|

 रुकुम : नेपाली कांग्रेस रुकुमका कार्यकर्ताले रुकुम सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते हुनेमा वडा नम्बर ७ की कल्पना बुढा रहेकी छन्। उनी सानीभेरी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलबहादुर बुढाकी श्रीमती हुन्।

बिहीबार सदरमुकाम खलंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा आयोजित चुनावीसभाबाट घर फर्कंदै गरेका कांग्रेसका भ्रातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै बसेकी बुढामाथि कुटपिट गरेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए।

उनका अनुसार वडाअध्यक्ष कुलबहादुर बुढामाथि कुटपिट गर्ने उद्देश्यले त्यहाँ पुगेका कांग्रेस कार्यकर्ताहरुले बुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। गम्भीर घाइते कल्पना अहिलेसम्म पनि बहोस रहेको श्रीमान् कुलबहादुर बुढाले बताए।

यसैबीच, कुटपिट गर्नेहरुलाई राती नै प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिए। घटना राजनीतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपिटको घटनाप्रति नेकपा (माओवादी) केन्द्रले कडा विरोध जनाएको छ। जिल्ला इन्चार्ज राजकुमार शर्माले राजनीतिक प्रतिस्पर्धाबाट डराएर कांग्रेसीहरु आपराधिक क्रियाकलापमा उत्रिएको बताए।

उनले घटनाको भर्त्सना गर्दै दोषीहरुमाथि कडा कारबाही गर्नसमेत स्थानीय प्रशासनसँग माग गरेका छन्। उता, नेपाली कांग्रेस रुकुमले भने आफ्नो चुनाबी प्रचारप्रसारको गाडीलाई माओवादीले अवरोध गर्न खाजेपछि झडप भएको र झडपमा बुढा घाइते भएको प्रतिक्रिया दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.