|
फाइल फोटो

चितवनः गायक खुसीराम पाख्रिनको बुधबार बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ। 

उनको पार्थिव शरीरलाई छोरा बाबुराम पाख्रिनले दागबत्ती दिएका थिए। जलाएर अत्येष्टि गरी अस्तु ल्याएको जानकारी दिँदै उनका ज्वाइँ प्रताप गुरुङले तामाङ परम्पराअनुसार मंसिर १६ र १७ गते चोख्याउने जानकारी दिए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार गायक पाख्रिनको ६५ वर्षको उमेरमा मंगलबार हृदयाघात भई मृत्यु भएको थियो। 

संयुक्त वाम गठबन्धनद्वारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा मंगलबार गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको केही घण्टामै भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

यसअघि सोही अस्पतालमा पाख्रिनले प्रेसर र सुगरको नियमित उपचार गराउँदै आएका थिए। उनको शवलाई मंगलबार घरमा लगिएको र बुधबार बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलिका लागि माओवादी केन्द्रको पार्टी कार्यालयमा राखिएको थियो। 

पाख्रिनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेता रामबहादुर थापा बादल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए। श्रद्धाञ्जलि दिन पार्टी कार्यालयमा बिहान शुभेच्छुकहरूको ठूलो भिड थियो।

चितवनको भरतपुर महानगरपालिका– १९ रामपुर घर भएका पाख्रिनको जन्म वि. सं. २००९ मा भएको हो। उनका एक श्रीमती, एक छोरा र दुई छोरी छन्। एक छोरा भने द्वन्द्वकालमा शहीद भएका थिए। 

जनताको घरघरमा पुगेर मुक्ति आन्दोलनका गीत गाउने पाख्रिनका करिव ५०० गीत रहेको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ।

बुधबार माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै उनको निधनले केन्द्र तथा कम्युनिष्ट आन्दोलत एवं प्रगतिशील साहित्यिक आन्दोलनमा अपूरणीय क्षति भएको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.