|

काठमाडौं : चिम्पाञ्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थल भन्सार कार्यालय र विमानस्थलस्थित क्वारेन्टाइन कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको हो।

भन्सार कार्यालयका नासु चुणामणि दाहाल र क्वारेन्टाइन कार्यालयका भेटनरी चिकित्सक धीरेन्द्र साहलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीअाईबी)ले जनाएको छ। उनीहरूविरुद्ध संगठित अपराध मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ। दाहाल शुक्रबार तथा साह बुधबार पक्राउ परेका हुन्। विमानस्थलबाट पटक–पटक भएको वन्यजन्तु तस्करीमा उनीहरूले सहयोग गरेको खुलेपछि पक्राउ गरिएको सीअाईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले बताए।

तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयले एक महिनाअघि नै नासु दाहालसहित भन्सार अधिकृत आशुतोष राई र अर्का नासु लीला पनेरूलाई निलम्बन गरिसकेको थियो। सीअाईबीले विमानस्थलबाटै पास भएका दुईवटा चिम्पान्जी, आठवटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो।

तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन र सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई सिआइबीले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले भन्सार र क्वारेन्टाइनका कर्मचारीलाई घुस खुवाएर चिम्पाञ्जी तस्करी गर्दै आएको खुलेको हो।

नासु दाहाललाई भन्सार एजेन्ट राजकुमार तिवारीले ५० हजार रुपैयाँ दिएर चिम्पाञ्जी पास गराएका थिए। क्वारेन्टाइनका कर्मचारी साहले भने कति पैसा लिएका थिए खुलेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.