|

रुकुम : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सारिदैछ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत प्रचार गरिरहेको बताएका छन्। नेपाली कांग्रेसले रुकुम सदरमुकाम मुसिकोटमा बिहबार गरेको सभामा उनले आफू चुनाव गर्न प्रतिवद्ध भए पनि ओलीले चुनाव सारिदैछ भन्न नछोडेकोमा आक्रोश व्यक्त गरे। 'उहाँले चुनावको भोलिपल्ट पनि चुनाव सारिदैछ भन्नुहुन्छ' देउवाले भने 'म चुनाव गराउँछु भन्छु उहाँ चुनाव सारिदैछ भन्नुहुन्छ किन हो कुन्नि?

प्रधानमन्त्री देउवाले कम्युनिष्ट पार्टीहरुले जितेमा मुलुकमा जनताले अन्याय भयो भन्नसमेत नपाउने दावी गरे। स्वतन्त्र रुपमा हिडडुलदेखि लेख्न, बोल्न समेत नपाइने कम्युनिष्ट शासन विश्वबाट समेत हराइरहेको उनको भनाइ रहेको छ। ‘स्वतन्त्र रुपमा जनतालाई जिउने व्यवस्थाको स्थापना गर्ने पार्टी कांग्रेस मात्र हो’उनले भने, ‘२००७ सालदेखि जनताको पक्षमा लडेको पार्टीलाई यसपटक पनि भोट हालेर जिताई स्वतन्त्र बाँच्नुहोस्।’

प्रधानमन्त्री देउवाले सरकार जनताको शान्ति सुरक्षामा प्रतिबद्ध रहेको बताउदै ढुक्क भएर मतदान गर्न सबै मतदाताहरुलाई अनुरोध समेत गरे। अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले बुढिगण्डकी आयोजना नेपाल आफैले बनाउने र त्यसका लागि केहीदिनमै सरकारले निर्णय गर्ने समेत बताए। प्रधानमन्त्री देउवाले बिहीबार नै रुकुम पूर्वको तकसेरामा भएको नेपाली कांग्रेसको चुनावी सभालाई पनि सम्बोधन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.