|

चितवन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थीव शरीर बुधबार बिहान माओवादी पार्टीको कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।

स्वर्गीय पाख्रिनको पार्थीव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए।

सो क्रममा उनीहरुले पाख्रिन शवलाई पूmल माला र अवीरसमेत लगाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। वाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एवं स्व. प्रकाश दाहालको शोकसभामा गीत गाउँदा गाउँदै अचेत भई उपचारको क्रममा हृदयाघातका कारण पाख्रिनको निधन भएको थियो।

अन्तिम श्रद्धाञ्जलिका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शोक वक्तव्य जारी गर्दै उनको निधनबाट पार्टी र देशलाई अपुरणीय  क्षति भएको जनाएका छन्।

वक्तव्यमा पार्टीका केन्द्रीय सल्लाहाकार, नेपाली प्रगतिवादी साहित्यिक एवं सांस्कृतिक आन्दोलनका धरोहर जनताका प्रिय गायक पाख्रिनको निधनले पार्टी स्तब्ध भएको जनाइएको छ। वक्तव्यमा भनिएको छ, ‘शोकको यस दुखद क्षणमा हाम्रो पार्टी क. खुसीराम पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक एवं सहयोद्धाहरुमा गहिरो समवेदना व्यक्त गर्दछ।’

वक्तव्यमा त्याग र निष्ठाका बिम्व, जनताका प्रिय नेता एवं गायक पाख्रिनको निधनले हाम्रो पार्टी नेपालको कम्युनिस्ट आन्दोलन र प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाइएको छ। उनले देखाएको मार्गमा अविचलित रुपमा पार्टी अघि बढ्ने पनि वक्तव्यमा जनाइएको छ।

९ कात्तिक  ००९ मा गोर्खाको खरिबोटमा जन्मेका पाख्रिनका एक श्रीमती, एक छोरा र दुई छोरी छन्। उनका अर्का एक छोरा अमर पाख्रिन जनयुद्धका क्रममा ३ चैत ०६१ मा लम्जुङमा मारिएका थिए।

०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतिशील गीतबाट सांगीतिक यात्रा सुरु गरेका पाख्रिनका ५ सयभन्दा बढी प्रगतिशील रचना प्रकाशित छन्। पाख्रिनको पार्थीव शरीरलाई तामाङ संस्कृतिअनुसार बुधबारै भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा अन्तेष्टि गरिँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.