|

काठमाडौं : देशैभरमा प्रदेशसभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनको छायामा परेको महसुस भइरहेका बेला धादिङमा भने प्रदेशसभाका उम्मेदवारहरुले प्रतिनिधिसभाका उम्मेदवारलाई समेत छायामा पारेका छन्। 'हेभीवेट' नेताहरुको उम्मेदवारीले प्रदेशसभा निर्वाचनमा धेरैको ध्यान केन्द्रित छ।

एमाले प्रभावशाली नेता राजेन्द्र पाण्डे, माओवादीका प्रभावशाली नेता शालिकराम जम्कट्टेलदेखि कांग्रेस धादिङका सभापति रमेश धमलासमेत प्रदेशमै उम्मेदवार छन्। यी नेताहरु प्रतिनिधिसभा सदस्यका लागि नै उम्मेदवार बन्ने चर्चा थियो। तर, बदलिँदो परिस्थितिमा उनीहरु सबै प्रदेशको उम्मेदवार बनेपछि छुट्टै माहोल बनेको छ।

प्रदेशसभाका ४ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा निर्वाचन क्षेत्र नम्बर १ (१) मा वाम गठबन्धनबाट एमालेका राजेन्द्र पाण्डे र कांग्रेसका मधुकुमार श्रेष्ठ तथा १ (२) मा वाम गठबन्धनबाट माओवादीका शालिकराम जम्कट्टेल र कांग्रेसका प्रभातकिरण सुवेदी प्रतिस्पर्धामा छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर २ (१) मा वाम गठबन्धनबाट एमालेका डा. रामकुमार अधिकारी र कांग्रेसका जिल्ला सभापति रमेश धमला तथा २ (२) मा वाम गठबन्धनबाट माओवादीका जगत सिंखडा तथा कांग्रेसकोसमेत समर्थनमा राप्रपाका डम्बर तामाङ उम्मेदवार छन्।

आउनुस्, धादिङबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका नेताहरुलाई नजिकबाट नियालौँ।

धदिङ १ (१)  : हेभीवेट vs युवा उम्मेदवार

राजेन्द्रप्रसाद पाण्डे, एमाले (वाम गठबन्धन)

२०१३ सालमा साविकको गजुरी गाविस वडा नम्बर ८ मा जन्मिएका पाण्डे २०४८ यताका संसदीय निर्वाचनमा लगातार उम्मेदवार बन्दै आएका नेता हुन्। यसपटक उनी वाम गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एम.ए.सम्मको अध्ययन गरेका पाण्डे सक्रिय राजनीतिमा आउनुअघि (२०३४–२०४२) शिक्षण पेसामा आबद्ध थिए। उनले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए। त्यसपछि २०३४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापकसहित २ कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गरे। २०३६ सालबाट ८ वर्षसम्म उनी पार्टीको जिल्ला सचिव भए। पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले बाग्मती अञ्चल कमिटी सचिव र २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने भने २०६५ सालदेखि पोलिटब्युरो सदस्य छन्।

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा 'जनपक्षीय उम्मेदवार' भन्दै उम्मेदवारी दिएका पाण्डे पराजित हुन पुगे। यद्यपी २०४४ सालमा जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए। पाण्डे प्रतिनिधिसभा सदस्यमा साविकको धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र ०५६ मा विजयी भएका थिए। २०५१ को निर्वाचन संसदमा एमालेको प्रमुख सचेतक बनेका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री बने।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका शालिकराम जम्कट्टेलसँग फराकिलो मतान्तरले पराजित भएका पाण्डेले २०७० मा भने जम्कट्टेललाई पराजित गर्न सफल भए। यसपटक पनि उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने मनस्थितिमा थिए। तर, पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रतिनिधिसभातर्फ टिकट पाएपछि उनी मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्।

प्रदेश ३ मा एमाले नेतृत्वको सरकार बन्ने हो भने पाण्डे मुख्यमन्त्रीका प्रबल दावेदार हुन्। यस क्षेत्रमा उनको हेभीवेट व्यक्तित्व नै प्रतिस्पर्धीका लागि ठूलो चुनौती हो। त्यसमाथि पनि कम्युनिष्ट जनमत बलियो भएको क्षेत्र र माओवादीकोसमेत साथ पाएकाले आफूले जित्नेमा ढुक्क रहेको पाण्डे बताउँछन्।

मधुकुमार श्रेष्ठ, कांग्रेस

२०३२ साल भदौमा साविकको जीवनपुर गाविस वडा नम्बर ६ मा जन्मिएका श्रेष्ठ चलचित्र निर्माता एवम् कलाकारसमेत हुन्। मानविकी संकायमा आइएसम्मको अध्ययन गरेका श्रेष्ठ हाल कांग्रेसको महासमिति सदस्य छन्। उनले २०५३ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।

