|

काठमाडौं: आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनले सामान्य बहुमत पनि नल्याउने कांग्रेसले प्रारम्भिक निष्कर्ष निकालेको छ।

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले वाम गठबन्धनका नेताहरूले पहिले दुई तिहाई बहुमत ल्याउने घोषणा गरे पनि अहिले बहुमत ल्याउँछौँ भन्नुको पछि यही कारण भएको बताएका हुन्।

पार्टीको केन्द्रीय प्रचार प्रसार उपसमितिले बुधबार राजधानीमा उद्योगी व्यवासायीसँग गरेको अन्तर्क्रिया कार्यक्रमममा नेता खाँडले भने, ‘एमाले र माओवादीका नेताले पार्टी एकीकरण घोषणा गर्दा आफूहरूलाई बहुमत आएमा वर्तमान संविधान आमूल परिवर्तन गर्छौं भनेपछि जनतामा वाम गठबन्धनप्रति आशंका उब्जिएको छ।’

दुई तिहाई बहुमत ल्याएर संविधानमा आमूल परिवर्तन गर्छु र ५० वर्ष सरकार चलाउँछौँ भनेर वाम गठबन्धनका नेताले घोषणा गरेपछि जनताले लोकतन्त्रलाई कमजोर बनाएर कम्युनिष्ट शासन ल्याउन खोजेको भन्ने बुझेर नै कांग्रेस र लोकतान्त्रिक गठबन्धनप्रति मतदाताको समर्थन बढ्दै गएको खाँडले दाबी गरे। 

‘वाम गठबन्धनले बहुमत ल्याउँछ र कम्युनिष्ट शासन आउँछ भन्ने कुरामा नेपाली कांग्रेसलाई एकरत्ति विश्वास छैन’, खाँडले भने, ‘तर जनताले गुनासो र चिन्ता व्यक्त गरेकाले कम्युनिष्ट शासन आयो भने लोकतन्त्रमा जस्तो कुनै स्वतन्त्रता हुँदैन है भनेर हामीले सचेत गराएको हो, प्रतिरक्षा होइन।’ एमालेको भन्दा कांग्रेसले धेरै स्थानमा उम्मेदवार उठाएकाले कांग्रेसले ४० प्रतिशत बढी मत समानुपातिकमा ल्याउने खाँडले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.