|

दमक (झापा) :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना शीर्ष नेताहरु उतार्ने तयारी गरेको छ।

कांग्रेसले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुका उपस्थितिमा चुनावी सभा गर्ने तयारी गरेको हो। प्रतिनिधिसभाका लागि ओली उम्मेदवार बनेको झापा ५ को गौरादहको आगामी मंसिर ११ गते कांग्रेसले आफ्ना शीर्ष नेता ल्याउने शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको हो।

कांग्रेस महासमिति सदस्य सुरेश सुब्बाले झापाको क्षेत्र नं. ५ राष्ट्रिय राजनीतिमा महत्व राख्ने क्षेत्र भएकाले शीर्ष नेताहरु ल्याउन लागिएको बताए। देउवा र पौडेलसहितको चुनावी सभा झापाको गौरादहमा मात्र तय गरिएको छ।

एमाले अध्यक्ष ओली वाम गठबन्धनका तर्फबाट उम्मेद्वार रहेको क्षेत्र नं. ५ मा कांग्रेसले डा. खगेन्द्रपाण्डव अधिकारीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। यस्तै प्रदेशसभा तर्फ अनिलकृष्ण प्रसाई र राजन ढुंगाना उम्मेदवार बनेका छन्।

ओली पनि सँगसँगै

आफ्नो निर्वाचन क्षेत्रको चुनाव प्रचारका लागि आगामी १३ गतेदेखि ३ दिन एमाले अध्यक्ष ओली पनि झापा आउने भएका छन्। १३, १५ र १६ गते ओलीले आफ्नो गृह क्षेत्रमा विभिन्न फरक फरक समूहसँग छलफल गर्ने एमाले प्रचार समितिले जनाएको छ। यसअघि ग्रामीण क्षेत्र केन्द्रित चुनावी कार्यक्रममा सहभागी भएका ओली यस पटक भने सहर केन्द्रित कार्यतालिकासहित झापा आउँदैछन्। उनले विभिन्न स्थानका चुनावीसभालाई संवोधनका साथै महिला, खेलाडी लगायतका समूहसँग अन्तर्क्रिया गर्ने क्षेत्रीय प्रचार समितिका संयोजक होमबाहादुर थापाले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.