|

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली कांग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन्, तीनजना सम्पर्कविहीन रहेका छन्। 

घाइते हुनेमा बुढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिए।

भट्टले दिएको जानकारी अनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको छ। आक्रमणकारीले थापाको मोबाइल, डायरी, ज्याकेट र नगद पाँच हजार पाँच सय रुपैयाँसमेत लुटेका प्रहरीले जनाएको छ। घाइते थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन् भने अर्का घाइते ललित थापा वडा सदस्य हुन्।

घाइते छ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ। आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताए। बाटोमा हिँडिरहेका बेला कुनै कुराकानी नगरी एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको थापाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.