|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार घोषणापत्र बिना नै सर्वसाधारणको घरदैलोमा पुुगेर मत माग्न व्यस्त छन्। निर्वाचनमा राजपाले संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको छ। राजपा र फोरमले साझा उम्मेदवारी दिएका छन्।

फोरम नेपालले आफ्नो घोषणापत्र जारी गरिसकेको छ। तर राजपा नेपालको घोषणापत्र कहिले सार्वजनिक हुने त्यसको टुंगो लाग्न सकेको छैन। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन १० र २१ मंसिरमा गरी दुई चरणमा हुँदै छ।

उम्मेदवारी दर्तापछि राजपा नेपालका उम्मेदवार अहिले आ–आफ्नो क्षेत्रमा चुनावी सभा र घरदैलो प्रचारप्रसारमा जुटेका छन्। चुनावी प्रचारप्रसारमा रहेका राजपा नेपालका उम्मेदवारले संविधान संशोधन र प्रदेश २ मा मधेस सरकार निर्माणका लागि आफूलाई मतदान गर्नुपर्ने बताइरहेका छन्।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले महोत्तरी–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्। अरू उम्मेदवार जस्तै चुनावी कार्यक्रममा व्यस्त रहेका भण्डारीले संविधान संशोधन र प्रदेश २ मा मधेस सरकार निर्माणका लागि राजपा नेपाल र फोरम नेपालका साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए।

‘हामी अहिले घरदैलोमा रहेका छौं, चुनावी कार्यक्रम गर्दै जनतासँग मत मागिरहेका छौं,’ भण्डारीले भने, ‘संविधान संशोधन र मधेस सरकार निर्माणका लागि हामीलाई जनताले मतदान गर्नेछन्।’ विगतको मधेस आन्दोलनलाई स्मरण गर्दै उनले असफल भएको संविधान संशोधनलाई पुनः नयाँ संसद्बाट पारित गराउन मत मागिरहेको बताए।

एजेण्डा– संविधान संशोधन र मधेस सरकार निर्माण

‘पार्टीको घोषणापत्र बनिरहेको छ, हामी अहिले चुनावी कार्यक्रम गर्दै जनताको घरदैलोमा व्यस्त छौं,’ भण्डारीले भने, ‘साथीहरूले घोषणापत्र बनाउँदै हुनुहुन्छ, केही दिनमा सार्वजनिक गरौंला।’ राजपा नेपालका महासचिव केशव झाले आफूलाई घोषणा पत्रको विषयमा केही थाहा नभएको बताए। प्रदेश २ मा समानुपातिक तर्फका उम्मेदवारसमेत रहेका झालाई घोषणापत्र कसले, कहाँ र कस्तो बनाउँदै छ त्यसको विषयमा केही जानकारी नभएको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.