहरुको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधीन बन्ने धारणा राखे। दुई तिहाई बहुमत वामपन्थीहरुसँग हुँदा पनि गैरवामपन्थीहरुको सरकार भएको भन्दै उनले यो परिघटना सामान्य नरहेको बताए।

निर्वाचन टार्ने र सार्ने कार्य असाधारण परिघटना भएको भन्दै उनले यस्ता षड्यन्त्र चिर्नुपर्ने बताए। माओवादी केन्द्रका नेता मातृका यादवले मधेसी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसको विरुद्धमा वाम गठबन्धन रहने बताए।

कार्यक्रमलाई पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, एमालेका चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रमको पहिलो खण्डमा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सम्पूर्ण वक्ताहरुले दाहालको निधनप्रति दुःख व्यक्त गरेका थिए। निकै पीडामा देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोलेनन्।

कार्यक्रममा दाहाल, उनकी पत्नी सीता दाहाल, प्रकाशकी पत्नी बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी थिए। कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहेकी थिइन्। कार्यक्रमको बीचमा उनी कार्यक्रमबाट बाहिरिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.