|

विराटनगर : विराटनगर महानगरपालिका–१२ को ऋषिदेव बस्तीमा जहिल्यै पनि भोटको अघिल्लो दिन भोज लाग्छ। फरक–फरक पार्टीका उम्मेदवारले कसले बढी सक्छ उसले भोट पाउँछ। यस पटकको निर्वाचनमा पनि त्यही अवस्था हुने उनीहरु बताउँछन्।

‘अहिले भोटको त्यति चहलपहल छैन तर भोटको अघिल्लो दिन ४/५ घर, ४/५ घरका लागि फरक–फरक ठाउँमा भोज लाग्छ,’ सो टोलका ४५ वर्षीय भुटन ऋषिदेव भन्छन्, ‘रमाइलो पनि हुन्छ, दारु पानी, मासु भात जसले जे खान मन लाग्यो त्यही हुन्छ।’

९० देखि १ सय घर परिवार रहेको सो टोलमा केही यादव तथा चौधरीको पनि बसोवास छ। अधिकांश ऋषिदेव समुदाय बसोवास गर्ने सो ठाउँमा भोट हुनुभन्दा दुई/चार दिनदेखि मासु भात र दारु पानीको विगविगी हुन्छ।

‘पञ्चायत कालमा पनि भोट हालें, उनीहरु भोट माग्न आउँछन् हामी दिन जान्छौं,’ सोही टोलका श्रवण राजवंशी बताउँछन्, ‘देशको नियम हो, पालना गर्नैपर्छ।’ उनले चुनावको अघिल्लो दिन उक्त टोलमा हुने गतिविधि हेर्न र फोटो खिच्न आग्रह गरे।

‘चुनावभन्दा एकदिन अगाडि आउनुहोस्, टन्न मासु चिउरा र दारु कति खानुहुन्छ?,’ राजवंशीले भने, ‘घरघरै मासु चिउरा हुन्छ, ४÷५ दिन अगाडिदेखि यहाँ सबैको घरमा मासु पाक्न थाल्छ।’ भोट सकिएपछि कोही आउँछन्? भन्ने जिज्ञासामा उनले भने, ‘भोट भयो त हाम्रो काम सकियो, नेता काठमाडौं जान्छन् हाम्रो के मतलब।’

सोही टोलका दिलीप ऋषिदेवले भोट हालेको ४/५ पटक भयो। सबैको एउटै कुरा हुन्छ जितेपछि जग्गा दिन्छु। तर, न त अहिलेसम्म उनले जग्गा पाएका छन् न त उनको बसोबासको स्थायी समाधान नै छ।

‘यहाँ बाटो र नहरको डिलमा हामीहरुको घर छ,’ उनले भने, ‘भोट लिनेबेलामा जग्गा दिन्छु भन्छन् जितेर गएपछि डोजर लिएर बाटो फराकिलो पार्ने भन्दै आउँछन् र हामीलाई नै विस्थापित पार्छन्।’ बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेको सुकुमबासी परिचयपत्र देखाउँदै उनले आफूहरुको एक सुत्रीय माग जग्गा पाउनु रहेको सुनाए।

‘हामी यहाँ पुर्खादेखि बस्दै आएका छौं, यहाँको समस्या जग्गाको हो अरु छैन,’ उनले भने, ‘तर यहाँ गर्ने भनेर गर्दैनन् हामी कहिले जग्गा र घरको मालिक बन्दैनौं।’अधिकांश स्थानीयले जसले विकास गर्छ, गरिवलाई हेर्छ उसैलाई भोट दिन्छौं भन्छन्।

तर, त्यस क्षेत्रको उम्मेदवार को हो भन्ने कुरा समेत उनीहरुलाई थाहा छैन। ‘राम्रो काम गर्ने, विकास गर्ने र गरिबलाई हेर्नेलाई भोट दिने हो,’ कसलाई भोट दिनुहुन्छ भनेर सोधेको प्रश्नमा दिलीपले भने, ‘तर को उठेको छ त्यति चिनेको छैन।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ। मत प्रभावित पार्नका लागि उम्मेदवारहरु विभिन्न प्रलोभन दिँदै जनताको घरदैलो चहारिरहेका छन्। यहाँका दलित वस्तीमा पनि भोटको अघिल्लो दिनको चलखेलले मत काहाँ खस्छ भन्ने कुराको निर्धारण गर्छ। निर्वाचन आयोगले अहिलेसम्म उनीहरुलाई भोट दिनेबारे सिकाएका पनि छैनन्।

मोरङको प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर ६ पर्ने विराटनगर–१२ को यो वस्ती प्रदेशसभाका लागि ६ अन्तर्गत (ख) क्षेत्र पर्दछ। यहाँ प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट लालबाबु पण्डित र कांग्रेसका तर्फबाट शेखर कोइराला उम्मेदवार हुनुहुन्छ भने प्रदेश सभामा बाम गठबन्धनका लागि रमेश पोखरेल र कांग्रेसका तर्फबाट केदार कार्की प्रतिस्पर्धा गर्दैछन्।

स्थानीय तहको मत परिणामका आधारमा भन्ने हो भने प्रदेशसभा ६ (ख)मा बाम गठबन्धन बलियो छ। यद्यपि, दुवैजनाबीच कडा प्रतिस्पर्धा हुने यहाँ आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.