|
फाइल फोटो– कान्तिपुर

डोटी : गाउँघरमा चुनावी माहोल छ। नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन्। गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन्। 

बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दिपायलमा भेटिए। निर्वाचनबारे जानकार उनले मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताए। विगत २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आएका काले अहिले भारतको पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्छन्।

४४ वर्षीय कालेले आफ्नो जीवनकालमा एक पटक मात्रै मतदान गरेको बताए। 'भोट केका लागि दिने?  नेताहरू भन्छन् मात्रै, गर्ने केही होइन', उनी भन्छन्, 'उसै पनि यो मेरो जाने समय नै हो। उता छुट्टी पनि छैन। केही नगर्ने नेतालाई भोट दिन किन कुर्ने ?'

कालेसँगै भारत जान लागेका चारमध्ये कमल बोहरा पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आएका छन्। आफू अनपढ भएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमै निर्भर हुनुपरेको उनको बुझाइ छ। 'नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही हुँदैन', उनले भने, 'गर्दै आएको नोकरी बचाउन समयमै जान लागेको हुँ। ढिलो गरे साहुले जागिरबाट निकालिदेला भन्ने चिन्ता छ।' 

हिउँदमा विदेशिनेको संख्या बढी 

सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो कामको खोजीमा भारत जाने गर्दछन्। कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेतीकिसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् । 

प्रायजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन्।ती युवा मौसमअनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन्। दसै‌तिहार मनाउन आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि भारत जाने समय हो। केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन्। 

अहिले भारत जाने युवाको दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघ बुकिङ काउण्टर दिपायलमा कार्यरत भोजबहादुर शाही बताउँछन्।उनका अनुसार अहिले दैनिक २५\३० जनाभन्दा बढी नेपाली भारत जाने गइरहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.