|

बाँके : राजनीतिक दलले निर्वाचन आचारसंहिता उलंघन गरेपछि जिल्ला आचारसंहिता अनुगमन समितिले राजनीतिक दल र उम्मेदवारहरुलाई सचेत गराएको छ। समितिले राजनीतिक दललाई परिपत्र गरी आचारसंहिता विपरीत टाँसेका र झुन्ड्याएका पोस्टर, पम्पलेट, ब्यानर, तुल र ध्वजापताका ३ दिनभित्र झिक्न स्मरण पत्र पठाएको छ।

राजनीतिक दल, अधिकारकर्मी र सरोकारवाला प्रतिनिधिको बैठकले आचारसंहिता विपरित टाँस गरिएका र झुन्ड्याएका पर्चा, पम्पलेट, तुल, ब्यानर र ध्वजा पताका सम्बन्धित राजनीतिक दल र उम्मेदवारले हटाउने सहमति भएको छ। सोही सहमति अनुसार समितिले बाँकेका सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आचारसंहिता विपरितका निर्वाचन सामग्री हटाउन परिपत्र गरेको समितिका सदस्य सचिव एवम् क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख बसन्त अधिकारीले बताए।

उनले राजनीतिक दलहरुले नेपालगन्जका विभिन्न स्थानमा आचारसंहिता विपरीत निर्वाचन सामग्री राखेको बताए। उनले निर्वाचन आयोगले तोकेको ढाँचा विपरीत राजनीतिक दलहरुले निर्वाचन सामग्री तयार पारेको बताए। ‘आफूले गरेको प्रतिवद्धता अनुरुप ३ दिनभित्र संहिता विपरीतका सामग्री हटाउन निर्देशन सहितको परिपत्र गरिएको छ,’ उनले भने।

आचारसंहिता विपरीत टाँसेका र टाँगिएका निर्वाचन सामग्री सम्बन्धित दलले नझिके वा झिक्न नलगाए कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकारीले बताए। उनले जसले फोहर गरेको हो फाल्ने दायित्व पनि उसैको भएकोले आफूले टाँसेको निर्वाचन सामग्री आफैले हटाउनुपर्ने बताए। ‘निर्वाचन सामग्री हटाउँदा आचारसंहिता अनुगमन समिति सुरक्षा प्रदान गर्न तयार छ, तर संहिता विपरीत जसले निर्वाचन सामग्री राखेको हो त्यसैले फाल्नुपर्छ, कानूनमा पनि यही ब्यवस्था छ,’ क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख अधिकारीले भने।

समितिले आचारसंहिता अनुगमन समितिले पत्रकार र सञ्चार माध्यमलाई समेत सचेत गराउँदै संहिता पालनाका लागि स्मरण पत्र पठाएको छ। सञ्चारमाध्यमले संहिता उलंघन गरेको राजनीतिक दलले गुनासो गरेपछि संहिताभित्र रहेर समाचार सम्प्रेषण गर्न र विज्ञापन प्रकाशन/प्रसारण गर्न स्मरण पत्र पठाइएको अनुगमन समितिका सदस्य सचिव अधिकारीले बताए। उनले स्मरण पत्रको बर्खिलाप गरी संहिता पालना नगर्ने सञ्चार माध्यमलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिए।   

आचारसंहिता उलंघन गर्ने होडबाजी

बाँकेमा आचारसंहिता उलंघन गर्ने होड नै चलेको छ। राजनीतिक दलहरुले आचारसंहितालाई चुनौती दिँदै नेपालगन्ज लगायत बाँकेका विभिन्न सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न प्रतिस्पर्धा नै चलेको नेपालगन्ज उपमहानगरपालिका–५, फुल्टेक्राका चित्रसेन यादवले बताए।

विशेष गरी राजनीतिक दलले त्रिभुवन चोक, फुल्टेक्रा, आँखा अस्पताल रोड, गणेशपुर, सदरलाइन, सुर्खेतरोड, न्यूरोडको सडकलाई प्रचार सामग्री टाँस्ने र झुन्ड्याउने थलो बनाएका छन्। ‘एउटाले झुन्ड्याएको ठाउँमा अर्को दलका कार्यकर्ताहरु आएर पोष्टर झुन्ड्याउँछन्, प्रचार सामग्री राख्ने होडबाजी नै चलेको छ,’ नेपालगन्ज उपमहानगरपालिका–१० का हनिफ साइले भने।

आचारसंहिता उलंघन नगरेको राजनीतिक दलको दावी

निर्वाचन आचारसंहिता उलंघन गरेको सर्वत्र आलोचना भइरहेको बेला नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्माले नेपाली कांग्रेसले आचारसंहिता विपरीत प्रचार सामग्री नराखेको बताएका छन्। उनले अन्य दलले गरेको जस्तो आफा्नो पार्टीले नगरेको बताए। ‘आचारसंहिताको पूर्ण पालना गरेर नेता तथा कार्यकर्ताहरुले प्रचार प्रसार गरिरहेका छन्,’ उनले भने।

एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले निर्वाचन कार्यालयसँग सोधेर निर्वाचन सामग्री टाँगेको बताए। एमाले निर्वाचन आचारसंहिता पूर्ण पालन गर्ने पार्टी भएको बताउँदै उनले निर्वाचन कार्यालयसँग सोध्दा कुनै जानकारी नदिएपछि आफूहरुले चुनाव चिन्ह अंकित ध्वजा पटाका राखेको स्पष्ट पारे।

‘यी निर्वाचन सामग्री आचारसंहिता भित्र पर्छ कि पर्दैन भनेर कार्यालयमै गएर सोध्दा कुनै जवाफ नपाएपछि हाम्रा कार्यकर्ताले ध्वजा पताका राखेका हुन्,’ उनले भने, ‘आचारसंहिता उलंघन हुने गरी राखेका पर्चा, पम्पलेट, ब्यानर र ध्वजा पताका एमाले हटाउन तयार छ,’ एमाले उपाध्यक्ष गुरुङले भने। उनले प्रचार सामग्री निर्वाचन आयोगले तोकेकै मापदण्डमा तयार पारिएको बताए।

संघीय समाजवादी फोरमका अध्यक्ष कमरुद्दिन राईले आफ्नो पार्टीले अहिलेसम्म निर्वाचन आचारसंहिता भित्र रहेर प्रचार प्रसार गरिरहेको दावी गरेका छन्। उनले निर्वाचन अभियानमा खटिएका कार्यकर्तालाई आचारसंहिता पालना गर्न कडा निर्देशन दिएको बताए। उनले भने, ‘सार्वजनिक स्थल, अर्काका पोस्टर पम्पलेट माथि र अरुले टाँगेको ध्वजा पटाकालाई असर पर्ने गरि ब्यानर, पोस्ट, पम्पलेट र ध्वजा पटाका राख्न निर्देशन दिएका छौं, सोही अनुसार कार्यकर्ताले निर्वाचन सामग्री राख्दै आएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.