|

काठमाडौंः चुनावका बेला उम्मेदवारसँग सम्बन्धित र उम्मेदवारमाथि नै घटित घटनाक्रमले चुनावी नतिजा नै उल्टाइदिएका पाइन्छ। नेपालमा अहिले चुनावको बेला छ। यही मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुँदै छ। विश्व परिवेशमा पनि चुनावका बेला उम्मेदवारसँग जोडिएका घटनाक्रमले मतदातामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने गरेको पाइन्छ। 

सन् २०१४ मा रिलिज भएको भारतीय फिल्म ‘राजनीति’मा पति अर्जुन रामपालको हत्यापछि उनको ठाउँमा पत्नी क्याट्रिना कैफलाई उम्मेदवार बनाइन्छ। क्याट्रिना सेतो सारी लगाएर चुनावीसभामा सम्बोधन गर्न पुग्छिन् र कारुणिक भाषण दिन्छिन्। जनलहर उनको पक्षमा उर्लिन्छ। उनले चुनाव जित्छिन्। यो फिल्मी कहानी मात्र नभएर यथार्थपरक दृष्टान्त पनि हो। सन् २०१६ को डिसेम्बरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ पार्टी डेमोक्रेटिककी हिलारी क्लिन्टन प्रमुख दाबेदारकै रूपमा रहँदा रहँदै चुनाव हारिन्। त्यसमध्येको एउटा कारण थियो, चुनावी अभियानकै क्रममा ईमेल दुरूपयोग प्रकरणमा उनीमाथि एफबीआईले छानबिन थाल्नु।

क्लिन्टनमाथि आफ्नो व्यक्तिगत ईमेलबाट सरकारी सूचना आदानप्रदान गरेको आरोप थियो। राष्ट्रिय सुरक्षामा क्लिन्टन संवेदनशील नबनेको भन्दै चर्को आलोचना भयो। प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले त्यसलाई उनीविरुद्धको मसला बनाएर प्रचारसमेत गराए। चुनावको अन्तिम घडीमा यस्तो आरोपमा एफबीआईले क्लिन्टनलाई शंकाको घेरामा राख्दा मतदाता बिच्किएको उनका समर्थकको तर्क छ। यसअघि डेमोक्रेटिकबाटै बाराक ओबामाले दुई शासनकाल चलाएका थिए। यसर्थ पनि क्लिन्टनको जीत सुनिश्चित रहेको सर्वत्र आँकलन थियो। त्यसो त रुसले भोटिङ सिस्टमलाई नै ह्याक गरेर रिपब्लिकनका ट्रम्पलाई जिताएको पनि चर्चा छ। अपुष्ट यो कुराको अझै छानबिन चलिरहेको छ। नेपाली राजनीतिक इतिहासमा पनि यस्ता घटनाक्रमहरू छन्, जसले चुनावी नतिजामा प्रभाव राख्ने गरेको छ।

०५१ को चुनावमा विद्यादेवी भण्डारीको जीत
नेकपा एमाालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि उनकी पत्नी विद्यादेवी भण्डारीले सहजै चुनाव जितेको इतिहास छ। उनले २०५० साल जेठ ३ गते पति मदन भण्डारीलाई गुमाइन्। पार्टी महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा कार दुर्घटनामा निधन भएको थियो। मदन र जीवराजको निधनको कारण अझै रहस्यको गर्भमै छ। पतिको निधनपछि सोही वर्ष काठमाडौं क्षेत्र नम्बर– १ बाट विद्यादेवी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। भण्डारी वर्तमान राष्ट्रपतिसमेत हुन्। विद्यादेवीको व्यक्तित्व राजनीतिक पृष्ठभूमिको रहे पनि प्रभावशाली र लोकप्रिय पतिको निधनले जनमत उनको पक्षमा आउन थप बल पुगेको र मतदाताले उनीमाथि सहानुभूति दर्शाएको विश्लेषण अझै पनि गरिन्छ। 

पति यदु गौतमको हत्यापछि तीर्थाको जीत
०५५ फागुन २१ मा तत्कालीन सशस्त्र विद्रोही माओवादीले नेकपा एमालेका रुकुम जिल्ला सचिव यदु गौतमको हत्या गर्‍यो। गौतम ०५६ को आम चुनावका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत थिए। चुनाव नलड्न माओवादीले धम्क्याउँदा पनि उनी निडर रहे। संसदीय व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको माओवादीले सोही व्यवस्थाको चुनावका उम्मेदवार बनेका गौतमलाई बाँकी राखेन। गौतमको निधनपछि एमालेले रुकुममा उनकै पत्नी तीर्था गौतमलाई उम्मेदवार बनायो। जनमत तीर्थाको पक्षमा आयो। उनले चुनाव जितिन्।

