|

दमक: राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो आइतबार दक्षिणी इलामको चुलाचुली गाउँपालिका आउँदै छन्। स्थानीय किरात समुदायको प्रयासमा निर्माण भएको फाल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सव उद्घाटनका साथै महागुरु फाल्गुनन्दका अनुयायी धर्मगुरु डम्बर तुम्वापोको ७५औँ जन्मोत्सवको अवसरमा गरिने सम्मानका लागि राष्ट्रपति भण्डारी आउने निश्चित भएको आयोजकले जानकारी दिएको छ।

पाठशालाको वार्षिकोत्सव उद्घाटनसँगै राष्ट्रपति भण्डारी त्यहाँ आयोजना हुने बहुजातीय माङगेना चोत्लूङ (विशेष किसिमको पूजा )मा पनि सहभागी हुने बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा संघका संस्थापक अध्यक्ष तथा पाठशालाका संस्थापक डम्बर तुम्बापोले कार्यक्रमको प्रचार प्रसारसँगै सुरक्षा, मञ्च तथा अन्य आवश्यक सबै व्यवस्थापन कार्य धमाधम भइरहेको जानकारी दिए।  

समुदायबाटै बहुभाषिक पाठशाला

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा तीन वर्षअघि अनौपचारिक रूपमा सञ्चालन गरिँदै आएको उक्त पाठशाला एक वर्षपछि विधिवत रूपमा दर्ता भएको हो। यो पाठशाला स्थापना स्थानीय समुदायकै सक्रियतामा भएको हो। यसका संस्थापकहरूले पाठशालालाई नेपालकै पहिलो बहुभाषिक पाठशाला भएको दाबी गरेका छन्।

पाठशालाका लागि स्थानीय दाताहरूले हालसम्म आठ कठ्ठा १० धुर जग्गा निःशुल्क दान गरिसकेका छन्। अझै पनि उक्त पाठशालाका लागि आवश्यक पूर्वाधार निर्माण, शिक्षक दरबन्दीलगायत राज्यस्तरबाट सेवा सुविधाहरू उपलब्ध हुन नसकेको पाठशालाका शिक्षक चन्द्र चेम्जोङले बताए। त्यहाँ हाल किरात लिपि, नेपाली र अंग्रेजी भाषाको पठनपाठन हुँदै आएको शिक्षक चेम्जोङले बताए।

पाठशालामा हाल ६० विद्यार्थी अध्ययनरत छन्। यसको भवन निर्माण तथा सञ्चालनका लागि स्थानीयबाटै वर्सेनि बहुसांस्कृतिक देउसी नाच सञ्चालन गरिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.