|

घनश्याम भुसाल, विचार र दर्शनको बहस चलाउने अभियन्ता हुन्। एमाले उपमहासचिव भुसाल पार्टीभित्र वैचारिक बहस चलाउने नेताका रुपमा चिनिन्छन्। भुसाल रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनी विकासका एजेन्डा र नेपाली राजनीतिको सुखद भविष्यको योजना लिएर मतदातामाझ पुगेका छन्। भुसालले बिहानैदेखि थालेका छलफल, भेटघाट, घरदैलो, सभाहरु सकेर घर फर्किंदा रात परिसक्छ। प्रस्तुत छ, यही व्यस्त समयकाबीच भुसालसँग वर्तमान राजनीतिक घटनाहरु, चुनावपछिको मुलुकको अवस्थालगायतका विषयमा थाहाखबरका लागि सी. पी. खनालले गरेको कुराकानीको अंश :

देश निर्वाचनमय छ, निर्वाचनपछि मुलुकको राजनीतिले कुन मोड लिन्छ?

सबैभन्दा पहिला त हाम्रो गठबन्धनको कुरा छ। हामीले कति गर्न सक्छौं भन्ने कुरा हो। सम्भावनाको हिसाबमा नेपालमा स्थिर सरकारको सम्भावना रहेको छ। त्यसको सबभन्दा पहिलो प्रभाव हाम्रो वैदेशिक सम्बन्धमा पर्न जान्छ। खासगरी भारतसँगको सम्बन्ध सन्तुलित बनाउनका लागि समानतामा आधारित हुनका लागि सहयोग गर्नेछ। विवाद समाधानका लागि विवादरत पक्षहरु दुवै बलिया हुनुपर्छ। योभन्दा अगाडि हामी कमजोर थियौं, अहिले अचानक बलियो भयौं भन्ने त होइन। तर विभिन्न राजनीतिक कारणले स्थिरताका साथ हिँड्न पाइरहेको थिएन।

वाम गठबन्धनको सरकार बन्दा त्यो एउटा स्थायित्वसहितको बलियो सरकार हुनेछ। भारतसँग राम्रो सम्बन्ध हुनेछ। यस हिसाबले यो ऐतिहासिक पनि हुनेछ। चीनसँग राम्रो सम्बन्ध छँदैछ, भारतसँग पनि राम्रो सम्बन्ध बनाउने हो। भारतका केही सुरक्षा चासोहरु छन् र त्यसलाई बलियो सरकारले सम्बोधन गर्न सक्दछ। त्यो भनेको हतियार ओसारपसारको कुरा होला, आवतजावत, जाली नोटलगायतका कुराहरु रहन सक्छन्। यी चासोहरुलाई त म जायज नै मान्छु। यसलाई हामीले छिमेकीको नाताले सम्बोधन गर्नुपर्छ। त्यसका लागि हामीकहाँ एउटा बलियो सरकार चाहिन्छ। स्थिर सरकार र भारतसँगै विश्वका सबै मुलुकसँग राम्रो सम्बन्ध हुँदा हामी समृद्धिका लागि राष्ट्रिय एकताका साथ अघि बढ्न सक्छौं। यस अर्थमा हामी एउटा नयाँ इतिहास कोर्ने संघारमा छौं।

यसअघि पनि त विभिन्न दलहरुबीच गठबन्धन सरकार बने, बहुमतीय सरकारहरुले पनि खासै त्यस्तो परिवर्तन ल्याउन सकेनन्। राजसंस्थाले विकास गर्न दिएन भनियो, ०६२/०६३ को आन्दोलनपछि दलहरु नै सत्तामा शक्तिसहित पुगे, बहुमतीय सरकार हुँदैमा परिवर्तन होला त?

यो खालको आशंका ठीक हो। लोकतन्त्र र गणतन्त्रमा राष्ट्र स्थिर हुँदैन भन्ने एउटा आशंका रहेको छ। यो आशंका बलियो सरकार दिएर हटाउने तयारीमा हामी रहेका छौं। राजतन्त्र गएपछि देश स्थिर हुँदैन भन्ने भ्रमलाई पनि हामी चिर्दैछौं। यसर्थ हामी नयाँ इतिहास कोर्नेछौं। राजतन्त्र आफै पनि अस्थिरताबाट नै सुरु हुँदै गएको थियो। अब हामीले अन्ततः जित्ने अवस्था आएको छ। हामी नयाँ मोडमा उभिएका छौं। यसपछि बन्ने वामहरुको सरकार पाँच वर्ष टिक्छ र यसले समृद्धिको मार्गमा मुलुकलाई लैजान्छ। यसमा शंका गर्नुपर्दैन।

दलहरुले त यसो भन्न थालेको धेरै वर्ष भइसक्यो, चुनावको समयमा त झन् अनेकौं सपनाहरु बाँडिएका छन्, आज सबै गर्छौं भन्ने तर भोलि अनेक बहाना गरेर सकिएन भन्ने त हैन? 

