बमको त्रासले होटलको बुकिङसमेत प्रभावित

|

काठमाडौं : अमेरिकी सरकारले नेपालमा चुनावको बेला हिंसात्मक घटना हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई आग्रह गरेको छ। अमेरिकी दूतावासले बिहीबार सूचना जारी गर्दै नेपालमा जुनसुकै बेलामा बन्द, विरोध प्रदर्शन हुनसक्ने र त्यसमा सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्ने हुनाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेको हो।

ठूलो सभा वा प्रदर्शन भएको स्थल वरपर नजानुहोला, प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छ। चुनाव अगाडि र चुनावको समयमा यस्ता धेरै घटना हुन सक्छन्' अमेरिकी दूतावासले भनेको छ 'शान्तिपूर्ण प्रदर्शन पनि तुरुन्तै हिंसात्मक हुन सक्नेछ।'

उम्मेदवारलाई लक्षित गरी नेपालका केही ठाउँमा बम पड्केपछि अमेरिकाले नेपालमा रहेका पर्यटक र आफ्ना नागरिकलाई हिँडडुलमा सचेत हुन आग्रह गरेको हो। नेपालमा नोभेम्बर २६ (मंसिर १०)  र डिसेम्बर ७ (मंसिर २१) गते गरी दुई चरणमा हुने निर्वाचनको क्रम बुथ नजिक नजान पनि दूतावासले सचेत गराएको छ।

'काठमाडौंस्थित अमेरिकी राजदूतावास निर्वाचन पूर्व, निर्वाचनका क्रममा र निर्वाचनपछि नेपालमा रहेका अमेरिकी नागरिकहरुलाई मतदान केन्द्र, राजनीतिक दलका कार्यालयहरु, उम्मेदवारका र्‍यालीहरु र राजनीतिक दलहरुले आह्वान गरेका बन्द तथा आन्दोलनबाट टाढै रहन आग्रह गर्दछ' दूतावासको सूचनामा भनिएको छ।

अमेरिकी दूतावासले चुनावको दिन सार्वजनिक सवारी साधन नचल्ने हुनाले त्यस दिन भ्रमणमा ननिस्कन पनि आग्रह गरेको छ। 'मतदानको दिन नेपाल सरकारले सबै सवारीसाधन चलाउनमा रोक लगाउनेछ। मतदानको दिन सडकमा ननिस्कन अमेरिकी नागरिकहरलाई अनुरोध गरिन्छ। सडकमा निस्के पनि वरपर के भइरहेको छ भन्ने ख्याल गर्नुहोला र सही निर्णय लिनुहोला' दूतावासको सूचनामा भनिएको छ।

बुकिङ रद्ध हुन थाल्यो : होटल ब्यवसायी

देशका विभिन्न ठाउँमा उम्मेदवारलाई लक्षित गरेर बम पड्कन थालेपछि होटलहरुको बुकिङ क्यान्सिल हुन थालेको होटल व्यवसायीहरुको गुनासो छ। होटलहरुको अकुपेन्सी ७५ प्रतिशतसम्म पुगिरहेको बेला केही पर्यटकले बुकिङ क्यान्सिल गर्नु पर्यटन क्षेत्रको लागि राम्रो नभएको होटल संघ नेपाल हानका महासचिव विनायक शाहले बताए।

 'विदेशीलाई रोल्पा भनेको कहाँ काठमाडौं भनेको कहाँ भन्ने थाहा हुँदैन, कुनै एक ठाउँमा बम भेटिएको सूचनाले बुकिङनै क्यान्सिल गरिदिन्छन्' शाहले भने। उनले सरकारले पर्यटक सुरक्षित छन् भन्ने विषयमा जानकारी गराउनुपर्ने शाहले बताए। 'द्वन्द्वकालमा समेत नेपाल पर्यटकको लागि असुरक्षित देशको रुपमा रहेन, अहिले पर्यटकलाई लक्षित गरेर केही हुने हैन यस विषयमा सरकारले जानकारी गराउनुपर्छ' शाहले भने।

२०७२ को भूकम्पको कारण झण्डै एक वर्ष समस्यामा परेको पर्यटन क्षेत्रमा २०७४ पछि भने क्रमिक सुधारमा देखिएको छ। सरकाले यो वर्ष १० लाख पर्यटक नेपाल भित्रने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.