|

काठमाडौं : तराई/मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनको दुई दिनअघि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै वाम गठबन्धनआवद्ध दल नेकपा एमालेलाई भ्रष्टाचारमा लिप्त र नश्लीय सोच भएको राजनीतिक दलको रुपमा चित्रण गरेको छ।

विहीबार दुई नम्बर प्रदेशको जलेश्वरमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसहितका नेताहरुले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा वाम गठबन्धन र एमालेप्रति कडा आलोचना र दृष्टिकोण राखेको छ। राजापा नेपालले प्रमख दल नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति सकारात्मक र नकारात्मक दुवै दृष्टिकोण बनाएको छ। तर एमालेप्रति भने कतैपनि सकारात्मक दृष्टिकोण प्रस्तुत गरेको छैन।

माओवादी केन्द्रलाई अस्थिर र लोपोन्मुख दलको संज्ञा दिएको राजपाले केही विषयमा भने उसको राजनीतिक कदमप्रति सकारात्मक दृष्टिकोण अघि सारेको छ। राजपाले हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादी अर्को दर संघीय समाजवादी फोरम र अन्य संसदवादी साना र वामपन्थी दलको बारेमा कुनै पनि दृष्टिकोण प्रस्ट राखेको छैन्।

कांग्रेस संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा संकुचित हुँदै
 

कांग्रेसप्रतिका नकारात्मक दृष्टिकोण :

आन्तरिक रुपमा यो दल अत्यन्तै अलोकतान्त्रिक, मधेसी, दलित/शिल्पी थारु, मुस्लिम, आदिवासी–जनजाति, पिछडावर्ग, अल्पसंख्यक र विपन्न तथा बहिस्करणमा पारिएका समुदायको अधिकार अवसरको विषयमा कांग्रेस राष्ट्रिय दलको भूमिकालाई विर्सिदै एक संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गरेको छ।

नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवादी, नातावाद, सांसद खरिद बिक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिहरुको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलिय फाइदाका लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृतमा देखिएको व्यापक भ्रष्टाचार आदि विसंगतिको भागिदार कांग्रेस नै हुनुपर्ने राजपाको दृष्टिकोण छ।

राजपाले नक्कली कम्युनिष्टहरुको बिगबिगी, विश्व राजनीतिबाट विलुप्त भइसकेको माओवादी विचार र संगठनको नेपालमा पुनः जन्म, विचार शून्य भएको एमालेको आकार अस्वाभाविक विस्तार, जनताले पटक पटक गरेको आन्दोलन र त्यससँग जोडिएको समय र जनधनको क्षति हुनुको जिम्मेवारी कांग्रेसले लिनुपर्छ।

अनेकौं पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दूरगामी सोचको कमी, असक्षम र अदूरदृष्टि नेतृत्व र दल भित्र रहेको गुट–उपगुटको कारणले आफूलाई दिएको भूमिका र अवसरलाई सदुपयोग गर्न कांग्रेसले नगरेको भन्दै राजापाले मधेस आन्दोलन र आन्दोलनमा दर्जनौं निर्दोष नेपालीको ज्यान जानुको पछि कांग्रेस सजग, सचेत र समझदार नहुनुलाई कारण मानेको छ।

कांग्रेसप्रतिका सकारात्मक दृष्टिकोण

राजपाले कांग्रेसलाई नेपालको सवैभन्दा पुरानो, धेरै हदसम्म ठूलो, लोकतन्त्रको हरेक संघर्ष र आन्दोलनमा अग्रपंक्तिमा रहेको बहुदलपछि सबैभन्दा लामो समयसम्म सत्ता बसेको लोकतान्त्रिक दर्शन, अवधारणा र घोषणा पत्र भएको पार्टीको रुपमा चित्रित गरेको छ।

कांग्रेसले लोकतान्त्रिक समाजवादलाई अंगालेको राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्म निरपेक्षता, माओवादीलाई मूलधारमा प्रवेश गराउन र संविधानसभाको निर्वाचन गराउन नेतृत्वदायी भूमिका खेलेकोले उसको प्रशंसा गरिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।