इतिहासलाई हेर्दा सात सालको आन्दोलनमा हाम्रो सहभागिता नै शून्य बराबर थियो। त्यो समयमा हामीले वक्तव्य मात्र जारी गर्‍यौं। १५ सालमा संसदमा उपस्थिति रह्यो। ०३६ सालमा हामी आन्दोलनमा धेरै अगाडि आइसकेका थियौं। ०४६ सालको आन्दोलन त संयुक्त नै भयो। ०६२/०६३ सम्म एजेण्डालगायतका कुराले गर्दा हामी अगाडि आयौं। यो क्रम हेर्दा हामी निरन्तर अगाडि बढिरहेका छौं। यो बढेको शक्तिले अब स्थिर सरकार दिन तयार भयो भन्नु एउटा प्रमाण हो।

तपाईंले राष्ट्र निर्माणको क्रममा पार्टी गुटका सुकेधन्दाहरु अवरोधको रुपमा आए भन्नुभएको छ, फेरि पनि त्यस्तै पार्टी गुटका सुकेधन्दाको सिकार हुने त हैन समृद्धिको सपना? 

अहिले गुटहरु गुटमा मात्र सीमित छैनन्। पार्टीभित्र गुट, गुटभित्र उपगुट रहेका थिए। हिजो मान्छे पार्टीमा थियो, त्यसपछि गुटमा र उपगुटमा पुग्यो। आजभोलि मान्छेहरु स्वतन्त्र रहेका छन् र यस अर्थ गुटहरुको भविष्य अब छैन। नेपाल बनाउने संगठनले गुटहरुको सत्यनाश गर्नेछ र हामी एउटा विचारमा आधारित पार्टीमा समावेश हुनेछौं र, विचारकै कारणले पार्टीप्रति सहमति र असहमति हटाउने छ।

तपाईंले चुनावपछि वाम गठबन्धनको सरकार बन्छ भन्नुभयो, यो सरकार कुन शैलीको सरकार हुनेछ?

यो लोकतान्त्रिक हुनेछ। सामाजिक न्यायका साथ समृद्धिको बाटोमा जानेछ र समाजवादतर्फ जानेछ। लोकतान्त्रिक तबरबाट नै समाजवाद ल्याउने खालको हुने छ।

अब नेपालमा साम्यवाद आउने भयो, कम्युनको अभ्यास गरिँदैछ, यो गठबन्धनले अधिनायकवाद ल्याउँदैछ भन्ने चर्चाहरु सुनिन्छन् नि!

यो चाहिँ कम्युनिष्टहरु आए भने बुढाबुढीलाई गोली हान्छन् भन्ने जस्तो हो। चुनावबाट आएका पार्टीले कहीँ पनि अधिनायकवाद लाद्ने प्रयास गरेनन्। यो नै त्यसको प्रमाण हो। एक त हामी आफै लोकतन्त्र ल्याएका पार्टी हौं। हामीले आफै लडेर ल्याएको हो लोकतन्त्र। अब भन्नुस्, त्यसरी लडेर ल्याएको लोकतन्त्र, आफ्नै सन्तान मार्न सकिन्छ? त्यस्तो कुरा हुँदैन।

चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन छ। चुनावपछि पार्टी एकता गर्ने भनिएको छ। एकतापछि बन्ने पार्टीले कुन सिद्धान्त बोक्छ, कुन वादमा आधारित हुन्छ?

माओवादी केन्द्रले माओवादको प्रयोग गर्‍यो। हामीले समाजवादको अभ्यास गर्‍यौं। जनताको बहुदलीय जनवादका लागि प्रयास भयो। अब हामी मार्क्सवादी समाजवादी भएर अगाडि जान्छौँ।

तपाईं मार्क्सकै कुरा बोक्ने, समाजवादकै कुरा बोक्ने भन्नुहुन्छ, यी वादहरु बोकेर हुँदैन भनेर केही शक्तिहरु लागिरहेका छन् नि!

