|

वीरगंजः प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ  आज वीरगंजमा नेपाल तथा भारतका उच्च सुरक्षा निकाय विच वैठक सम्पन्न भएको छ। 

बैठकले निर्वाचनलाई लक्षित गर्दै खुला सीमालाई व्यवस्थित गर्ने, चेकजाँचलाई कडा बनाउनुका साथै आपराधिक गतिविधिमा संलग्न र शंकास्पद व्यक्तिहरूलाई उच्च निगरानीमा राख्ने, सीमा क्षेत्रमा सुरक्षाका लागि संयुक्त गस्ती टोली परिचालन गर्ने, आपराधिक गतिविधिका सूचना आदानप्रदान गर्ने, आपसी सद्भाव वृद्धि गर्दै पूर्ण रूपमा अपराधलाई निस्तेज पार्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए।

नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी सिंहको नेतृत्वमा रहेको टोलीमा बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी, पूर्वका पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो। 

त्यसैगरी भारतका तर्फबाट पश्चिम चम्पारणका डीएम रमण कुमार नेतृत्वमा रहेको टोलीमा पूर्व चम्पारणका डीएम डा. निलेश देवरे, एसएसबी फोर्सका कमाण्डर भारतीय प्रहरी अनुसन्धन प्रमुखलगायतको सहभागिता रहेको थियो। 

यसैबीच निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि उच्च निगरानी राखेको र हालसम्म पर्सामा चार जनालाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.