|

चितवन : स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण गएको साउनदेखि कात्तिकसम्मको चार महिनामा बिभिन्न जिल्लाबाट चितवनमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख बिजयकुमार झाका अनुसार मृत्यु हुनेमध्ये दुई जना चितवनका हुन् भने बाँकी अरु जिल्लाका हुन्। मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेको उनले बताए। झाका अनुसार कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ। असोजमा एक जना, भदौमा २ जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया र एक जनाको स्क्रब टाइफस र डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख झाले बताए। मृत्यु हुने धेरै बिरामीलाई दुवै रोगको संक्रमण देखिएको थियो।

३ सय ५५ जनामा स्क्रब टाइफस

गएको चार महिनामा उपचारका लागि आएका बिरामीमध्ये ३ सय ५५ जनामा स्क्रब टाइफस देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका १ हजार ४ सय ८५ जनामध्ये ३ सय ५५ जनामा स्क्रब टाइफस देखिएको हो।

केसीका अनुसार भरतपुर अस्पतालमा १ सय १७ जना, चितवन मेडिकल कलेजमा १ सय ९ जना, नारायणी सामुदायीक अस्पतालमा १ सय ३ जना, नारायणी डाइगोनेसिसमा १३ जना, बकुलहर रत्ननगर अस्पतालमा ९ जना, मनकामना अस्पतालमा २ जना र सेन्ट्रल अस्पताल भरतपुरमा २ जनामा संक्रमण भेटिएको हो।

टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरीपरी मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन्। गत आर्थिक वर्षको चार महिनामा जिल्लाका अस्पतालहरुमा आएका बिरामीमध्ये १ हजार ३ सय ९६ जनाको स्क्रब टाइफस परीक्षण गरिएकोमा चार सय ५३ जनामा संक्रमण देखिएको थियो।

कसरी सर्छ स्क्रब टाइफस?

मुख्यगरी एक प्रकारको संक्रमित (माइट) किर्नाले टोकेमा यो रोग लाग्छ। यो जुम्राजस्तै तर सूक्ष्म हुन्छ। यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ। त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ।

डेंगुको पनि संक्रमण

साउनदेखि कात्तिकसम्म ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको केसीले जानकारी दिए। उनका अनुसार उपचारका लागि आएका बिरामीहरुमध्ये ९ सय ८० जनाको डेंगु परीक्षण गरिएको थियो।

यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ। खासगरी एडिज प्रजातिको लामखुट्टे जोखिमपूर्ण हुन्छ। गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ। गत आर्थिक वर्षको चार महिनामा २ हजार २ सय ५ जनाको डेंगु परीक्षण गरिएकोमा ६ सय ५१ जनामा संक्रमण देखिएको थियो। 

कसरी सर्छ चिकनगुनिया?

चिकनगुनियाको संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यी लामखुट्टेले डेँगु भाइरससमेत सार्छ। यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन्। चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने, हाड तथा जोर्नी दुख्ने लगायतका लक्षण देखापर्छन्।

गत आर्थिक वर्षको चार महिनामा स्क्रब टाइफसका कारण चार जना र डेंगुका कारण एक जनाको मृत्यु भएको थियो। यस बर्ष भने यो संख्या दोब्बर बढेको हो।यस वर्षको चार महिनामा पाँच जनामा चिकन गुनियाको संक्रमण देखापरेको छ। गत बर्षको यसै अबधिमा दुई जनामा मात्र संक्रमण देखा परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.