|

ओखलढुंगाः पहिलो चरणको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफ्ना एजेन्डा राख्दै मतदाताको घरमा भोट माग्न व्यस्त छन्। खेती उठाउने समय भएकाले अधिकांश मतदता खेतबारीमै हुने भएकाले नेताहरु पनि घरदैलोमा मतदता नभेटिएपछि त्यहीँ पुगेर आत्मीयता देखाउदै भोट मागिरहेका छन्। 

सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि आफूलाई जिताउन मतदतासँग आग्रह गरिरहेका छन्। प्रतिनिधिसभाका उम्मेदवारहरु जिल्लाभर नै चुनावी कार्यक्रम लिएर घुमिरहेका छन् भने प्रदेशसभाका उम्मेदवार पनि आ-आफ्नो क्षेत्रका मतदासँग भोट मागिरहेका छन्।

तर, जिल्लाका मतदाता भने आश्वासन बाँड्ने नेताको पछि नलाग्ने भन्दै काम गरेर देखाउनेलाई मात्र भोट दिने मनस्थिति बनाएका छन्। सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका सरस्वती बानियाँ कुरा गर्नेभन्दा काम गरेर देखाउनेलाई भोट हाल्ने बताउँछिन्।

‘यसअघि कुराले मख्ख पारेर भोट माग्ने नेताहरुलाई अब भोट हालिन्न। काम गरेर देखाए भने मात्र भोट हालिन्छ’,उनले भनिन्। बानियाँको जस्तै भनाइ छ अर्का मतदाता लिखु गाउँपालिका लोकेन्द्र भट्टराईको पनि। ‘सत्ता र स्वार्थको लोभमा भन्दा पनि जिल्लाको विकासमा जो लाग्छ उसैलाई भोट हाल्ने हो’,उनले भने। यसअघिका निर्वाचन, उम्मेदवारको आश्वासन र उनीहरुले गरेका कामका आधारमा मत दिने सिनपा-९ का शुक्रबहादुर मग्राती बताउँछन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ क्षेत्र र प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा वाम गठबन्धनका तर्फबाट यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरि खतिवडा उम्मेदवार बनेका छन्। त्यस्तै, प्रदेशतर्फ ‘क’ मा वाम गठबन्धनबाट अम्बीरबाबु गुरुङ, कांग्रेसबाट मित्रसेन दाहाल, तथा ‘ख’ मा वाम गठबन्धनबाट माओवादीका मोहन खड्का कांग्रेसबाट प्रदीप सुनुवार र स्वतन्त्रबाट ज्ञानेन्द्र रुम्दाली प्रतिस्‍पर्धामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.