|

पाँचथर : नेपाल कम्युनिष्ट पार्टीका मेची व्युरो इञ्चार्ज सुमन भनिने सन्तकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ घर भएका उनलाई मोरङको विराटनगरस्थित न्यूरो अस्पतालबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ।

उनीसँगै प्रहरीले मोरङको मिक्लाजुङ–८ घर भएका सोही पार्टीका कोशी व्युरो सदस्य जितेन्द्र महरालाई पनि पक्राउ गरेको छ। दुवै जनाविरुद्ध विस्फोटक पदार्थ शीर्षकमा मुद्धा दर्तापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी वामदेव गौतमले जानकारी दिए। प्रहरीले बिहीबार नै जिल्लाकै हिलिहाङ गाउँपालिका ५ का रामचन्द्र मग्रातीलाई पनि पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पाँचथरमा यसअघि नै १३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा जिल्लाको फाल्गुनन्द –३ का ३३ वर्षीय एलिया नेम्वाङ, २४ वर्षीय संग्राम राई, ५३ वर्षीय इच्छाबहादुर राई, २४ वर्षीय विशाल राई, फाल्गुनन्द ५ का ४७ वर्षीय जितबहादुर चेम्जोङ, फिदिम–१ का ४५ वर्षीय नारायण कार्की, फिदिम १४ कि ४० वर्षीया टीकादेवी राई, फालेलुङ गाउँपालिकाका ५ का २६ वर्षीय मौसम थाम्सुहाङ र ३२ वर्षीया तारा राई रहेका छन्।

जिल्लाको हिलिहाङ–२ का ३१ वर्षीय डिल्लीराम कटुवाल, सुनसरीको रामधुनी–२ का ३५ वर्षीय ओमकुमार श्रेष्ठ, याङ्वरकका ३२ वर्षीय शिशिर पोख्रेल र इलामको फाकफोकथुम १ का ५५ वर्षीय रुपनारायण अधिकारी पनि पक्राउ परेका छन्। पक्राउ परेकामध्ये टीकादेवी राई, नारायण कार्की र रुपनारायण अधिकारी शिक्षकसमेत हुन्।

उनीहरु विरुद्ध भने केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर–१ इम्ब्रिङ, हिलिहाङको चतुरे र फिदिमको अस्थायी वसपार्क क्षेत्रमा विष्फोटक पदार्थ भेटिएपछि प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.