बर्दियामा गोविन्दको हत्यापछि पत्नी काशीको उम्मेदवारी
०५६ कै चुनावमा बर्दियामा नेपाली कांग्रेसले तत्कालीन जिल्ला सचिव गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार तोक्यो। तर पौडेलले चुनाव लड्न पाएनन्। ०५५ साउन २४ गते तत्कालीन माओवादीले उनको हत्या गर्‍यो। कारण थियो, संसदीय व्यवस्थाको चुनाव लड्नु। हत्यापछि उनको ठाउँमा उनकै पत्नी काशी पौडेललाई कांग्रेसले उम्मेदवार घोषणा गर्‍यो। श्रीमान गुमाएकी काशीले सहजै चुनाव जितिन्।

दुई दिनअघि चुनावी मैदानमा उत्रिएकी कमला
नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटीका तत्कालीन सदस्य एवं संविधानसभा निर्वाचन २०६४ मा सुर्खेत क्षेत्र नम्बर– १ बाट उम्मेदवार बनेका ऋषिप्रसाद शर्माको निर्वाचन प्रचारकै क्रममा हत्या भयो। २८ गते मतदान तोकिएकोमा प्रचार प्रसारमा रहेका ऋषिको त्यसको ठीक दुई दिनअघि ०६४ चैत २६ गते गोली प्रहार गरी हत्या भयो। शर्माको हत्या उनकै अंगरक्षक मोतीलाल विकले गरेको अदालतले फैसला गर्‍यो। वि.क. अहिले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय भोगिरहेका छन्। सिउँदो पुछिएको २४ घण्टा पनि नबित्दै ऋषिकी पत्नी कमला शर्मा सोही क्षेत्रबाट संविधानसभा सदस्यको उम्मेदवार बनिन्। श्रीमानको हत्याको ठीक १३ दिनपछि (चैत २८ गतेको चुनावको मतपरिणाम आएको दिन) उनी छ हजार मतान्तरले विजयी भइन्। उनले १८ हजार ८०४ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालबहादुर घलेले १२ हजार ३३५ मतमा चित्त बुझाए।

पतिको हत्यापछि नेजमा चुनिइन् सांसद
०७० असोज १८ गते बारा क्षेत्र नम्बर– ४ (पुरानो संरचनाअनुसार) का लागि नेकपा एमालेका उम्मेदवार महमुद आलमको हत्या भयो। दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिएको २४ घन्टा नपुग्दै बाराको परवानीपुरस्थित चवासती खाद्य उद्योग अगाडि आलमको टाउकोमा गोली प्रहार भयो। गम्भीर अवस्थामा काठमाडौंमा उपचारकै क्रममा उनको मृत्यु भयो। आलमको हत्यामा एमालेकै नेता रामचन्द्र प्यासी मुख्य योजनाकार ठहरिए। प्यासी अहिले नख्खु कारागारमा सजाय काटिरहेका छन्। 

आलमको हत्यापछि उनकै पत्नी नेजमा खातुनलाई एमालेले त्यहाँ उम्मेदवार बनायो। नभन्दै पतिवियोगमा परेकी नेजमालाई जनताले साथ दिए र झण्डै दोब्बर मतले उनी विजयी भइन्। नेजमाले १२ हजार ३६१ मत पाउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार गुप्ताले सात हजार ३९३ मत पाएका थिए। 

बारा क्षेत्र नम्बर– ४ मा त्यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावको नतिजा हेर्ने हो भने नेजमाका पति महमुद आलम तत्कालीन तमलोपाका जितेन्द्र सोनलसँग पराजित भएका थिए। चुनाव जित्ने निश्चित देखेर उनका विरोधीले आलमको हत्या गरेको पनि बताइन्छ। तर आलम जीवितै रहेको अवस्थामा उनकी पत्नी नेजमा उम्मेदवार रहेको भए चुनाव जित्ने सम्भावना रहन्थेन। त्यहाँनेर सेन्टिमेन्ट भोटले काम गरेको देखिन्छ। किनकि नेजमा त्यसअघि सक्रिय राजनीतिमा थिइनन्।

शोकलाई शक्तिमा बदल्दै प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको हृदयाघातका कारण आइतबार अल्पायुमै निधन भयो। चार वर्षअघि क्यान्सरपीडित छोरी ज्ञानुलाई गुमाएको प्रचण्ड परिवारले छोरा प्रकाशलाई पनि गुमाउँदा सम्हालिन नसकेको अवस्था छ। प्रचण्डले आफूले ‘छोरा सँगसँगै एउटा असल साथीसमेत गुमाएको’ बताएका छन्। यसले पनि प्रचण्डले वियोगसँगै प्रकाशको रिक्तता खड्किने संकेत गरेको बुझ्न सकिन्छ। 

