|

जनकपुरधाम : त्रेतायुगमा भगवान् राम र सीताबीच विवाह भएको सम्झनामा बिहीबार विवाहपञ्चमी पर्व मनाइँदैछ। साताव्यापी महोत्सवअन्तर्गत मुख्य दिन, बिहीबार रामसीताको स्वयंवर तथा विवाह हुँदैछ।

महोत्सवअन्तर्गत ‘मटकोर’ विधि शनिवार साँझ गरिएको छ। मटकोरअन्तर्गत झाँकी तथा बाजागाजाका साथ जनकपुरको गंगासागरको डिलमा पुगी कोदालोले माटो खनेर ल्याइएको थियो। सो माटो विवाहको लागि बनाइने मड्वामा प्रयोग गर्ने परम्परा  छ । 

दिउँसो एक बजेपछि दुलही पक्ष जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको डोलासहित बाह्रबिघा पुग्नेछन्। अयोध्याको राजा दशरथको रूपमा प्रतिनिधित्व गर्दै राममन्दिरका महन्थ राम गिरी पनि भगवान् रामलाई डोलामा राखी स्वयंवरका लागि बाह्रबिघा पुग्ने कार्यक्रम छ। 

बेलुकी जानकी मन्दिरमा वैदिक परम्पराअनुसार राम र सीताबीच विवाहहुनेछ।  त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो। जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलाञ्चलवासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मार्ग शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ। रामायणका अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.