|

उदयपुरः उदयपुरमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.- २ प्रदेससभा ‘क’का उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार प्रतिनिधिसभा उम्मेदवार गठबन्धनका सुरेशकुमार राई ‘हिमाल’ र प्रदेशसभा उम्मेदवार नारायणबहादुर बुर्जामगर सहभागी आमसभालाई लक्षित गरी बम विस्फोट गराइएको हो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले उदयपुरगढी गाउँपालिका– ७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कंदै गर्दा पौवा खोलामा बम विस्फोट गराइएको बताए। ‘कुन समूह हो, त्यो थाहा भएन’, उनले भने, ‘त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार बम विस्फोट गराइएको जानकारी आएको छ, अनुसन्धान जारी छ।’

प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले उदयपुरगढी गाउँपालिका– ७ नरेटार नजिकको पौवाखोला किनारमा बम पड्किएको खबर आएको बताए। उनले भने, ‘उम्मेदवारसँग रहेका सुरक्षाकर्मीले आवाज सुनेको खबर आएको छ, बम हो वा अरू केही हो भन्ने यकिन छैन, बुझ्ने काम भइरहेको छ।’

बम कसले पड्कायो भन्ने यकिन नभए पनि यस क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रियाशील रहेकाले उसैले पड्काएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनास्थललाई घेरा हाली खोजी कार्य जारी राखेको एसपी भट्टले जानकारी दिए। 

उमेदवारलाई लक्षित गरी बम राखिए पनि बम उमेदवार पुग्नु अगावै पड्किएको वाम गठबन्धनका कार्यकर्ताले बताएका छन्। घटनास्थल पुग्न एक किलोमिटर बाँकी छँदै वम पड्किएकाले उम्मेदवार राईसँग प्रतिनिधिसभा क्षेत्र नं.– २ प्रदेश ‘क’का वाम गठबन्धनकै उम्मेदवार नारायण बुर्जामगरको टोलीलाई केही क्षति नभएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.