|

डडेल्धुरा : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर ७ का ६ जना उम्मेदवारले आफूलाई मतदान गर्न पाउनेछैनन्। कञ्चनपुर र कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका चार र प्रदेशसभाका दुई उम्मेदवार आफूलाई मतदान गर्नबाट बञ्चित हुने भएका हुन्। 

आफूलाई मतदान गर्नबाट नपाउने उम्मेदवारमा चार कांग्रेसका र दुई  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का छन्। कांग्रेसका उम्मेदवारहरुले मतदाता नामावली रहेको क्षेत्रभन्दा फरक स्थानबाट चुनावी प्रतिस्पर्धा गरिरहेकाले मतदान गर्न नपाउने भएका हुन्। एक पुर्पक्षका लागि थुनिएका र एक जना टीकापुर घटनापछि फरार रहेकाले मतदान गर्न नपाउने भएका हुन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ मा मतदाता नामावली रहेका कारण कांग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा आफूलाई मत हाल्न पाउँदिनन्। आरजु कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव लड्दैछिन्। 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका कांग्रेस केन्द्रीय सदस्य एनपी साउद पनि आफूलाई मतदान गर्न नपाउने उम्मेदवारमा पर्छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिका–२ बाट मतदाता नामावली जारी भए पनि नेता साउद क्षेत्र नम्बर २ बाट लगातार चुनाव लड्दै आएका छन्। त्यसैले उनी पनि निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

यसैगरी कांग्रेसका अर्का नेता तथा पूर्वसांसद बहादुरसिंह थापा र जनजाति नेता गोपाल गुरुङले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका पूर्वसांसद थापाको मतदाता नामावली क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिका–६ मा छ। 

त्यस्तै कञ्चनपुरकै क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा कांग्रेसका तर्फबाट उमेदवार बनेका गुरुङको नामावली पनि भीमदत्त नगरपालिका–५ बाट जारी भएको छ। 

राजपाबाट प्रतिनिधिसभा सदस्यका लागि वारिसमार्फत उम्मेदवारी दर्ता गराएका रेशम चौधरी र लक्ष्मण थारुले पनि आफूलाई यो निर्वाचनमा मतदान गर्न पाउनेछैनन्।

उनीहरू दुवै जना टीकापुर घटनामा मुछिएका व्यक्ति हुन्। टीकापुर घटनामा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटनामा संलग्न भएको आरोपमा सरकारले थारुलाई पुर्पक्षका लागि थुनामा राखेको छ भने चौधरी फरार छन्। 

टीकापुर घटनामा संलग्न भएको भन्दै रेशमविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी मुद्दा जिल्ला अदालतमा परेको छ। घटनाका मुख्य योजनाकार भनिएका रेशम दुई वर्षदेखि फरार छन्।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि थारुको मतदाता नामावली धनगढी उपमहानगरपालिका र क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका चौधरीको नामावली टीकापुर नगरपालिकामा रहेको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.