पटक पटकको लोकतान्त्रिक आन्दोलनमा खारिएका नेताहरु, राष्ट्रिय चुनौती सामना गर्नु पर्दा अन्य दलभन्दा लचक र कम्युनिष्टहरु जस्तो पटक पटक बोली नफेर्ने भएका कारणले कांग्रेस र यसका नेतासँग बसेर छलफल गर्न, मुद्दाहरुलाई सरलीकृत गर्न र सहकार्य गर्न कांग्रेस सहज, विचारवान र व्यवहारिक हुँदै आएको उसको निष्कर्ष छ।

एमालेमाथि आरोपै आरोप

नेकपा एमालेप्रति राजपाले तितो पोखेको छ। उसले एमालेलाई आफ्नो औचित्य सावित गर्न नसक्ने, नश्लीय सोचको आधारमा आफ्ना विचार, कार्यक्रम र मुद्धालाई चयन गर्ने गरेको आरोप लगाएको छ। 

राजापाले एमालेलाई चुनावी रणनीति अन्तरगत केही नेताको व्यक्तिगत महत्वकांक्षालाई पूरा गर्न आफ्नै देशको एक तिहाई जनसंख्यालाई विदेशी, विखण्डनकारी र अन्तराष्ट्रिय भनेर अति संवेदनशील शव्दलाई आफ्नो सुविधाको लागि गलत व्याख्या गरेर विभाजन गर्न खोज्ने पार्टी भनेको छ।

एमालेलाई स्वरुपमा राजनीतिक दल देखिएता पनि यो विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास बिरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जान जे पनि गर्न सक्ने जोसँग पनि मिल्न सक्ने पहाडी मूलको उपल्लो जातिहरुको संगठन भएको आरोप राजपाले लगाएको छ।

उसले एमालेको माथिल्लो नेतृत्व पंक्तिका २० जना नेताको अनुहार हेरेमा तयो छर्लङ्ग हुन्छ भन्दै एमाले केही जाति विशेषका पुरुषहरुको बाहुल्यता भएको पार्टी हो भन्ने दृष्टिकोण राखेको छ। एमालेको नेतृत्वमा मधेसी, दलित, मुश्लिम, महिला आदिको उपस्थिति शून्य भएको जातीय र नश्लीय सोच भएको संगठन हो भने भनेको छ।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको क्रममा विश्व बैंकलाई पत्र लेखेर निर्माण गर्न नदिनु, काठमाडौं –निजगढ द्रुतमार्ग निर्माणमा बखेडा झिकेर अवरुद्ध गर्नु, राष्ट्रिय महत्वका आयोजनामा दलीय र व्यक्तिगत फाइदाको आधारमा समर्थन वा विरोध गर्नुले एमाले विकास बिरोधी पार्टी भएको ठहर हुने राजपाको आरोप छ।

एमाले मुखले विकास भने पनि विकासलाई सधै अलपत्र पार्दै आएको, दुई जिब्रे संगठन भएको, नेपाली जनताको गरिबी, अशिक्षा, अवचेतना, राज्यले प्रदान गरेको सेवा र सुविधामा पहुँचको कमी, जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्नुको साटो त्यो भित्र खेल्दै विपन्न वर्गलाई सम्पन्नताको झुटो सपना बाँड्ने गरेको राजपाले आरोप लगाएको छ।

राजापालाई विशुद्ध सत्ताको लागि राजनीति गर्ने र सत्ता प्राप्तिको लागि वा सत्तामा रही रहन जो सँग जस्तोसुकै मुल्यमा तालमेल गर्न पछि नपर्ने, गरिब र धनीबीच फाटो ल्याउने, जनताको मतको मात्र प्रयोग गर्ने पार्टी एमाले भएको आरोप लगाएको छ।

राजपाले एमालेको समर्थनमा दिएको हरेक मत समावेशिता, विकास, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको विरोधमा स्वत जाने निश्चित भएको निष्कर्ष निकालेको छ।