२०५८ मा तरुण दलको जिल्ला उपाध्यक्ष बने। त्यसयता सक्रिय राजनीतिमा रहेको बताउने श्रेष्ठ आफ्ना ‘हेभीवेट प्रतिस्पर्धी’ पाण्डेलाई ‘कमजोर प्रतिस्पर्धी’ भन्छन्। ‘उहाँले ३० वर्षयता यस क्षेत्रको नेतृत्व गर्नुभयो, यसबीचमा के गर्नुभयो त?’ थाहाखबरसँग श्रेष्ठले भने, ‘जनताले बुझिसकेका छन्, सम्पूर्ण युवाको साथ मलाई छ, उहाँ मेरा लागि कमजोर प्रतिस्पर्धी हो।’ मतदाताले आफूलाई एकपटक काम गर्ने मौका दिने उनको विश्वास छ।

 

धदिङ १ (२) : पूर्वसहकर्मीबीच प्रतिस्पर्धा

शालिकराम जम्कट्टेल, माओवादी केन्द्र (वाम गठबन्धन)

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन्। बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसपछि २०४८ बाट उनी मजदुर संगठनमा लागे। सुरुमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म बने।

माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे। २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेर नेतृत्व गरे। त्यसक्रममा उनले राष्ट्रिय राजनीतिमा पनि आफ्नो पहिचान बनाउन सफल भए।

०६३ को पुनर्स्थापित संसदको मनोनित सदस्य बनेका जम्कट्टेलले २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरे। यद्यपी २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे। साविकको धादिङ क्षेत्र नम्बर ३ को सिंगै भू–भाग धादिङ १ मा पर्छ।

पछिल्लो डेढ वर्षयता जम्कट्टेल धादिङमै केन्द्रित छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको नेतृत्व कार्यवाहक अध्यक्ष गणेश रेग्मीलाई सुम्पिएर उनी पार्टीको जिल्ला नेतृत्व सम्हाल्न धादिङ गएका हुन्। जम्कट्टेल आफ्नो क्षेत्रमा प्रभावका हिसाबले पहिलो र दोस्रो पार्टी एकसाथ रहेको र त्यसको आफू साझा उम्मेदवार रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्। ‘वाम गठबन्धन बनेपछि प्रभावका हिसाबले पहिलो र दोस्रो पार्टी यहाँ एकसाथ भएका छन्, तेस्रो पार्टी निकै पछाडि छ, त्यसैले पनि मेरो जित निश्चित छ,’ जम्कट्टलले भने, ‘मजदुर किसानको हकहितका लागि निरन्तर लडेको व्यक्ति भएकाले पनि जनताले मलाई रोज्छन्।’

जम्कट्टेल ३ नम्बर प्रदेशमा माओवादी केन्द्रबाट प्रदेशसभाका लागि उम्मेदवार बनेका हेभीवेट नेता हुन्। उनी माओवादीसहितको प्रदेश सरकार बन्ने अवस्थामा पार्टीको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गर्ने सम्भावित व्यक्तिसमेत हुन्। जम्कट्टेल माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्छन्।

प्रभातकिरण सुवेदी, कांग्रेस

२०२६ सालमा साविकको पिंडा गाविस वडा नम्बर ३ राम्चेमा जन्मिएका सुवेदी राजनीतिक भन्दा व्यवसायिक छवि बनाएका व्यक्ति हुन्। समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्। उनले २०६६ देखि ०६९ सम्म संघको नेतृत्व गरेका थिए।

सुवेदी स्थानीय तहको निर्वाचनअघि गत वैशाखमा नेकपा माओवादी केन्द्र छाडेर कांग्रेसमा प्रवेश गरेका हुन्। उनी आफ्नो राजनीतिक जीवन भने २०३९ सालबाट सुरु भएको बताउँछन्। त्यतिबेला उनी अखिलको छैटौंको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका थिए। २०५२ पछि सुरु भएको माओवादी आन्दोलनलाई उनले निरन्तर सघाए। कांग्रेस प्रवेश गर्नुअघि सुवेदी माओवादीको केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य थिए।

आफ्नै पूर्वसहकर्मी शालिकराम जम्कट्टेलसँग प्रतिस्पर्धामा रहेका सुवेदी लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी कांग्रेसलाई जनताले रोज्ने विश्वास गर्छन्। जनताको सामाजिक/आर्थिक उन्नति र विकासका लागि आफूसँग एजेण्डा रहेको भन्दै उनले जनताले विश्वास गर्ने बताए। 'जनताले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी कांग्रेसको पक्षमा विवेक प्रयोग गर्छन् भन्ने विश्वास छ,' उनले थाहाखबरसँग भने।

 

धदिङ २ (१) कांग्रेस जिल्ला सभापति vs डा. अधिकारी

डा. रामकुमार अधिकारी, एमाले (वाम गठबन्धन)

२०२२ सालमा साविकको धुवाँकोट- ८ मा जन्मिएका डा. अधिकारी एमालेको ३ नम्बर प्रदेश कमिटीका सदस्य हुन्। उनी महाराजगञ्ज मेडिसिन क्याम्पसबाट पिएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन्। २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका अधिकारी  २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य बने। त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने। हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा एमाले निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य हुन्।

