|

जनकपुरधाम : रामजानकी विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ। त्रेतायुगमा मार्ग शुक्लपक्ष पञ्चमीमा मर्यादा पुरुषोतम  राम र जनककी छोरी जानकीबीच भएको विवाह बन्धनको स्मरणमा हजारौ श्रद्धालु हर्षोल्लासपूर्वक महोत्सवमा सहभागी भएका हुन्।  

पौराणिक परम्पराअनुसार राम, जानकी, लक्ष्मण र दशरथलगायत मठमन्दिरबाट झाँकीसहित डोला शोभायात्रा निकालिएको थियो। ऐतिहसिक रगंभूमि बाह्रबिघा मैदानमा राम र जानकीको डोलालाई विधिपूर्वक स्वयंवर गराइएको थियो। नगरका विभिन्न भागमा परिक्रमा गराई डोला शोभायात्रा जानकी मन्दिर ल्याइएको छ।  

मैथिल परम्पराअनुसार वैदिक मन्त्र उचारण गरी विधिपूर्वक विवाह गरिन्छ। रामजानकी विवाह उत्सवमा देवीदेवताको समेत उपस्थिति हुने विश्वास गरिन्छ। वैवाहिक कार्यक्रममा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानका श्रद्धालुहरु जनकपुरधाम पुगेका छन्।

सप्ताहव्यापी महोत्सवमा धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर तथा रामजानकीको विवाहपश्चात् बिहीबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। यस क्रममा बालबालिकाहरुलाई, राम, सीता र लक्ष्मण बनाई नाटक खेलाइन्छ। झाँकी प्रदर्शन, नाचगान र भजनकीर्तन गरिन्छ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको  जिल्ला प्रहरी कार्यालय धनुषाका  नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। उनका अनुसार महोत्सवलक्षित सात सयको संख्यामा नेपाल प्रहरी र सात सयको संख्यामा सशस्त्र प्रहरी  परिचालित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.