|

काठमाडौंः सिनामंगलस्थित गैरीगाउँका ६५ वर्षका अशोक गुरुङ वागमती नदीको किनारमा छाप्रो बनाएर बसेको २६ वर्ष भयो। सुकुम्वासी भएर खोलाको किनारामा बस्दा उनले धेरै समस्या भोगेर बसेका छन्।

चुनाव आउने बेला नेताहरू सुकुम्वासी समस्या समाधान गर्ने भन्दै वस्ती छिर्छन्। तर उनलाई सुकुम्वासी समस्या भनेको के होसमेत थाहा छैन। भन्छन्, ‘नेताहरू चुनाव आउने बेलामा आएरु सुकुम्वासी समस्या समाधान गर्छौँ भन्छन्। सुकुम्वासी समस्या भनेको के हो मलाईचाहिँ थाहा छैन तर एउटा घर बनाउने जग्गा दिए पुग्छ।’

अहिलेसम्म उनले कति पटक भोट दिए भन्ने उनलाई एक पटक सोच्नै पर्छ। ‘भोट त धेरै पटक दिएँ। मैले काठमाडौं आएर सुरुमा भोट हाल्दा पनि जग्गा दिन्छौँ नै भन्थे। अहिले पनि त्यही भन्छन्', उनी भन्छन्, 'तर अहिलेसम्म केही दिएका छैनन्।’ चुनाव आएका बेला मात्र नेताहरू सुकुम्वासी वस्तीमा आउने गरेको उनले दुखेसो गरे। ‘चुनाव आएका बेला हामी सुकुम्वासीलाई एक ठाउँमा बेला गर्छन्। उनीहरूले घर जग्गा नभएकालाई घर दिने भन्छन्’, उनले भने, ‘अनि हामी ताली बजाउँछौँ। चुनाव सकिएपछि हाम्रो अवस्था जस्ताको त्यस्तै हुन्छ।’

त्यही सुकुमम्वासी वस्तीमा लामो समयदेखि बसोवास गर्दै आएकी सरु बाँस्तोला नेताहरूले सुकुम्वासी समस्यालाई भाषणमा मात्र होइन, व्यवहारमा पनि लागू गर्नुपर्ने बताउँछिन्। उनले भनिन्, ‘एउटा नेता आउँछ यसले गर्दा समाधान गर्न सकिएन भन्छ, अर्को आउँछ उसले गर्दा सकिएन भन्छ। किन एकअर्काप्रति आरोप लगाउनु? बरु दुई जना मिले र काम गर्नु नि!’ सुकुम्वासी भएर बस्नुको पीडा आफूहरूलाई मात्र थाहा भएको उनी बताउँछिन्। ‘सुकुम्वासी भएको बस्नुको पीडा नेतालाई के थाहा? खोलाको डिलमा बस्नुपरेको छ। अनेकथरि रोगले नानीहरू बिरामी पर्छन्’, उनले भनिन्।

वास्तविक सुकुम्वासी पहिचान गरेर घर बनाउने भए पनि जग्गा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। ‘यही चुनावका बेला भए पनि नेतालाई कुरा त राख्नुपर्‍यो नि! सबै सुकुम्वासी नहुन पनि सक्छन्’, उनले भनिन्, ‘जग्गा भएकालाई उनीहरूलाई जग्गामा पठाएर नभएका वास्तविक सुकुम्वासीलाई व्यवस्थित ठाउँमा लगेर राख्नुपर्छ, जहिले चुनावी एजेण्डा मात्र बनाएर भएन।’

उनले जुन नेता अए पनि कुरा मात्र गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘जुन नेता आए पनि सधैँ यही घाउ मात्र कोट्याउँछन्। काम गर्दैनन्। अब अन्तिम पटक हो। अब पनि काम गरेनन् भने म भोट हाल्दिनँ।’ तर अब भने आफूहरूको समस्या समाधान हुनेमा उनी ढुक्क छन्। भन्छिन्, ‘संविधान पनि बनेको छ। अब विकास निर्माणले गति लेला भन्ने लागेको छ। त्यहीअनुसार हामी सुकुम्वासीको पनि समस्या समाधान हुनेमा हामी ढुक्क छौँ।’

आफूहरू पटक–पटक दलको चुनावी एजेण्डा मात्र बनेको स्थानीय सुकुम्वासी युवा उमेश कुँवरले बताए। उनले भने, ‘धेरै भयो भोट हालेको, जहिल्यै सुकुम्वासी समस्या समाधान गर्छौैँ मात्र भन्छन्। काम गर्दैनन्। अब त नेताको कुरा पनि कसरी पत्याउने?’ गरिब सुकुम्वासीलाई रोजगारको अवसर प्रदान गर्नु पर्ने उनको माग छ। उनी भन्छन्,‘काम पाइँदैन। पाएको काममा पनि उचित ज्याला हुँदैन। त्यसैले हामी जस्ता गरिबलाई सरकारले रोजगारी दिनुपर्छ भन्ने हाम्रो माग हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.