आफूलाई योजनाविद्को रुपमा व्यख्या गर्दै अधिकारीले वाम गठबन्धन नै आफ्नो जितको प्रमुख आधार भएको बताए। 'मेरो जितको प्रमुख आधार त वाम गठबन्धन नै हो,' अधिकारीले भने, 'योजना निर्माणमा मेरो विशेषज्ञता छ। राम्रो योजना बनाएर कार्यान्वयन गर्नसक्छ भन्ने विश्वास जनतामा पैदा भएको छ।' उनले जितेर आफ्नो क्षेत्रमा योजनाबद्ध विकास गर्न चाहेको बताए।

रमेश धमला, कांग्रेस

२०२३ साल असोजमा साविकको साङ्कोस गाविस वडा नम्बर ९ मा जन्मिएका धमला हाल नेपाली कांग्रेसको धादिङ जिल्ला सभापति हुन्। राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका धमला विभिन्न संघ/संगठनको नेतृत्वमा पुगेर राष्ट्रिय स्तरमा समेत राम्रो छवि बनाएका नेता हुन्।

पर्यटन व्यवसायीहरुको छाता संगठन ‘टान’को अध्यक्षको जिम्मेवारी सम्हालेका धमलाले टुरिजम कोअर्डिनेसन कमिटीको संयोजक तथा कांग्रेसको विदेश विभाग सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी कांग्रेस निकट लोकतान्त्रिक गैसस महासंघका बहालवाला अध्यक्षसमेत हुन्।

धमला धादिङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका ‘हेभीवेट’ उम्मेदवारमध्ये एक हुन्। उनी आफूले राजनीति तथा विभिन्न संघ–संस्थामार्फत यस क्षेत्रको विकासमा गरेको योगदान नै आफ्नो जितको प्रमुख आधार भएको बताउँछन्।

‘म निरन्तर जनताको बीचमा छु। राजनीति तथा विभिन्न संघ–संस्थामा रहेर यस क्षेत्रको विकासमा गरेको योगदान अनि इमान्दारिता र क्रियाशीलता नै मेरो जितको प्रमुख आधार हो,’ थाहाखबरसँग उनले भने। धादिङमा कांग्रेसको ‘भोट बैंक’ मानिने नीलकण्ठ नगरपालिकाको अधिकांश भू–भाग यही क्षेत्रमा पर्छ।


धदिङ १ (२) : मजदुर राजनीतिका चर्चित अनुहार vs पारिवारिक विरासत

जगत  सिंखडा, माओवादी केन्द्र (वाम गठबन्धन)

२०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन्। २०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायतविरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो। उनले आइएसम्मको अध्ययन गरेका छन्।

२०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि उनी भूमीगत बनेर सक्रिय राजनीतिमा होमिए। त्यसक्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले। २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो। पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने। माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने। हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन्।

सिंखडा आफू युवा भएको र विकासप्रेमी छविका कारण जनताले आफूलाई रोज्ने बताउँछन्। ‘विगतमा यस क्षेत्रका जनताले धेरैलाई भोट दिएर जिताए, जितेपछि न उनीहरु फर्किए, न त विकास नै भयो। म चुनाव जितेपछि पनि निरन्तर जनताको साथमा रहनेछु र विकास गर्नसक्ने दृढ इच्छाशक्ति भएको युवा हुँ भन्ने विश्वास जनतामा पैदा भइसकेको छ।’ राजधानीनजिकै भए पनि धादिङलाई बत्तीमुनिको अध्यारो भन्दै उनले यस क्षेत्रका नेताहरु पटक–पटक सत्तामा पुगे पनि रुवीभ्याली, खनियाबासलगायतका क्षेत्रको विकासमा कुनै योगदान नगरेको गुनासो गरे। आफ्नो क्षेत्रको  विकासका लागि नै उम्मेदवारी दिएको उनको भनाइ छ।

डम्बर तामाङ, राप्रपा (लोकतान्त्रिक गठबन्धन)

२०३३ सालमा जन्मिएका तामाङ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको धादिङ जिल्ला सदस्य हुन्। उनी राप्रपा उपाध्यक्ष एवम् पूर्वमन्त्री बुद्धिमान तामाङका भाइसमेत हुन्। तामाङले आइएसम्मको अध्ययन गरेका छन्। राजनीतिमा व्यक्तिगत संलग्नता र चर्चाका हिसाबले नयाँ भए पनि उनको पारिवारिक विरासत उत्तरी धादिङमा चर्चित छ। उनका दाजु बुद्धिमान पूर्वगृहमन्त्रीसमेत हुन्। तामाङको निर्वाचन क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा राप्रपाकै उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष पद जितेका थिए।तामाङलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। हामीले उनीसँग पनि प्रतिक्रिया लिने प्रयास गरेका थियौँ, तर सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.