अपहेलित हुने डरका संक्रमितले लिँदैनन् एआरटी सेवा

|

बाँकेः एचआईभी एड्सका कारण बाँकेका ११३ जना संक्रमितको मृत्यु भएको छ। आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म बाँकेमा मात्र ९६२ जना एचआईभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

बाँकेमा तेस्रो लिंगीमा समेत एचआईभी संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआईभी एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिंगी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआईभी संक्रमण भएको छ। उनले बाँकेमा २६ जना बालबालिकामा समेत एचआईभी संक्रमण भएको जानकारी दिए। ‘असुरक्षित यौन सम्पर्क र सुई, सिरिन्जबाट लागूऔषध प्रयोगकर्ता एचआईभीको उच्च जोखिममा छन्’, चन्दले भने, ‘कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको पाइएको छ।’ 

उनले ३९४ जना एचआईभी संक्रमितले मात्र एआरटी सेवा लिइरहेको बताए। समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरू एआरटी सेवाबाट बञ्चित भएको उनले जानकारी दिए। एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको चन्दको भनाइ छ। ‘सेवा लिइरहनुपर्ने भएकाले केहीले झन्झट मान्छन्’, उनले भने। 

उनले एआरटी र पीएमटीसीटी सेवा लिन छुटेका एचआईभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको जानकारी दिए। सन् २०२० सम्म उपचारबाट बञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआईभी जाँच गर्ने र ९० प्रतिशतलाई संक्रमणको बारेमा जानकारी दिने नीति सरकारले अघि सारेको उनले बताए। 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले सरकारी नीतिअनुसार बाँकेका प्रत्येक गर्भवतीको एचआईभी जाँच गरिँदै आएको जानकारी दिए। उनले गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच गरिएको बताए। भेरी अंचल अस्पतालले एचआईभी संक्रमितलाई नि:शुल्क उपचार सेवा दिएको भेरी अंचल अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.