|

रसुवा : रसुवामा एमालेका कार्यकर्ताले रकम संकलन गरी जग्गा किनेर सुकुम्बासीलाई वितरण गरेका छन्। नेकपा एमाले रसुवाका नेतृ तथा गोसाइकुण्ड गाउँपालिकाका उपाध्यक्ष कारग्याल्मो तामाङ, बृद्धिम गाउँ कमिटी अध्यक्ष काले तामाङ, बृद्धिमकै एमाले कार्यकर्ता मिङमर तामाङले रकम संकलन गरी जग्गा किनेर बृद्धिममा रहेका सुकुम्बासीहरुलाई हस्तान्तरण गरेका हुन्।

बुधबार सदरमुकाम धुन्चेमा सुकुम्बासी १२ घरपरिवारलाई जग्गाधनी पूर्जा हस्तान्तरण गरिएको छ। बृद्धिममा सुकुम्बासी जीवन बिताउँदै आएका लारक्याल तामाङ, निमाग्याल्बो तामाङ, नोर्चुङ तामाङ, ताङगाङ तामाङ, कार्पु सोनाम तामाङ, लाक्पा तामाङ, टासी तामाङ, ताङगाङ तामाङ, झ्याम्बु छोकेल तामाङ र चुङ्गी तामाङलाई जग्गा दिइएको छ।

नुवाकोटको तिप्लिङबाट आई करिब तीन पुस्तादेखि जिल्लाको बृद्धिममा सुकुम्बासी जीवन बिताइरहेका १२ घरधुरीलाई रकम संकलन गरी जग्गा हस्तान्तरण गरेको नेकपा एमाले बृद्धिमका अध्यक्ष काले तामाङले बताए। उनले भने 'बर्षौदेखि सुकुमबासी जीवन बिताइरहेका उनीहरुलाई बसोबासमा समस्या भएको देखेर हामीले सुरक्षित बास निर्माण गर्न जग्गा उपलब्ध गराएका हौं।' 

करिब ७ लाख रुपैयाँमा ६ रोपनी जग्गा खरिद गरी १२ घरपरिवारलाई चार चार आनाको दरले घडेरी हस्तान्तरण गरेको एमाले बृद्धिमका मिङमर तामाङले बताए। निर्वाचनको मुखमै जग्गा उपलब्ध गराउनु मत आफ्नो पक्षमा पार्ने योजना रहेको भन्दै जिल्लामा एमालेको उक्त कदमको आलोचना भएको छ।  

भूकम्प अति प्रभावित जिल्लामा पर्ने रसुवाका सुकुम्बासीले जग्गा अभावमा आवास निर्माणका लागि अनुदान पाउन सकेका थिएनन्। जग्गा उपलब्ध भएसँगै नयाँ घर बनाउने उनीहरुले अपेक्षा गरेका छन्। निर्वाचनपछि घर बनाउने योजना रहेको नोर्चुङ तामाङले बताए। उनले भने 'आफ्नो नाममा जग्गा नहुँदा अर्काको जग्गामा बस्नुपर्ने बाध्यता रहेको थियो, अब जग्गा पाएसँगै ढुक्क भएर आफ्नै जग्गामा बस्न पाइने भइयो।'

यसअघि भएको निर्वाचनमा जग्गाधनीको रोजाइका उम्मेदवारलाई मत हाल्ने गरेकोमा अब आफै निर्णय गर्ने सुकुम्बासी जीवन बिताइरहेका छोक्याल तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.