|

तनहुँ : सामाजिक परम्पराले लगाएका बन्देजका जन्जिरहरु फुकाउँदै तनहुँका महिलाहरुले उदाहरणीय कार्यको थालनी गरेका छन्। अझै पनि समाजमा व्याप्त रहेको महिलाहरुले शव बोक्न हुँदैन भन्ने सामाजिक परम्परालाई चुनौती दिएका हुन्।

यस्ता चुनौतीलाई चिर्दै तनहुँका महिलाहरुले शव बोकेर अन्तिम संस्कारसमेत गरेर चकित पारेका हुन्। व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित महिलाहरुद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित एक वृद्धको निधन भएपछि महिलाहरुले नै शव बोक्ने गरेका छन्।

शुक्रबार आश्रममा आश्रय लिइरहेका ९८ वर्षीय मीनबहादुर सार्कीको निधन भएपछि आश्रमका सञ्चालक महिलाहरुले नै शव बोकेका हुन्। आश्रम सञ्चालक महिलाहरुले आश्रमबाट मादीसेती घाटसम्म सार्कीको शव बोेकेर अन्तिम दाहसंस्कार गरेको आश्रमकी सचिव निर्मला मल्लले बताइन्।

‘९८ वर्षीय सार्की अविवाहित र आफन्त कोही नभएपछि आश्रममा आश्रय लिन आएका हुन्,’ मल्लले भनिन्। आश्रममा आबद्ध सदस्य महिलाहरुले एक दिनका लागि छाक छाड्नेसमेत सचिव मल्लले बताइन्।

दाहसंस्कारको क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल घाटमै पुगेर सार्कीको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जलिसमेत दिएका छन्। तनहुँका महिलाहरुले केही वर्षअगाडि पनि आश्रममा आश्रित एक वृद्धको निधन हुँदा महिलाहरुले नै शव बोकेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.