|

काठमाडौंः गरिमा विकास बैंक लिमिटेड स्थापनाको १०औँ वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले बिहीबार मुलुकका पाँच स्थानमा न्यानो कपडा वितरण गरेको छ। 

बैंकले काठमाडौं, तनहुँ, स्याङ्जा, म्याग्दीलगायत जिल्लाहरूमा अतिविपन्नहरूलाई लत्ता कपडा वितरण गरेको जनाएको छ।

काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अतिविपन्न व्याक्तिहरूलाई बैंकले एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो। त्यसैगरी चितवन तथा तनहुँ जिल्लाअन्र्तगतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरूलाई पनि बैंकले लत्ता कपडा वितरण गरेको जानकारी दिएको छ। 

स्याङ्जा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौरस्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरूलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा वितरण गरेको जानकारी दिएको छ। 

काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले विपन्न वर्गलाई लत्ता कपडा वितरण गरेका थिए। देवघाट धाममा विकास बैंकका पूर्व संचालक सिद्धकुमार श्रेष्ठ, राम्दीधाममा वालिङ नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व अध्यक्ष दिलीपप्रताप खाँड, पाखीचौर स्याङ्जामा गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा बेनी नगरपालिकाका प्रमुख तथा विकास बैंकका पूर्व संचालक हरिकुमार श्रेष्ठले न्यानो कपडा वितरण गरेका थिए। न्यानो कपडा वितरणसँगै विकास बैंकले ती आश्रमहरूमा बस्ने जेष्ठ नागरिकहरूलाई बिहानको खानासमेत खुवाएको छ। 

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले व्यवसायको विस्तारको तीब्रता सँगसँगै सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताएका थिए। 

पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ। बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर– १ का मोरङ, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दै छ। बैंकले करिब १६ अर्ब ५० करोेड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.