जसले सहयोग गर्‍यो त्यसकै मुखमा थुक्नु भो उहाँले

|

काठमाडौं: २१ मंसिरमा दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुर १ मा रोचक प्रतिस्‍पर्धा हुँदै छ। नेपाल प्रहरीको जागिर छाडेर चुनावी मैदानमा उत्रिएका पूर्वडिआइजी नवराज सिलवाल र अर्थराज्यमन्त्री उदयशमशेर राणा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर-१ बाट चुनावी मैदानमा छन्। सिलवाल नेकपा एमालेबाट चुनाव लड्दै छन् भने उदयशमशेर कांग्रेसबाट। उदय त्यही क्षेत्रका निवर्तमान सांसद हुन्।

अचम्मको कुरा त के हो भने उदयशमशेर सिलवाललाई आइजिपी बनाउनुपर्छ भनेर लागिपरेका नेता हुन्। उनले सिलवाललाई आइजिपी बनाउनुपर्छ भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिसँग ‘लविङ’ गरे।

तर, उनले सिलवाललाई नेपाल प्रहरीको प्रमुख बनाउन सकेनन्। ‘मेरै क्षेत्रको मान्छे, पहिलादेखि चिनेको, त्यसवेला उहाँलाई प्रमुख बनाउन धेरै कुदेँ,’उनले भने,‘तर, मान्छे चिन्न सकिनछु, मैले उहाँको प्रोफाइल चेक गरिनँ। जसले सहयोग गर्‍यो त्यसकै मुखमा थुक्नु भो उहाँले।’

को हुन् उदयशमशेर

०४५ मा नेपाल विद्यार्थी संघको सदस्यता लिएर उनी राजनीतिमा प्रवेश गरेका थिए। उनी दिल्लीमा अध्ययन गर्दै गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका हुन्। उनी नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल तरुणदलका पूर्वअध्यक्ष हुन्। हाल उनी अर्थराज्यमन्त्री हुन्, उनी नेपाली कांग्रेसका युवा नेताका रुपमा चिनिन्छन्।

यसअघि, उनी ललितपुर- १ बाट ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। उनका बुबा सागरशमशेर राणा ०४८,०५१, ०५६ मा त्यही क्षेत्रबाट लगातार तीन पटक चुनाव हारेका थिए। त्यसपछि उदय राजनीतिमा उदाएका हुन्। ०७० को दास्रो संविधानसभा निर्वाचनमा उनी ललितपुर-१ बाट विजयी भए। 

चुनाव नजिकिएसँगै उदय अहिले प्रचारमा व्यस्त छन्। मनोनयन दर्ता गएपछि उनी चुनावी प्रचारका लागि गाउँगाउँ हिँड्न सुरु गरे। निर्वाचन क्षेत्रको आधा ठाउँ घुमिसकेका छन् उनले। ‘लगभग आधा क्षेत्र घुमिसकेँ, अब आधा बाँकी छ, अब चुनाव आउने वेलासम्म सकिएला।’

चुनाव अघि पनि गाउँगाउँ गएर जनतासँग भेटघाट गरेकाले आफूलाई घरदैलोमा जान सहज भएको उनी बताउँछन्। ‘०६४ भन्दा अघि पनि गाउँ जाने गरेको थिएँ। चुनाव हारेपछि पनि जान छाडिनँ’,उनले भने,‘चुनाव जितेपछि पनि सबै जनताको घर घरमा गएको छु। सबैले जिन्छन्। त्यसैले भोट माग्न सजिलो भएको छ।’

सांसद बन्दा चार वर्षको कार्यकालमा करोडौँको बजेट ललितपुरमा ल्याएको उनी बताउँछन्। ‘गाउँगाउँमा बाटो पुर्‍याएको छु। स्कुलभवन बनाएको छु, पुल बनाएको छु’, उनले भने,‘मैले मेरो चार वर्षे कार्यकालमा ललितपुरको विकासमा धेरै महत्वपूर्ण काम गरेँ।’ ललितपुरको ग्रामीण क्षेत्रमा धेरै विकास गरेको भन्दै आफूले चुनाव जित्नेमा ढुक्क भएको उनले बताए।

उनले भने,‘मैले यहाँको सबै विकासमा योगदान गरेको छु। यहाँभन्दा पहिला ५ जनाले चुनाव जिते यस क्षेत्रबाट उहाँहरु र मेरो काम हेर्दा मैले चार वर्षमा गरेको काम नै सायद मेरै धेर होला।’  यसपटक त ललितपुरको भूगोल नै थाहा नपाएका मान्छे आफ्नो प्रतिस्पर्धी भएकाले चुनाव जित्न सहज भएको उनी बताउँछन्। 
ललितपुरको विकासमा के छ योजना?

