|
File Photo

काठमाडौं : उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापालाई मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा बिहीबार राती १२ बजेदेखि नै मौन अवधि सुरु भइसकेको अवस्थामा उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेकोले स्पष्टीकरण सोधिएको ढकालले बताए। 

थापालाई स्पष्टीकरण सोधिएको बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत आयोगले जानकारी गराइसकेको छ।  

निर्वाचन आयोगले उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापासँग मागेको स्पष्टीकरणको पूर्णपाठ यस्तो छ:

आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ। आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ : ०० बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ। उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४/०८/०८ को निर्णयानुसार अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.