शक्ति नै नभएको ठाउँमा पो नयाँ शक्ति आउनु अर्को कुरा हो। यहाँ यति धेरै शक्ति छन्। थप शक्ति बन्न आउने कुरा सफल होला जस्तो लाग्दैन। यहाँ सबै शक्तिहरु असफल भएको प्रमाणित भएको भए अर्को शक्ति आउन सम्भव थियो। पुराना शक्ति बहुसंख्यक हुँदा बाह्य समूहको भविष्य देखिँदैन। नयाँ त नाम मात्रै हो।

अब तपाईंको चुनावी अभियानको कुरा गरौं, कस्तो चल्दैछ रुपन्देही ३ मा चुनावी अभियान?

ठीकै छ, अहिलेसम्म सामान्यै छ। यति दिनको प्रयासपछि ट्रयाकमा आइपुगेका छौं। विजय सुनिश्चित छ। त्यो विजयलाई अझै प्रभावकारी बनाउन लागेका छौं। गठबन्धनले धेरै सहज भएको छ। अर्को सजिलो, कांग्रेस मैदानमा छैन, यसैले सहजै जित्ने अपेक्षा छ। कांग्रेसका साथीहरुले पनि मलाई साथ दिनुभएको छ। सबैको साथ र सहयोग छ।

तपाईंलाई धेरैजसो बहसमा, सिद्धान्तमा, दर्शनमा घोत्लिरहने, त्यसैमा रमाउने तर जनतामाझ कम जाने र चुनावी रणनीति बनाउनतर्फ त्यति चासो नदिने भन्ने आरोप छ नि!

त्यो आरोपमात्रै हो। चुनाव भनेको झुटो बोल्ने, चरित्र हत्या गर्ने, राज्य लुटेका पैसाले कार्यकर्ता पाल्ने, साम्प्रदायिक कुरा फैलाउने लगायतलाई समाजले चुनावी क्षमता भन्छ होला। त्यस अर्थमा म कमजोर छु, म त्यस्तो केही पनि जान्दिन। तर सामाजिक मूल्यको, समाजको, विकासको, समृद्धिको, जनताको जीवनको कुरा मैले गरेको छु। मेरा एजेण्डा नै यिनै हुन्। म झुक्याउन, सक्ने–नसक्ने कुरा भन्दै हिँड्न म सक्दिन। मेरो यो कमजोरी नै हो।

समाजले बुझ्छ त यो कुरा?

समाज सचेत भइसक्यो। समाजलाई केही कुरा बुझाउनु पनि थियो। मैले बुझाउने प्रयास पनि गरेको छु। अघिल्लो चुनावमा ४६ मतले हारेँ, मेरो जति मत आयो, के त्यो मत जनमत होइन त। त्यसैले म बनावटी कुरा नगरी वास्तविकतामा आधारित कुरा गरिरहेको छु, यो कुरा समाजले बुझ्छ। 

तपाईंका एजेण्डा के हुन्?

खासगरी मुलुकलाई समृद्ध बनाउने नै मूल कुरा हो। हामीले राजनीतिक परिवर्तनहरु धेरै गर्‍यौं। अब मुलुकको समृद्धिका लागि गर्नुपर्ने बेला आएको छ। यसलाई केन्द्रविन्दुमा राखेर मेरो अभियान जारी छ। रुपन्देही क्षेत्र नं. ३ बाट उम्मेदवार भएका हिसाबले केही विकासका योजनाहरु पनि ल्याएको छु। वाम गठबन्धनको सरकार बनेपछि ती योजनाहरु पूरा हुनेछन्। यो क्षेत्रको विकासका हिसाबले हेर्ने हो भने लुम्बिनीलाई केन्द्रमा राखेर विकास हुनेछ। लुम्बिनीमा मूर्ति राखेर मात्र हुँदैन। त्यहाँ आउने पर्यटकहरुलाई व्यवस्थित बनाउनु आवश्यक छ। होटल, विमानस्थल लगायतका कुराहरु हुन्छन्।

अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन हुन्छन्। जसले आन्तरिक आम्दानीमा पनि वृद्धि गर्नुपर्नेछ। क्रिकेटका लागि प्रोत्साहनलगायतका कुराहरु आवश्यक छ र सकिन्छ पनि। ५–१० वर्षभित्रमा लुम्बिनी क्षेत्र नमुना बनाउँछौं। रुपन्देहीलाई विकासको केन्द्र बनाउनुछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, बेथरी–बेलवास नहरसहितको हरित सडक आयोजना, कोरला नाकादेखि सुनौली सडक एवं कालीगण्डकी करिडोर आयोजना, हुलाकी राजमार्गलाई चार लेन बनाउने, सिद्धार्थनगरमा निर्माणाधीन क्रिकेट स्टेडियम, केरुङ–पोखरा–लुम्बिनी रेलमार्गजस्ता आयोजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने काम पनि हामीले गर्नेछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.