|

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ लमजुङ 'ख'बाट प्रदेशसभाको प्रत्यक्षतर्फको चुनाव लड्दै छन्। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता गुरुङ प्रदेश नम्बर- ४ को मुख्यमन्त्री बन्नेगरी वाम गठबन्धनका साझा उम्मेदवार हुन्। 

चार दशकदेखि कम्युनिष्ट राजनीति गर्दै आएका नेता गुरुङले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला र कांग्रेसकै बागी उम्मेदवार उत्तम गुरुङसँग प्रतिस्पर्धा गर्दै छन्।

यस्तो छ गुरुङको विगत

२०४८ सालमा निकै कमजोर अवस्थामा रहेको लमजुङको कम्युनिष्ट राजनीतिलाई माथि उठाउनका निम्ति नेता गुरुङको महत्त्वपुर्ण योगदान छ। उनीलगायत लमजुङका प्रगतिशील युवाहरूको मिहिनेतले २०५१, २०५६ सालको निर्वाचन भोग्दै २०६४ सालको संविधानसभाको निर्वाचनमा बल्ल वामपन्थी दलले लमजुङमा जित्न सफल भयो।

२०६४ सालको संविधानसभाको निर्वाचनमा उनै नेता गुरुङ कांग्रेस उम्मेदवारलाई पारजित गर्दै छ हजारको मतान्तरले विजयी भए। गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा भने कांग्रेस उम्मेदवारसँग पराजित हुनपुगे।

गएको स्थानीय तहको निर्वाचमा वाम गठबन्धन बनाएर लमजुङमा चुनाव लडेका थिए। त्यसमा वाम गठबन्धनले नगरपालिका र गाउँपालिकामा बलियो जीत हासिल गर्‍यो। सोही मतलाई आधार मानेर ४ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारिएका गुरुङ आफ्नो जीत हुनेमा ढुक्क छन्।

लमजुङ जिल्ला र प्रदेश- ४ को विकासका लागि काम गर्ने पार्टी भनेको एमाले नै भएको नेता गुरुङको दाबी छ। विगतमा जित्दा र हार्दा दुवै समयमा आफूले लमजुङको विकासका लागि काम गर्दै आएको उनी बताउँछन्।

२०७० सालको चुनावको हिसाबले छ हजार र स्थानीय तहको चुनावको हिसाबले लमजुङमा छदेखि सात हजार मतले अहिले वाम गठबन्धन कांग्रेसभन्दा अगाडि छ। त्यस आधारमा पनि आफ्नो जीत सुनिश्चित भएको र मुख्मन्त्री नै बन्ने भनेपछि थप मत थपिने उनको तर्क छ। 'म लमजुङको विकासका लागि विगतदेखि नै काम गर्दै आएको छु। म अहिले पनि जनताकै आग्रहअनुसार उम्मेदवार बनेको हुँ', उनले भने, 'मुख्यमन्त्रीमा पृथ्वी सुब्बा भनेपछि केही मत थप अरू बढ्छ। मेरो जीत सुनिश्चित छ।'

मुलुक संघीयतामा गइसकेपछि प्रदेश पनि बलियो बनाउनुपर्ने भएकाले प्रदेश बनाउनका निम्ति प्रदेशसभामा चुनाव लड्न गएको उनी बताउँछन्। 'प्रत्यक्षबाटै लडेर प्रदेशको नेतृत्व गर्ने हिसाबले प्रदेशसभाको चुनाव लड्न गइरहेको हुँ', उनले भने, 'अब मुलुक संघीयतामा गइसकेपछि हामीले प्रदेशसलाई पनि उत्तिकै रूपमा बलियो बनाउनुपर्नेछ।'

पञ्चायतकालमा पार्टीको प्रचार तथा भण्डाफोर अभियानका क्रममा २०४३ सालमा जेल जीवनसमेत भोगेका नेता गुरुङको कांग्रेस बलियो रहेको लमजुङमा कम्युनिष्ट पार्टी बनाउन महत्त्वपूर्ण योगदान रहेको छ।

विगतको निर्वाचनमा निकै उतारचढाव भोगेको लमजुङका जनताले यसपालि भने आफूलाई जिताएर पठाउने गुरुङको विश्वास छ। गएको स्थानीय तहको निर्वाचनमा समेत वाम गठबन्धन गरेर राम्रो परिणाम ल्याउन सकेको लमजुङमा यसपालिको निर्वाचनमा समेत वाम गठबन्धनले चुनाव जित्नेमा कुनै शंका नरहेको उनी बताउँछन्।

स्थानीय तहसँगै प्रदेशमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरेर प्रदेश सरकार बनाउने गुरुङको दाबी छ।

के छन् एजेण्डा?