चितवनमा मंगलबारका लागि पूर्व निर्धारित चुनावी सभासमेत नरोकेर उनले शोकलाई शक्तिमा बदल्ने संकेत त गरे तर त्यहाँ पनि उनको पीडा छरपष्ट पोखियो। प्रचण्ड चितवन क्षेत्र नम्बर– ३ बाट चुनावी मैदानमा छन्। 

मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दिएलगत्तै प्रचार प्रसारमा उनलाई प्रकाशले सघाउँदै आएका थिए। तर प्रकाशको निधनपछि उनको घरदैलो कार्यक्रम भएको छैन। प्रचण्डले शोकलाई शक्तिमा बदल्ने संकेत गरिसके तर चितवन क्षेत्र नम्बर– ३ का जनताले यसमा साथ दिन्छन् वा दिँदैनन्, त्यो भने हेर्न बाँकी छ। संविधानसभा चुनावदेखि स्थानीय चुनावसम्म आउँदा चितवन– ३ मा वाम गठबन्धनका दुवै पार्टीको मत जोड्दा प्रचण्डको जीत सहज देखिन्छ। तर ०७० को संविधानसभा चुनावमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएको क्षेत्र हो त्यो। उनै पाण्डे अहिले प्रचण्डका प्रतिस्पर्धी छन्। राष्ट्रिय राजनीतिक छवि हुँदाहुँदै पनि प्रचण्डलाई त्यहाँ राप्रपाका पाण्डेले चुनौती दिइरहेका छन्। 

प्रचण्ड र पाण्डे आरोप पत्यारोपमै उत्रिएर चुनावी प्रचारमा रहेकै बेला प्रचण्डका छोरा प्रकाशको निधनले चितवन– ३ सुस्ताएको छ। आफ्नै घरदैलोमा आएर बाबुका लागि भोट मागेका प्रकाशलाई त्यस क्षेत्रका मतदाताले झलझली सम्झिरहेका छन्। लोभ र पीडाको अनुभूति आँखाले देखेपछि नै सबभन्दा बढी हुन्छ। त्यस क्षेत्रका मतदातामा पनि त्यही भएको हुनसक्छ। तर विगतमा जस्तो शोकाकुल परिवारले सहजै चुनाव जितेको दृष्टान्ते चितवन– ३ मा पनि दोहोरिएला या नदोहोरिएला भन्ने चाहिँ २१ गतेको चुनावपछि नै थाहा होला। पुत्रशोकमा रहेका प्रचण्डका लागि त्यस क्षेत्रका मतदाताको मत पक्ष वा विपक्ष केमा जाला भन्ने आम चासो भने अवश्य छ।

पति वियोगमा रहेकी बिना जनताको मत खोज्दै 
प्रकाशको निधनले यो चुनावमा पत्नी बिना मगरलाई पनि असर पार्ने देखिन्छ। प्रतिनिधिसभा निर्वाचनका लागि कन्चनपुर क्षेत्र नम्बर– १ की उम्मदेवार बिना पतिको निधनले बिक्षिप्त छन्। चुनाव प्रचार प्रसारका लागि उतै रहेकी उनी पतिको निधनको खबर पाएलगत्तै काठमाडौं आइपुग्दा देखिएको हालतले उनमा के बितिरहेको छ भन्ने सबैले सहजै महसुस गर्न सक्थे आइतबार बिहान नर्भिक अस्पताल परिसरमा।

सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्ने, जनताको घरदैलोमा जानुपर्ने, हाँसीहाँसी बोल्नुपर्ने चुनावको मुखमा, पति गुमाउनुको पीडा उनले सम्हाल्न नसकेको देखिन्छ, बिनाको हालत हेर्दा। तर सिउँदो पुछिएकी बिना बुधबारदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको लाजिम्पाट स्रोतले बतायो। उनलाई चुनाव जित्नुपर्छ भन्ने छ। तर पतिवियोगमा रहेकी बिनालाई त्यस क्षेत्रका मतदाताले कसरी मूल्यांकन गर्छन् भन्ने थाहा पाउन चुनावी परिणाम कुनै पर्ला।

वाम गठबन्धनको कुल मतले कन्चनपुर– १ मा बिनाको पक्षमा जनाधार देखाउँछ। तर परिणाम नआएसम्म चुनावी नतिजा निक्र्यौल गरेर यसै भन्न सकिने अवस्था हुँदैन। त्यसो त पीडाका बेला पीडितलाई साथ दिने आम नेपाली प्रवृत्ति पुस्तौँ पुरानो हो। यो चुनावमा त्यो दोहोरिने नदोहोरिने भन्नेचाहिँ यसै महिना थाहा होला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.