ललितपुरको विकासमा फेरि पनि आफ्नो आवश्यकता रहेको उदय बताउँछन्। आफ्ना केही योजना पूरा नभएकाले पनि आफूले जित्नुपर्ने उनको दाबी छ। भन्छन्,‘ललितपुरको ग्रामीण क्षेत्रमा खानेपानी पुर्‍याउन मैले मरो कार्यकालनमा सकिनँ।

अब अर्को कार्यकालमा गाउँगाउँमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य छ।’अब आफूले जितेर गाउँगाउँमा व्यावसायिक र व्यावहारिक शिक्षा पुर्‍याउने योजना रहेको उनी बताउँछन्। उनी भन्छन्,‘गाउँगाउँमा गुणस्तरीय र व्यावहारिक शिक्षा पुर्‍याउने मेरो लक्ष्य छ। त्यस्तै, स्वीकृत भएका योजना पनि पूरा गर्न जनताले मलाई जिताउछन् भन्ने विश्वास छ।’

उनले भने,‘मेरा प्रतिस्पर्धी नवराजजीले मलाई दरबारमा हुर्किएको भन्नुभएको रहेछ। तर, उहाँले भन्दा जनताको दु:ख धेरै बुझेको छु। १८ वर्षको उमेरदेखि जनताकै सेवामा छु। अझै पनि जनताकै सेवामा रहन्छु।’ आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै उनले आफू विजयी भएमा ललितपुरको विकासमा धेरैभन्दा धेरै बजेट विनियोजन गर्न पहल गर्ने बताए।  

गाउँगाउँमा सहकारी स्थापनामा पहल गरेर ग्रामीण क्षेत्रका जनताको आर्थिकस्तर उकास्‍ने उनले बताए। उनले भने,‘२०७० मा निर्वाचित हुँदा धेरै संविधान निर्माणमा केन्द्रित हुनुपर्‍यो। अब विकासमा जोड दिने हो। ग्रामीण क्षेत्रको कृषिको विकास गर्दै आर्थिकस्तर विकास गर्न कृषिमा लगानी गर्ने सहकारीहरु स्थापना गर्ने योजना छ।’ पाटन अस्पतालको मेडिकल कलेजलाई चापागाउँमा लाने योजना रहेको उनले सुनाए। 

आफ्ना प्रतिस्‍पर्धीप्रति के छ धारणा?

वाम गठबन्धनले पूर्वडिआइजी नवराज सिलवाललाई उठाएपछि चुनाव लड्न आफूलाई सहज भएको उदयको बुझाइ छ। उनी भन्छन्,‘उहाँ पूर्वडिआइजी मात्र हो। उहाँलाई वाम गठबन्धनले उम्मेदवार बनाएर त मलाई सहज भएको छ। उहाँप्रति कार्यकर्ता पनि असन्तुष्ट छन्। लामो समय राजनीति गरेकालाई टिकट नदिएर भर्खर राजनीतिमा आएकालाई टिकट दिँदा वाम गठबन्धनको भोट पनि मलाई आउने निश्चित छ।’ 

सिलवाललाई जनताले नचिनेको पनि उदयको दाबी छ। ‘एक त उहाँ पहिलो पटक गाउँ छिर्दै हुनुहुन्छ। अर्को कुरा जनताले उहाँलाई चिन्दैनन्। अनि कसरी भोट हाल्छन्। ललितपुरका जनतालाई त मेरो घर कहाँ छ। म कसरी बसेको छु सबै थाहा छ।’ सिलवालले आफू धेरै राजनीति बुझेको भन्ने गरेको प्रसंग निकाल्दै उदयले भने,‘उहाँले मैलेभन्दा धेरै राजनीति जान्नुभएको रहेछ। उहाँलाई धेरै धेरै बधाई।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.