|

काठमाडौं : अवतारी लामा हुँ भन्दै जुनसुकै रोग पनि निको गर्ने आश्वासन दिएर महिलाहरुमाथि यौन शोषण गर्ने टुल्कु लामालाई प्रहरीले पक्राउ गरेको छ। 

गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तानका नामले चिनिने टुल्कुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाबाट पक्राउ गरेको हो। 

सीआईबीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार लामाले आफू दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा भएको भन्दै जुनसुकै रोग पनि निको पार्ने दैवी शक्ति भएको दावी गर्थे।

१० वर्षदेखि गुम्बा चलाइरहेका लामाले उपचारका लागि गुम्बामा आउने महिलाहरुलाई सुरुमा विश्वासमा पार्ने र पछि डर, धम्की दिएर यौन शोषण गर्थे। प्रहरीले दिएको जानकारी अनुसार उपचारका लागि ठूलो संख्यामा महिला उक्त गुम्बामा आउने गर्थे।

महिलाहरुलाई कोठामा निर्वस्त्र गराई जबरजस्ती यौन सम्पर्क राख्थे। घटना सार्वजनिक गरेमा ठूलो क्षति हुने र पुनः रोग बल्झिन्छ भनेर धम्की दिने गर्दथे। त्यस्तै उपचारको लागि आफूसँग यौन सम्पर्क राख्नुको विकल्प छैन भन्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

फेसबुकमा महिलाका अश्लिल फोटा राख्ने गरेका ५६ वर्षीय लामाले महिलाहरूलाई अरुसँग विवाह गरेमा मृत्यु हुनेसमेत त्रास देखाउने र बारम्बार उनीहरुलाई यौन शोषण गर्ने पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लामाबाट कति महिला पीडित भएका छन् भन्ने अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ। लामालाई सिआइबीले काठमाडौं जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.