|

काठमाडौं : कार्यालयमा होस् वा घरमा हिजोआज मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कम्प्युटर र ल्यापटप नचलाउनेले पनि टिभी हेर्ने र नियमित मोवाइल चलाउने गर्छन्। यी प्रविधियुक्त सामानहरुले मानिसको दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ। तर यसले मानवस्वास्थ्यमा पनि उत्तिकै हानि पुर्‍याइरहेको छ। त्यसैले यी सामानहरुको प्रयोग गर्दा ध्यान पुर्‍याउन नसकेमा आँखा कमजोर हुँदै जान्छ।

धेरै समय कम्प्युटर, ल्यापटप, मोवाइल चलाउने र टिभी हेर्ने मानिसहरुलाई 'कम्प्युटर भिजन सिन्ड्रोम' को समस्या देखिन विशेषज्ञहरु बताउँछन्। हिजोआज आँखाको समस्या लिएर आस्पताल जाने आधा भन्दा बढी व्यक्तिमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिएको नेपाल पुलिस अस्पतालकी वरिष्ठ आँखा रोग विशेषज्ञ डा. ज्योति पौडेल बताउँछिन्।

सामान्यतया स्वस्थ व्यक्तिले १ मिनेटमा १६ देखि २० पटकसम्म आँखा झिम्क्याउने गर्छन्। लामो समयसम्म टिभी हेरिरहने, कम्प्युटर, मोवाइल चलाइरहने गर्दा आँखा झिक्क्याउन कम हुने हुनाले आँखा सुख्खा भइ भिजन सिन्ड्रोम देखापर्ने उनको भनाइ छ।

'धेरै समयसम्म कम्प्युटर, टिभी हेर्ने, मोवाइल चलाउने गर्दा आँखा झिम्क्याउन कम हुन्छ, जसले गर्दा  आँखामा आँसु फैलिन पाउँदैन र सुख्खा हुन्छ। जसले गर्दा आँखा बिझाउने, टाउको दुख्ने, धमिलो देख्ने जस्ता समस्या देखिने र समयमा नै उपचार नगरे दृष्टि कमजोर समेत हुनसक्छ' उनले भनिन्।

आँखाको परेलामाथि ४० वटा, तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छ। यी ग्रन्थीहरुमा असर पर्ने वित्तिकै भिजन सिन्ड्रोमको लक्षण देखापर्ने हुँदा लामो समयसम्म टिभी हेर्ने, कम्प्युटर, मोवाइल, ल्यापटप चलाउनेहरुले निश्चित समय हेक्का राख्नुपर्ने डा. पौडेलको भनाइ छ।

'लामो समयसम्म कम्प्युटर, ल्यापटप मोवाइलजस्ता डिजिटल सामान सकभर प्रयोग गरिरहनु हुँदैन, यदि गर्नुनै पर्ने हो भने सामान्यतया यस्ता सामान चलाएको २० मिनेटपछि आँखालाई आराम दिनुपर्छ' उनले भनिन् 'जसले आँखाभित्र आँसु फैलाई सुक्खा हुन दिदैन।'

लामो समयसम्म कम्प्युटर, ल्यापटप मोवाइल चलाउनेहरुले ती सामान र आँखाबीचको दूरी ३५ देखि ४० सेन्टिमिटरसम्म राख्नुपर्छ। लामो समयसम्म एसी (एअर कुलर) भएको कोठामा बस्दा पनि आँखामा समस्या देखिने डा. पौडेलको भनाइ छ। 'धेरै समय एसीमा बस्दा पनि आँखा सुक्खा हुन्छ, जसले गर्दा आँखाभित्रको नशा सुक्खा भई रगत जम्छ र आँखालाई चाहिने अक्सिजन पुक्दैन र दृष्टि कमजोर गराइदिन्छ' उनले भनिन्।

डिजिटल सामान चलाउँदा ध्यान दिनुपर्ने कुराहरु :

लामो समयसम्म कम्प्युटर, ल्यापटप मोबाइल जस्ता डिजिटल सामानको प्रयोग गर्दा भिजन सिन्ड्रोम देखिने र पछि दृष्टिनै कमजोर हुने हुँदा सकेसम्म धेरै समय यस्ता डिजिटल सामानबाट टाढै रहनु राम्रो हुन्छ। धेरै टिभी हेर्ने र कम्प्युटर चलाउने व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

यसले सुख्खा हुन नदिई आँखामा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउन मद्दत गर्छ। धेरै बेरसम्म एसीमा बस्नुहुँदैन। राति धेरै समयसम्म मोवाइल, कम्प्युटर, ल्यापटप जस्ता डिजिटल सामानको प्रयोग गर्नुहुँदैन। रातको समयमा ती सामानले छोड्ने प्रकाश (लाइट) ले आँखामा एलर्जीसमेत हुन्छ।

तपाईलाई आफ्नो आँखा कमजोर छैन, लेख पढ गर्न सजिलो छ जस्तो लागे पनि कम्तीमा वर्षको एकपटक आँखा जाँच गराउन उपयोगी हुने डा. पौडेलको सल्लाह छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.