|

काठमाडौं : भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि दशरथ रंगशाला पुनर्निर्माण कार्य सुरु नै भएको छैन्। पुनर्निर्माणका लागि टेन्डर हुन नसक्दा सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग प्रभावित हुने देखिएको छ। सरकारले आवश्यक बजेट विनियोजन गर्दै सागअघि नै पुनर्निर्माण गरिसक्ने जनाएको थियो। अहिले पुनर्निर्माणका लागि रंगशालाको संरचना भत्काउने काम भइरहेको छ। टेन्डरपछि निर्माणका लागि प्रक्रियागत रूपमा समय लाग्ने भएकाले समयमै काम पूरा गर्न कठिन हुने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्यायले बताए।

रंगशालाको साधारण प्याराफिटलगायतका ठाउँमा रेट्रोफिटिङको काम भने सम्पन्न भएको छ। अहिले साधारण र भिआइपी प्याराफिटतर्पm छत भत्काउने काम भइरहेको छ। सरकारले तत्काल खर्च गर्न सात करोड उपलब्ध गराएको थियो। साधारण प्याराफिट भत्काउने जिम्मा भीमेश्वर बिल्डरले पाएको छ। उसले ३५ लाख रुपैयाँमा ठेक्का लिएको छ। भिआइपीतर्पm एक करोडभन्दा बढी लगानीमा गिरी कन्स्ट्रक्सनले भत्काउने काम गरिरहेको छ।

राष्ट्रिय खेलकुद परिषद्को परिसरमा बन्न लागेको कर्मचारी भवन र खेलाडी अस्पताल निर्माणका लागि २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कर्मचारी भवन र खेलाडी अस्पतालको निर्माण पनि सागअघि नै सम्पन्न भइसक्नुपर्ने हुन्छ। तर, अहिलेसम्म टेन्डर प्रक्रिया बाँकी नै छ। खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले निर्माण हुने भवनको शिलान्यास गरिसकेका छन्।

रंगशाला निर्माण समयमै सम्पन्न हुनुपर्ने भए पनि सरकारी बेवास्ताका कारण सागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण पर्याप्त हुनेमा खेलकुदसँग सम्बन्धित संघसंस्थाले आशंका जनाएका छन्। काठमाडौं, पोखरालगायतका सहरलाई विकेन्द्रित गरी साग आयोजना गरिने बताइएको छ। तर, पोखरा रंगशालाका लागि हालै मात्र ग्लोबल टेन्डर आह्वान गरिएको छ। सो रंगशाला १० महिनाभित्र सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको छ। यस्तै, ओलम्पिक कमिटीको विवाद र राजनीतिक अस्थिरताले पनि रंगशाला पुनर्निर्माणमा समस्या देखिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद र १९औँ सागका लागि डेढ अर्ब रुपैयाँ लाग्ने र सोहीअनुसारको बजेट विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरेको इन्जिनियर उपाध्यायले बताए। नेपालगन्जलगायत आसपासको क्षेत्रमा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि ६ वटासम्म भौतिक संरचना निर्माण गरिने उनको भनाइ छ। यस्तै, सागका लागि थप ६ वटाजति भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले डेढ अर्बजति लागत आवश्यक भएको उपाध्यायले बताए।

यसअघि रंगाशालाको क्षमता १८ हजार दर्शक अट्ने थियो। पुनर्निर्माणसँगै दुईदेखि तीन हजार संख्या घट्नेछ। साधारण दर्शक बस्ने प्याराफिटमा कुर्सी राखिएको र छतको भागको पिलरले केही ठाउँ लिने भएपछि यसअघिको क्षमतामा केही कमी आउने इन्जिनियर विश्वमित्र सञ्जेलले जानकारी दिए। यद्यपि, निर्माण पूरै सम्पन्न भएपछि मात्र यकिन विवरण आउने उनको भनाइ छ।

रंगशाला निर्माणका लागि २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तर, टेन्डर आह्वान गर्न आवश्यक रकमसमेत अर्थ मन्त्रालयले उपलब्ध नगराएको इन्जिनियर अरुण उपाध्यायले बताए। ‘छत र सिटबाहेक नै २१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ। अर्थ मन्त्रालयबाट काम गर्दै गर्नुस् भन्नुभएको छ। हामीले पनि काम गरिरहेका छौँ, तर अब टेन्डरका लागि आवश्यक रकम निकासा नभई काम अघि बढ्दैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.