|

काठमाडौं : जारी सिजन निकै उत्कृष्ट लयमा रहेको म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी यात्रा जारी राख्दै १ खेलअगावै समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने निश्चित गरेको छ। यद्यपि नकआउट चरणमा प्रवेश गर्ने निधो भने अघिल्लै खेलमा भइसकेको थियो।

यसक्रममा गएराति भएको खेलमा सिटीले फेयनूर्डलाई १-० ले पराजित गर्‍यो। सिटीको जितमा निर्णायक गोल रहिम स्ट्रलिङले गरे। उनले ८८औं मिनेटमा बललाई जाली चुमाएका थिए। समूह एफमा रहेको सिटीको ५ खेलबाट शतप्रतिशत १५ अंक पुगेको छ।

सोही समूहअन्तर्गत गएराति नै भएको खेलमा नापोलीले सख्तर डोनेक्सलाई ३-० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्ने आशा जीवित राखेको छ। अब समूहको अन्तिम खेलमा सिटीले डोनेक्सलाई पराजित गरेको खण्डमा बाँकी १ खेल जितेर नापोली अघिल्लो चरणमा जान सक्नेछ। समूहको दोस्रो स्थानमा रहेको डोनेक्सको ९ र तेस्रो स्थानको नापोलीको ६ अंक छ। गोल अन्तरमा भने नापोली अघि छ।

सिटीले शानदार यात्रा जारी राख्दा अर्को इंग्लिस टोली लिभरपुल ३-० को अग्रता जोगाउन नसकेर सेभियासँग अंक बाँड्न बाध्य भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको सेभियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल नै फर्कायो।

'समूह इ'मा रहेको लिभरपुलले यो नतिजासँगै ५ खेलबाट ९ अंक जोडेको छ। सेभिया ८ अंकसहित दोस्रो स्थानमा छ। सोही समूहको अर्को खेलमा स्पार्टक मस्को र मरिबोरले १-१ को बराबरी खेलेका छन्।

यो समूहबाट नकआउट चरणमा पुग्ने दुवै टोलीको टुंगो अन्तिम चरणबाट मात्रै लाग्ने भएको छ। यद्यपि गोल अन्तर निकै राम्रो रहेकाले लिभरपुल अघिल्लो चरण जाने लगभग निश्चितप्राय: छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.