माओवादी लोपोन्मुख दल

राजपाले माओवादी केन्द्रलाई पार्टीको नाम, आकार र स्वरुप परिवर्तन भइरहने, कुन पार्टीमा विलय हुने हो भन्ने निश्चित नभएको, कुनै मुद्दामा टिक्न नसक्ने, पटक पटक आन्दोलनमा जाने तर विनाकारण फर्कने, द्रुत गतिमा सहयात्री दल फेरि रहने हालका दिनमा अस्तित्व नै मेटिने अत्यन्तै अस्थिर लोपोन्मुख दलको संज्ञा दिएको छ।

उसले दोस्रो संविधानसभामा आफ्नो उपस्थिति कमजोर भएपछि विचलित भएर जायज र नाजायज सबैसँग सहकार्य गर्दै हिँड्ने अत्तालिएको, अविश्वासिलो दल भएकै कारण कयौं पक्षबाट दुई दशकमा १७ हजार बढी नेपालीको जीवन व्यर्थ गुमाएको दोष माओवादीले लिनुपर्छ भनेको छ। 

माओवादीप्रतिको सकारात्मक दृष्टिकोण

राजपाले माओवादी केन्द्रलाई नेपालमा गणतन्त्रको प्राप्तीमा, जनताको विचारोदयमा, समावेशिताको मुद्धा उठान गर्ने क्रममा केही हदसम्म पहिलो संविधानसभामा सकारात्मक र परिवर्तनका मुद्धालाई मजबुत गर्न योगदान दिएको पार्टी भनेर पनि चित्रित गरेको छ।

वाम गठबन्धनमाथि आलोचनै आलोचना

राजपाले वाम गठबन्धनलाई कम्युनिष्टहरुको अवसरवादी मिलन भनेको छ। चुनावको मुखमा दुई कटु सम्बन्ध भएका कम्युनिष्ट नामधारी संगठनलाई वाम गठबन्धन भन्नु वाम शब्दकै अपमान गरेको निष्कर्ष उसले निकालेको छ।

विपन्न र अल्पसंख्यक समुदायको समृद्धिको कुरा गरे पनि वाम गठबन्धनभित्रका दुवै दल व्यक्ति हत्याबाट उठेर आएको,त्यसमध्ये एउटा संसद र अर्को जंगलबाट देशलाई दशकौं पछि धकेलेर गरिबको मत प्राप्त गरेर तिनलाई झन् गरिब बनाएका र केही मतको लागि विदेशीको क्रिडास्थल बनाउन पछि नपर्ने दल भनी राजपाले आलोचना गरेको छ।

उसले उपल्लो जाति र वर्गका नेताको मात्र हालिमुहाली भएको संगठनहरुको गठजोडलाई वाम गठबन्धन भन्न नसकिने भन्दै यो एउटा नेता पुन प्रधानमन्त्री बन्ने सपना र अर्को नेता राष्ट्रपति बन्ने महत्वाकांक्षका कारण सिद्धान्तको लेसमात्र पनि उपस्थित नभएको अत्यन्तै अल्पकालीन र अवसरवादी राजनीतिक हथकण्डा भएको आरोप लगाएको छ।

दुई व्यक्तिको स्वार्थपूर्तिको लागि एमालेको ४० प्रतिशत र माओवादीको ६० प्रतिशत नेतृत्व वर्गको राजनीतिक जीवनसँग खेलवाड गरेर गठबन्धन बनाइएको आरोप राजपाको छ। उसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतत्व गर्नसाथ सेनामाथि हात हालेको र प्रधानमन्त्रीबाट हटेछि वाईसीएलको बलमा काठमाडौं घेरेको आरोप लगाएको छ।

केपी ओली नेतृत्वको सरकारमा ६ जना उपप्रधानमन्त्री बनाएको, अन्य दलसँग दम्भ देखाएको, मौका पाएमा फेरि पनि तानाशाही लाद्ने वा अधिनायकवादको अध्यास गर्ने दुस्साहस गर्न गठबन्धनका दल पछि नपर्ने आरोप लगाएका छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.