|
ekantipur.com

काठमाडौं : महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ। निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो। समयमा तलब भुक्तानी नपाएका सयौं नेपाली कामविहिन भएर बसेका छन्।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन्। यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ। 

साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठूला कम्पनी बन्द भइसकेका छन्। ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन्। 

कतारमा रहेका साउदीको अलमराई कम्पनीबाट मात्रै ३ सयभन्दा बढी नेपाली फिर्ता भइसकेका छन्। ‘नाकावन्दी सुरु हुनेबित्तिकै हाम्रो काम ठम्प भयो। सुरुदेखि नै कम्पनीले कामदार नेपाल पठाउन थाल्यो। हामी २० जनालाई एकै लटमा पठायो,’ ६ वर्षदेखि अलमराईमा कार्यरत धादिङका किशोर ठकुरीले भने, ‘पठाउने बेला हाम्रो तलब सुविधाको हिसाब सबै भुक्तानी भएन। अहिलेसम्म ३ सयभन्दा बढी आइसकेका छन्।’

हजारौ कामदारलाई रोजगार दिने सीडीसी, बुम कन्ट्रक्सन, सीसीसी, अल मन्नाई ट्रेडिङ, सप्तन टेडिङ एण्ड कन्टक्सन, अल रुवावी, कतार इन्फास्टकचर, लेसलगायतका कम्पनीले पछि बोलाउने भन्दै कामदार फिर्ता पठाइरहेका छन्। कतिपय कम्पनीले अर्को कम्पनीमा काम गर्न पाउने गरी कामदार छाडिदिएका छन्। ‘धेरै साथी नेपाल आइरहेका छन्।

नेपाल पठाउने खबरले बाँकी साथी पनि त्रासमा छन्,’ कन्सोलिडेटेड कन्ट्रक्टीङ इन्टरनेसनल कम्पनी (सीसीआईसी) कम्पनीमा स्काफफोल्डिङ फोरम्यान योगेश उपाध्यायले भने,‘कम्पनीले नयाँ प्रोजेक्ट पनि पाएको छैन। बिदामा आएका साथीहरुलाई बोलाएको छैन।’  कतारको पेट्रोलियम र ठूला प्रोजेक्ट बनाउने सीसीआईसी एउटैमा एकलाख भन्दा बढी आप्रवासी कामदार थिए।

स्थानीय सञ्चार माध्यमका अनुसार कतारका प्रधानमन्त्री अब्दुल्लाह विन नासिर अल–थानीले विश्वकपसहित ठूला आयोजना समयभित्रै सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुदै गइरहेको बताए।  कतार सरकारले विश्वकपका आयोजना, रेल्वे आयोजना र सडकको कामलाई बढी प्राथमिकतामा राखेको छ। निजी क्षेत्रबाट बनेका आयोजनामा निर्माण सामग्रीको अभाब देखिन थालेको छ। ‘निर्माण सामग्रीकै अभाबमा समयमा काम सक्न नपाउदा सरकारी रकम भुक्तानी हुन सकेको छैन।

रकम भुक्तनी रोकिदा कामदारलाई तेस्रो सातासम्म पनि तलव खुवाउन मुस्किल छ,’ कामदार आपुर्ति गर्ने एक नेपाली व्यवसायीले कान्तिपुरलाई भने,‘हामीजस्ता साना व्यवसायी झन् मारमा परेका छौं। कहिले काम नपाएर सयभन्दा बढी कामदारलाई सुताएर राख्नुपरेको छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.