|

काठमाडौं: पछिल्लो पाँच वर्षदेखि मिडियामा पनि थोरै धेरै लगानी गर्नेको जमात ठूलो छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा अहिलेसम्म नौ हजार (प्रिन्ट, विद्युतीय तथा अनलाइन) मिडियाहरू दर्ता भएका छन्।

लगानी गर्ने जमात धेरै भए पनि लगानीलाई निरन्तरता तथा लगानीबाट स्थायित्वसहितको फाइदा लिनेको संख्‍या भने न्यून छ। मिडियामा सबैभन्दा ठूलो समस्या नै यही बताउँछन् सरोकारवालाहरू। 'मिडिया सुरु गर्न सजिलो लाग्छ, तर स्थापित गर्न गाह्रो छ', बुधबारदेखि सुरु भएको इन्टरप्रेनरसिप विकमा पत्रकार प्रतीक प्रधानले  भने।

प्रधानको जस्तै अनुभव कारोबार दैनिकका सम्पादक कुवेर चालिसे र रिपव्लिका दैनिकका सम्पादक सुवास घिमिरेको पनि छ। 'मिडिया मात्रै होइन, नेपालमा सबै उद्यम व्यवसाय सुरु गर्न सजिलो हुन्छ तर त्यसलाई स्थापित गर्न गाह्रो छ। त्यसमध्ये मिडिया सुरु गर्न थप सहज र स्थापित गर्न थप गाह्रो छ', चालिसेले भने।

रिपव्लिकाका सम्पादक घिमिरे पनि नेपालीहरू व्यवस्थित गर्न नसक्ने देखिएको बताउँछन्। 'हाम्रोमा जुनसुकै काम पनि सुरु भइहाल्छ तर त्यसलाई व्यवस्थित भने गर्न सकेको देखिँदैन', घिमिरेले भने।

समस्या के?

एक तथ्यांकअनुसार अहिले विश्‍वभर २० हजार खर्ब डलर मिडियामा लगानी छ। वार्षिक ७९३ खर्ब डलर मिडियामा प्रत्यक्ष विज्ञापन आउँछ।

तर, मिडिया कुनकुन माध्यमलाई मान्ने, यसबाट कति लाभ हुन्छ? लगायतको विषयमा लगानीकर्ता अझै प्रष्ट बन्न सकेका छैनन्। विज्ञापन दिनेले पनि कस्ता मिडियालाई दिने र कति दिने भन्ने समस्या छ। अहिले सामाजिक सञ्जालसमेत सशक्त मिडियाको रूपमा देखिएको छ।

मिडिया उद्योग अरू उद्योग जस्तो नहुने बताउँछन् सरोकारवाला।  'सबैभन्दा पहिलो त नागरिकलाई कसरी विश्‍वासमा राख्ने भन्ने कुरा रहन्छ, तर मिडियाको लागि आवश्‍यक पर्ने 'रेभेन्यु' नभए कसरी काम हुन्छ', पत्रकार प्रधानले भने। लागत उठाउन र नियमित प्रक्रिया चलाउनका लागि कतिपय मिडियाले अनावश्‍यक काम गर्ने गरेको पत्रकार चालिसे बताउँछन्। 'मिडियालाई पनि रेभिन्यु त आवश्‍यक परिहाल्छ, तर नभएपछि झ्यालबाट बाटो खोज्ने प्रवृत्ति पनि हावी देखिन्छ', पत्रकार चालिसेले भने।

मुख्यत: मिडियालाई विश्‍वसनीय बनाउनु यसको मुख्य समस्या भएको उनीहरूको मत छ। बजार विस्तार र विज्ञापनको स्थिरता खोज्नु पनि मिडियको लागि चुनौती  बन्दै गएको सरोकारवालाहरूको अनुभव रहेको छ। निरन्तर वृद्धिसहितको स्थायित्व नेपाली मिडिया बजारका लागि समस्याको रूपमा देखिएको छ।

कतिपय दर्ता नभएका र भएका पनि अनलाइनमा गलत सूचना हालेर बुम गराउने प्रवृत्ति मिडियाका लागि चुनौतीपूर्ण रहेको बताउँछन् पत्रकार घिमिरे। 'सामान्य अनलाइनमा कसैको निर्देशनमा गलत सूचना आइरहेको हुन्छ तर यसलाई यसरी बुम गराइन्छ त्यसबेला सबैलाई सोच्न बाध्य बनाइन्छ', घिमिरेले भने। कतिपय अवस्थामा स्थायित्व पाइनसकेका मिडियाले गर्ने गलत सूचना प्रवाह गर्दा स्थापित मिडियाबाट सेचत गराई सही सूचना दिनुपर्ने बताउछन् उनी।

मिडिया: कोही लुक्छन्, कोही दुरूपयोग खोज्छन्

कतिपय उद्योगी व्यावसायी र राजनीतिज्ञहरूको समेत मिडियाले कभर नगरेको गुनासो रहँदै आएको छ। मिडिया सम्पादक तथा पत्रकारहरूको अनुभवमा भने कतिपय उद्योगी व्यवसायी मिडियामा आउन नचाहने, केही काम नगर्ने तर मिडिया मात्रै खोज्ने गरेका छन्।

'एकथरि इन्टरप्रेनरसिप मिडिया सामु लुक्छन्, एकथरि चर्को चर्को स्वरमा बोलेर त्यही बेच्छन्', पत्रकार प्रधानले भने, 'यस्तो प्रवृत्ति हामीले बुझेर मात्रै काम गर्नुपर्छ।' पत्रकार चालिसे पनि कतिपय उद्यमी व्यवासयीले अनुगमन हुने नाममा मिडियामा आउन नचाहने गरेको अनुभव सुनाउँछन्।

काठमाडौंमा इन्टरप्रेनरसिप विक

नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयले टेकुमा एक हप्ते इन्टरप्रेनरसिप विक सुरु भएको छ। नेपाल इन्टरप्रेनरसिप हवले बुधबारदेखि पाँच दिनसम्मका लागि  इन्टरप्रेनरसिप विषयमा बहस गर्नेछ। पहिलो दिन बुधबार मिडिया इन्टरप्रेनरसिपसम्बन्धी छलफल भएको छ। प्रत्येक दिन सम्बन्धित क्षेत्रका विज्ञहरूसँग विभिन्न विषयमा छलफल गरिने हवका संस्थापक सुमन शाक्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.