|

चितवन : निर्वाचनको मुखमा एउटा पार्टी छाडेर अर्कोमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या चितवनमा निकै बढेको छ। पार्टी छाड्नेको लर्कोमा पाँच दशकदेखि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गरी आएका, पार्टीका जिल्ला अध्यक्षदेखि सामान्य नेता कार्यकर्तासम्म छन्। चुनावी अभियानमा यसरी प्रवेश गर्नेहरुलाई फूलमालाले भव्य स्वागत हुने गरेको छ।

नेपाली कांग्रेसको जिल्ला उपसभापति समेत भइसकेका नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेल हालैमात्र नेकपा एमालेमा प्रवेश गरे। रत्ननगर निर्वासी पौडेललाई मंसिर पाँच गते नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए।

२०२४ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका पौडेलले पार्टी परिवर्तनबारे भने 'पचास बर्षपछि मैले कांग्रेस छाडेको छु, कुनै लोभले होइन, अब वाम गठबन्धनले चितवनलाई प्रान्तीय राजधानी बनाउला भन्ने मेरो चाहना छ।’

उनले कांग्रेसको राजनीतिक आन्दोलनकै क्रममा विभिन्न समयमा जेल जीवन समेत बिताएका थिए। कांग्रेस आर्थिक विचलनमा फसेकाले दुखका साथ कांग्रेस त्यागेको भन्दै पौडेलले,'अहिलेसम्म जय नेपाल! भन्थें,अब के भन्नुपर्ने हो सिक्दैछु' मञ्चको भाषणमै भने। उनीसँगै वाम गठबन्धनमा प्रवेश गर्नेहरु झण्डै १०० जना थिए।

सो क्रममा राप्रपा प्रजातान्त्रिकको राप्ती नगर अध्यक्ष  एस.के बर्तौलासहित कार्यसमिति र नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनको जिल्ला उपाध्यक्षसहितको टोली पनि वाम गठबन्धनमा प्रवेश गरेको छ। नेपाल सर्वहारा कम्युनिष्ट पार्टीकी केन्द्रीय अध्यक्ष भावना विद्रोहीले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनमा आएको घोषणा गरिन्। अहिले उनलाई कांग्रेसमा फर्काउन प्रयत्न भइरहेको भन्दै नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले टिकट नपाएकाले पौडेलले पार्टी छाडेको बताए।

यस्तै ३८ वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा रहेका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना गएको कात्तिक गते १८ गते दक्षिण माडीमा भएको एउटा कार्यक्रममा नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। तिमिल्सिनाले ३८ बर्षदेखिको राप्रपाको राजनीति र १८ वर्षदेखि जिल्ला अध्यक्षको जिम्मेवारी छाडेर माओवादीमा प्रवेश गरेका हुन्। प्रचण्डले तिमिल्सिनालाई पार्टीको केन्द्रीय भूमिका सुनिश्चित भएको घोषणा समेत गरेका थिए।

एमाले र माओवादी केन्द्र छाडेर नेपाली कांग्रेसमा जाने क्रम पनि उस्तै छ। जिल्लामा महत्वपूर्ण जिम्मेवारी बोकेकाहरुले नछाडे पनि तल्लो तहका कार्यकर्ताहरु कांग्रेसमा गएका छन्। नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी एमालेको वडा स्तरीय नेता धनबहादुर गुरुङसहितका कार्यकर्ता, वाम गठबन्धनमा रहेका जिल्ला पूर्व पार्टी सदस्य, स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट पाएका नेताहरु पनि कांग्रेसमा प्रवेश गरेको बताउँछन्।

राप्रपा प्रजातान्त्रिकमा पनि अन्य दलका कार्यकर्ताहरु प्रवेश गरिरहेका छन्। अहिलेसम्म कांग्रेसमा १ हजार २०० भन्दा बढी पार्टी प्रवेश गरिसकेको जोशीको दावी छ। अहिले हरेक कार्यक्रममा पार्टी छाडेर अर्को पार्टी प्रवेश गर्नेहरुको लर्को नै देखिन्छ।

नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई कांग्रेस, राप्रपालगायत विभिन्न पार्टी छाडेर वाम गठबन्धनमा १० हजार बढी प्रवेश गरिसकेको दावी गर्छन्। उनले विभिन्न पार्टीका केन्द्रीय भूमिकामा रहेकाहरु समेत वाम गठबन्धनमा समाहित भएको बताए।

चुनावी प्रचार अभियान तिब्र

चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १३ दिन बाँकी छ। निर्वाचन नजिकिएसँगै चुनाव प्रचार अभियान गाउँगाउँ पुगिरहेको छ। पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व मन्त्री तथा सांसदहरु उम्मेदवार भएकाले चितवनमा प्रहरीले सुरक्षा व्यवस्था समेत कडा बनाएको छ।

 मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध राजनीतिक दलको प्रतिस्पर्धा देखिन्छ। अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको उपस्थिति भने न्युन देखिन्छ।

पुत्र शोकका कारण केही दिनदेखि चुनावी प्रचारमा सरिक नभएका वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर तीनमा उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ पनि शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुँदैछन्।

उनको प्रतिस्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे पनि चुनाव प्रचार अभियानमा छन्। केन्द्रीय नेताहरु उम्मेदवार रहेकाले चिनवन क्षेत्र नम्बर तीनमा धेरै चासो र चर्चाको विषय बनेको छ।

तीन वटा क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन्। यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नम्बर २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ। सबै नेताहरु अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.