स्रोत र साधनका हिसाबले प्रदेश नम्बर- ४ सातवटा प्रदेशमध्ये सबैभन्दा सम्पन्न प्रदेश भएकाले ४ नम्बर प्रदेशको विकासका लागि थुप्रै सम्भावना रहेको नेता गुरुङ बताउँछन्। पर्यटनको विकास हुनसक्ने सम्भावना रहेको यस प्रदेशमा जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जाको विकास गर्न सकिने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सिमानाहरू दक्षिणमा सुस्तादेखि उत्तरमा कोरला नाकासम्म जोडिएको यस प्रदेशमा कृषिको आधुनिकीकरण गर्दै हिमाली क्षेत्र र उच्चपहाडी क्षेत्रमा फलफूल खेती, तरकारी खेती, नगदेबाली खेती, बिउबिजनको उत्पादनलगायतका काम गरिने नेता गुरुङ बताउँछन्। 'कृषिको आधुनिकीकरण र व्यावसायीकीकरण, यान्त्रिकीकरण गरेर स्वरोजगार सृजना गरी, गरिबी निवारण तथा रोजगारी सिर्जना गर्न सकिन्छ', उनी भन्छन्, 'कृषिजन्य उद्योगहरूको स्थापनामा जोड दिनेछौँ। त्यसका लागि हामीले प्रदेशमा ठूलो औद्योगिक क्षेत्रको स्थापना गर्नेछौँ।'

जलविद्युतको क्षेत्रमा आगामी १० वर्षभित्र न्यूनतम तीन हजार मेगावाटदेखि बढीमा पाँच हजार मेगावाट जलविद्युत उत्पादन गरेर घरघरमा बिजुली, जनजनमा शेयर भन्ने नीतिअन्तर्गत यस प्रदेशका सबै जनतालाई बिजुलीको उत्पादनसँग जोड्ने उनले बताए। त्यसले गरिबी निवारणमा महत्त्वपूर्ण योगदान दिने गुरुङको दाबी छ। 

पर्यटनको प्रबल सम्भावना भएको ४ नम्बर प्रदेशमा विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल, भञ्ज्याङ, आठ हजार मिटरभन्दा अग्ला हिमालहरू, नेपालको सबैभन्दा धेरै जैविक विविधतायुक्त र संरक्षण क्षेत्रहरू ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण आयोजना, मकालु संरक्षण आयोजना, चितवन राष्ट्रिय निकुञ्जको केही भागसमेत रहेकाले यस प्रदेशमा पर्यटनको विकास एकदमै महत्त्वपूर्ण हुने उनको धारणा छ।

विविधता र विकासलाई एकैचोटि अगाडि बढाउन सकिने प्रदेश भएकाले पर्यटन क्षेत्रको विकास गरेर १० वर्षभित्र कम्तिमा पनि दैनिक एक लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजनाका साथ वाम गठबन्धन अगाडि बढेको उनले बताए। 'आगामी १० वर्षमा कम्तिमा दैनिक एक लाख पर्यटक यस प्रदेशमा भित्र्याउने हाम्रो योजना छ', उनले भने, 'यो महत्त्वाकांक्षी पनि हुनसक्छ। यसले हाम्रो प्रदेशमा रोजगारीको सिर्जना गरी वैदेशिक मुद्रा आर्जन गर्नेछ।'

प्रतिव्यक्ति आम्दानी बढाएर सबै प्रदेशमध्ये प्रतिव्यक्ति आम्दानी बढी भएको प्रदेशका रूपमा समेत प्रदेश- ४ लाई विकास गर्ने नेता गुरुङ बताउँछन्। सँगै सबैभन्दा बढी आयु र बढी साक्षर भएको प्रदेशका रूपमा विकास गर्ने योजना पनि उनको रहेको छ।

पोखरालाई खेल, शिक्षा र पर्यटनको हब

४ नम्बर प्रदेशको राजधानी पोखरालाई शैक्षिक, खेलकुद, पर्यटन, स्वास्थ्य हबको रूपमा विकास गरिने नेता गुरुङ बताउँछन्। अन्तर्राष्ट्रिय रूपमा ठूलो प्रतियोगिता गर्नसक्ने मल्टिपल स्टेडियम बनाउने योजना रहेको भन्दै पोखरालाई संसारसँग जोड्नेगरी सिंगो मुलुकको पर्यटन हबको रूपमा विकास गर्ने लक्ष्य रहेको गुरुङले बताए।

अहिले चुनावको मिति नजिकै आएकाले खुला प्रचार लगभग सकिए पनि आन्तरिक तयारी भने भइरहेको उनले बताए। 'प्रचार कार्यक्रम लगभग सकिएको छ। प्रचारका क्रममा मैले लमजुङलाई सुन्दर, शान्त, सभ्य बनाउनका लागि वाम गठबन्धनलाई भोट दिनुस् भनेको छु।'

४ नम्बर प्रदेश नेपालको कल्चरल हब पनि भएको भन्दै कवि शिरोमणि लेखनाथ पौड्याल, जनकवि केशवरी धर्मराज थापा, आधुनिक गद्य कविताका प्रणेता क्रान्तिकारी कवि भूपि शेरचनदेखि राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल यस प्रदेशलाई सांस्कृतिक रूपमा समृद्ध प्रदेश बनाउने उनले बताए। भने, 'यो सालैजो, ठाडो भाका, घाटु, सोरठीलगायतका सांस्कृतिक सम्पदाको क्षेत्र हो। त्यसकारण कला, साहित्य र संगीतका माध्यमबाट हामी हाम्रो प्रदेशलाई अझ सभ्य, सुसंस्कृत बनाउन चाहन्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.