|

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ।  गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो।  पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन्।  

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई ईडीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए।  

उनीहरूको शैक्षिक योग्तामाथि शङ्का लागेपछि राजदूतावासले नै नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो।  प्रहरीले अनुसन्धानमार्फत नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कन्सल्टेन्सी सञ्चालकसहित आठजनालाई पक्राउ गरेको हो।  

अन्य अभियुक्तले समेत नक्कली शैक्षिक प्रमाणपत्र तथा तालिमसम्बन्धी विभिन्न कागजपत्र पेस गरी ‘सेमिनार’मा सहभागी हुने नाममा अमेरिका जाने तयारी गरिरहेको बेला पक्राउ गरिएको महाशाखाले जानकारी दिएको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.