|

डडेल्धुराः नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई बिहीबार साँझ सम्बोधन गर्दै ओलीले निष्पक्ष भएर काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई समेत आग्रह गरेका छन्। 

विकास गर्नका लागि पटक–पटक प्रधानमन्त्री हुन नपर्ने भन्दै भिजन भएका व्यक्तिले एक पटकमै काम गरेर देखाउनेसमेत उनले बताए। ‘देशको विकास गर्नका लागि चार चार पटक प्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन’, देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘भिजन भएको व्यक्तिले एक पटक प्रधानमन्त्री भए पनि धेरै उदाहरणीय काम गर्न सकिन्छ।’

‘कोहीकोही मान्छे ७ पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर’, देउवालाई लक्षित गर्दै ओलीले भने, ‘चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए? एकपल्ट प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्नेगरी काम गरेका छौँ।’

उनले वामगठबन्धनको नेतृत्वमा सरकार निर्माण भएपछि मात्रै पार्टी एकता हुने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै सरकार बन्ने र त्यसपछि मात्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले वाम गठबन्धनको लक्ष्य अस्थिरता अन्त्य गरी देशमा स्थायित्व कायम गर्ने रहेको धारण राखे। ‘यसैका लागि पार्टी एकताको चरणमा रहेको छ’, ओलीले भने, ‘चुनावपछि लगत्तै सरकार बन्छ र त्यसपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन्छ।’ 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले चुनाव गराउने र भाँड्नेको साँठगाँठले अचम्मित परेको टिप्पणी गरे। देउवाले देश र जनताका लागि सिन्को भाँच्न नसकेको ओलीको आरोप थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अाेलीजी ले गरेका काम त सवै जनताले देखेका छन नी..., जनता लाई ति दाउरा लिन वसेकाे लाईनकाे पनि झझल्काे अाई रहेकै हाेला, जनता अव समुन्द्रमा कहिले नेपाली जहाज चल्ने हाे अनि त्यहि जहाज चढेर कहिले काेशी हुंदै राजधानी अाउने हाे अनि कहिले नेपाली रकेट चढेर चन्द्रमा मा जाने हाे भनि कुरेर बसिरहेका छन... ।